हेटौँडा उपमहानगरको योजना तथा नीति र विनियोजन सर्वसम्मतले पारित

मकवानपुरको हेटौँडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि प्रस्ताव गरेको नीति तथा कार्यक्रम तथा बजेट अर्थ विधेयक, २०७९ र विनियोजन विधेयक, २०७९ सर्वसम्मतले आज पारित गरेको छ।

उक्त उपमहानगरपालिकाको आज बसेको ११औँ अधिवेशनको तेस्रो बैठकले नीति कार्यक्रम तथा बजेट विधेयक, २०७९ र विनियोजन  विधेयक, २०७९ सर्वसम्मतले पारित भएको हो।

उपमहानगरपालिकाले यही असार १२ गते नीति तथा कार्यक्रम र सो कार्यावन्यनका लागि रु दुई अर्ब ७१ करोड ७९ लाख ७२ हजार बजेट सार्वजनिक गरेको थियो।

नगरको विकासका लागि विभिन्न ठूला तथा साना, पुराना, अधुरा योजनाहरु तथा नयाँ योजनाहरु पूरा गर्न र अगाडि बढाउन आज पारित भएको बजेटले बाटो खुला गरेको बताइएको छ।

हेटौँडा उपमहानगरपालिकाका प्रमुख मीना लामाले आज पारित विनियोजन विधेयकले नगरको विकासले गति लिने बताए। यसअघि सो उपमहानगरपालिकाले प्रत्येक वडाका वडाध्यक्ष तथा सचिवहरुलाई प्रशासन तथा योजना सञ्चालनका विषयमा एक दिने अभिमुखीकरण कार्यक्रम गरेको थियो।

प्रकाशित मिति: : 2022-07-04 18:18:00

प्रतिकृया दिनुहोस्