श्रीलङ्कामा औषधिको मूल्य आकासियो, झन् बढ्दै अभाव

file photo
file photo

आर्थिक सङ्कट र इन्धनको गम्भीर अभावबीच श्रीलङ्काका मानिसहरूलाई औषधी तथा चिकित्सा उपकरणहरू खरिदमा पनि समस्या देखिएको छ। 

सरकारी मेडिकल अफिसर्स एसोसिएसन (जीएमओए) ले स्थानीय बजारमा औषधि र मेडिकल उपकरणको मूल्य तीनदेखि चार गुणाले वृद्धि भएको र नागरिकलाई ती उपकरण खरिद गर्न कठिन भएको डेली मिरर पत्रिकाले जनाएको छ। 

जीएमओए सञ्चार समितिका सदस्य डा. प्रसाद कोलाबेजले बजारमा केही औषधिहरूको अभाव देखिएपछि औषधी किन्न अस्पताल पुग्ने नागरिकहरूको भीड देखिन थालेको छ।

कोलाबेजले भने, 'पहिले निजी फार्मेसीबाट औषधि खरिद गर्ने अधिकांश मानिस सरकारी अस्पतालमा पुग्ने गरेका छन्। उनीहरूले अस्पतालमा पुग्न यातायातका साधन नपाएर कठिनाइहरूको पनि सामना गरिरहेका पाइएकोे छ। औषधि दिने अस्पतालहरु सीमित भएको भन्नु पर्ने अवस्था आउनु दुर्भाग्य हो।'

'यसअघि अस्पतालले एक महिनादेखि बिरामीका लागि पर्याप्त मात्रामा औषधि दिने गरेको थियो। तर, यसलाई घटाएर पछि दुई सातामा मात्रै सीमित गरिएको थियो। औषधि व्यवस्थापनमामिला हेर्ने निकायले त्यसलाई पनि घटाएर एक हप्ताका लागि मात्र दिन सकिने भएको छ। अहिले यो एक हप्तासम्म सीमित छ।'

स्थानीय सञ्चारमाध्यमका अनुसार डलरको सङ्कटसँगै देखिएको आर्थिक सङ्कटका कारण धेरै औषधि तथा मेडिकल आयातकर्ताले औषधि आयात गर्न छाडेका छन्। 

डलर अभाव र आर्थिक सङ्कटका कारण कतिपय आयातकर्ताले औषधि आयात गर्न पूर्णतया बन्द गरेका कारण मुलुकको चिकित्सा क्षेत्र पनि प्रभावित बनेको हो।

विशेष गरी, श्रीलङ्काले सन् १९४८ मा स्वतन्त्र भएदेखि नै सबैभन्दा खराब आर्थिक संकटको सामना गर्दै आएको छ। यसले गर्दा राष्ट्रभरि खाद्य, औषधि, खाना पकाउने ग्याँस र इन्धन जस्ता अत्यावश्यक वस्तुहरूको व्यापक अभाव भएको छ।

विदेशी ऋण चुक्ता गरेपछि यहाँ विदेशी मुद्रा सङ्कट भएको सञ्चारमाध्यमहरूले जनाएको भएपनि सरकारले नै देश टाट पल्टेको घोषणा अप्रिलमा गरेको थियो। 

श्रीलङ्काको कुल वैदेशिक ऋणमध्ये सन् २०२६ सम्ममा करिब २५ अर्ब अमेरिकी डलर चुक्ता गर्नुपर्ने शर्तको पालना गर्दै देशले यस बर्ष करिब सात अर्ब अमेरिकी डलर वैदेशिक ऋण चुक्ता गरिरहेको छ। 

आर्थिक संकटले विशेष गरी खाद्य सुरक्षा, कृषि, जीविकोपार्जन र स्वास्थ्य सेवाको पहुँचमा असर पारेको छ। 
 

प्रकाशित मिति: : 2022-07-06 21:06:00

प्रतिकृया दिनुहोस्