ठानेका 'ठाकरे' मराठीका नेताः अटाे–रिक्सा चालकदेखि मुख्यमन्त्रीसम्म

file photo
file photo

भारतकाे आर्थिक राजधानी मुम्बई अर्थात् महाराष्ट्र राज्य सरकार एकाएक फेरिएको छ।

मराठी राजनीतिकाे सबैभन्दा बढी चर्चामा छन्, एकनाथ शिन्दे। अब महाराष्ट्र राज्यमा ठानेका 'ठाकरे' भनिने एकनाथको शासन चल्नेछ। 

उनी भारतीय जनता पार्टी (बीजेपी)काे समर्थनमा महाराष्ट्रको नयाँ मुख्यमन्त्री बनेका छन्। ठानेको कोपरी–पाचपाखाडी क्षेत्रका राज्य–सांसद उनी सत्ताधारी पार्टीका विद्रोही नेता हुन्।

शिवसेना प्रमुख उद्धव ठाकरे नेतृत्वकाे मराठी सरकारमा शहरी विकासमन्त्री रहेका शिन्देकाे ठानेमा राम्राे पकड छ। 

'एकनाथ व्यक्तिकाे नाम होइन, ठानेकाे पार्टी पनि हो,' स्थानीय रामचन्द्र चाैहान भन्छन्।

पार्टीमा विद्रोह गरी बहुमत सांसदको समर्थन जुटाएर मुख्यमन्त्री बनेका शिन्देको निर्णयप्रति ठानेका शिव–सैनिक अर्थात् कार्यकर्ताहरू आँखा चिम्लिएर समर्थनमा छन्।

ठाने–क्षत्रेका जनताले उनलाई शिवसेनाका संस्थापक सदस्यमध्येका एक आनन्द चिन्तामणि दिघेको प्रतिबिम्बको रूपमा हेर्छन्।

उद्धव शिवसेनाका संस्थापक तथा हिन्दू हृदय सम्राट बाल ठाकरेका छाेरा हुन्। उनी मुखयमन्त्री पदबाट राजीनामा दिएर माताेश्री फर्किसकेका छन्। 

शिन्दे मुख्यमन्त्री बनेसँगै मुम्बईमा नयाँ उत्साह छाएकाे छ। समर्थकहरू सडकमा उत्रिएका छन्। ठानेमा झन् उत्सवको माहोल छ। उनकाे पछाडि ठानेका जनता मात्र उभिएका छैनन्, दुई तिहाइभन्दा बढी शिवसेनाका सांसद पनि छन्।

महाराष्ट्र विधासभामा २ सय ८८ सिट छ। बहुमतका लागि १ सय ४४ विधायकको समर्थन चाहिन्छ। शिन्देले १ सय ६१ विधायकको साथ पाएका छन्।

शिन्देले ठाकरेविरुद्ध विद्रोहको स्वर उठाएलगतै मुम्बईमा ब्यानर र पोस्टर टाँसिएकाे छ। ठानेमा हिन्दूवादी नेता अर्थात् 'ठानेका ठाकरे'काे कद निकै माथि छ। हिन्दू मात्र होइन, मुस्लिम पनि उनको साथमा उभिएका छन्।

'शिवसेनाकाे राजनीतिमा लाग्नुअघि शिन्दे आरएसएसका शाखा प्रमुख थिए। उनी अटो–रिक्सा चलाउने काम गर्थे,' शिन्देका पूर्वपीए इम्तियाज शेख भन्छन्।

उनी हिन्दूवादी नेता हुन् तर ठानेका मुस्लिम र हिन्दूलाई एकताबद्ध बनाएका छन्। आफ्नो पसलमा बसेर एकनाथ सिन्देले कुनै समय नगरपालिकाको चुनाव लड्ने निर्णय गरेको बताउँछन्, ठानेका कपडा व्यापारी हफिजुर रहमान चौधरी। 

शिन्दे आज महाराष्ट्रको नयाँ मुख्यमन्त्री बनेका छन्। तर एक समय घरको आर्थिक अवस्था निकै कमजोर थियो। सन् १९९०–९२ तिर बाबु संभाजी सिन्दे एउटा कम्पनीमा काम गर्थे। आमा घरमै हुन्थिन्। गरीबीले थिचिदाँ पनि कहिल्यै गलत बाटो अपनाएनन्। परिवारलाई आर्थिक सहयाेग गर्नका लागि ठानेमा अटो चलाएकाे स्मरण गर्छन्, स्थानीय देविदास चाल्के।



मराठी सत्ता संकटः ठाकरे ढाल्न किन लागे शिवसेनाकै मन्त्री शिन्दे

पार्टीभित्र बेग्लै गुटको नेतृत्व गरिरहेका मन्त्री शिन्दे नयाँ शिवसेना बनाउने सोचमा छन्। उता ठाकरे सरकारको चिन्ता छाडेर पार्टीमा आफ्नो अस्तित्व जोगाउने संघर्षमा जुटेको शिन्देनिकट एक नेता बताउँछन्। पूरा समाचार–

प्रकाशित मिति: : 2022-07-01 07:32:00

प्रतिकृया दिनुहोस्