एकै दिन ९० जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित ४ सय नाघे 

नेपालमा पछिल्लो २४ घण्टामा ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार एकै दिन करिब सय जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार यस अवधिमा तीन हजार एक सय १२ जनाको नमुना परीक्षण गरिएको थियो। त्यसमध्ये पीसीआरबाट ७३ जनामा र एन्टिजेनबाट १७ जनामा संक्रमण पुष्टि भएको हो।

एक हजार नौ सय ४४ जनामा पीसीआर र एक हजार एक सय ६८ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

कोरोना संक्रमणको जोखिम केही कम भएसँगै सर्वसाधारणले स्वास्थ्यका सामान्य मापदण्ड समेत पालना गर्न छोडेका छन्। यही कारण कोरोनाको जोखिम बढ्दै गएको चिकित्सकहरुको भनाइ छ। स्वास्थ्य मापदण्डप्रति बेवास्ता गर्ने हो भने यसको जोखिम झने बढ्ने उनीहरूको भनाइ छ।

मन्त्रालयका अनुसार कोरोना महामारीको जोखिम नसकिएकाले स्वास्थ्य मापदण्डलाई पूर्ण पालन गर्न छोड्नु हुँदैन। नेपालमा पछिल्लो २४ घण्टामा एक लाख ११ हजार पाँच सय ३१ जनाले कोरोना खोप लगाएका छन् भने कोरोना संक्रमण निको हुनेमा २० जना छन्।

यस्तै, मंगलबार ९० जनामा कोरोना देखिएसँगै चार सय एक जना संक्रिय संक्रमित उपचाररत रहेको मन्त्रालयको भनाइ छ।

प्रकाशित मिति: : 2022-07-05 16:58:00

प्रतिकृया दिनुहोस्