फिजीमा ५-११ बर्षका बच्चालाई खोप दिन सुरु

Symbolic photo
Symbolic photo

फिजीमा पनि ५ वर्षदेखि ११ बर्ष सम्मका बालबालिकाहरूलाई कोरोना भाइरस विरुद्धको खोप लगाउन सुरु गरिएको छ। 

फिजीको स्वास्थ्य मन्त्रालयले बालबालिकालाई कोरोना भाइरसबाट जोगाउन फाइजर खोप लगाउन थालिएको जनाएको हो।  

सो उमेर समूहका एक लाख ३२ हजार ८९३ बालबालिकालाई खोप लगाउनु पर्ने भएकाले त्यही अनुसारको तयारी गरिएको मन्त्रालयको भनाई छ। 

फिजीका स्थायी स्वास्थ्य सचिव जाम्स फोङ्गले कोरोना भाइरसको महामारी फेरि फैलिने खतरालाई मध्यनजर गर्दै बालबालिकालाई खोप लगाउने निर्णय गरिएको जानकारी दिए। 

उनले बालबालिकालाई आवश्यक पर्ने सबै खोपको व्यवस्था गरिएको र कुनै नकारात्मक असर नपर्ने पनि दावी गरे। 

बालबालिकालाई खोप लगाउनका लागि विद्यालयहरूलाई समन्वयकारी भूमिकामा परिचालन गरिने पनि उनले बताए।

त्यसैगरी विभिन्न स्वास्थ्य संस्थाहरूमा पनि बालबालिकालाई खोप लगाउन पाइने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ। विद्यालय बिदाको दिन पनि खोप लगाउन पाइने व्यवस्था गरिएको छ।

 

प्रकाशित मिति: : 2022-07-06 18:29:00

प्रतिकृया दिनुहोस्