सराहना श्रेष्ठले जितिन् न्युयोर्क प्राइमरी, बनाइन् नेपालीको पक्षमा गौरवपूर्ण इतिहास

नेपाली चेली सराहना श्रेष्ठले न्युयोर्क राज्यको राज्य सांसदका लागि भएको डेमोक्रेटिक प्राइमरी जितेर नयाँ इतिहास बनाएकी छिन्। उनले डिस्ट्रिक्ट १०३ बाट निवर्तमान राज्य सांसद केभिन चाहिललाई पराजित गर्दै यो इतिहास बनाएकी हुन्। ४१ वर्षीय सराहनाको उमेर जति नै राजनीतिमा बिताएका केभिन बिगत तिन दशकदेखि राज्य सांसद रहदै आएका थिए।   

आजै सम्पन्न चुनावको केही समयअघि प्रारम्भिक निर्वाचन परिणाम प्राप्त भएको छ। निर्वाचनका दिन गनिएको १४,८७५ मतमध्ये ७,७०२ मत प्राप्त गर्दै उनी विजयी भएकी हुन्। यो गणना गरिएको ९५ प्रतिशत मतको ५१.८ प्रतिशत  हो। उनका प्रतिस्पर्धी केभिनले ७,१७३ मत प्राप्त गरे।  यो कुल मतको ४८.२ प्रतिशत  हो।

लगभग ५ प्रतिशत जति मतदान अर्ली भोटिङ र एब्सेन्टी ब्यालेटका रूपमा भएको छ। ती दुबैखाले मतपत्र गणना गरिसकेपछि निर्वाचन परिणामले औपचारिकता पाउँने छ। अमेरिकामा सामान्यत: ९९ प्रतिशत परिणाम चुनावको दिन जित्नेकै पक्षमा जान्छ। यो ट्रयाक रेकर्ड र सराहनाको भोटको प्याट्रन हेर्दा उनको जीत सुनिश्चित भन्दा हुन्छ। अमेरिकाका मूलधारका मिडियाहरूले  उनको जीत भनेर महत्वका साथ समाचार सम्प्रेषण गरिसकेका छन्।

म उहाँको जीतबाट अत्यन्तै खुशी भएको छु, उत्साहित भएको छु। मैले अमेरिकामा देखिने र सुनिने अभियानका लागि अर्को एक सहयात्री पाउँनेछु। यो हामी सबै नेपालीका लागि गौरवको कुरा हो। मैले अनौपचारिक रूपमा वधाइ दिइसके, औपचारिक जीतको घोषणापछि औपचारिक वधाइ दिनेछु। 

- डेलिगेट डा. ह्यारी भण्डारी , सदस्य,  मेरिल्याण्ड हाउस अफ एसेम्बेली 

यसअघि संधैभरि डेमोक्रेटिक पार्टीले जित्दै आएको यो निर्वाचन क्षेत्रमा नोभेम्बर ८ मा हुने जनरल इलेक्सन एक औपचारिकता मात्र हुनेछ। त्यो औपचारिकतापछि एम्पायर स्टेट भनिने न्युयोर्कको राजधानी अलबानीले एक नेपाली चेलीलाई एसेम्बेली मेम्बर भनिने राज्य सांसदका रूपमा पाउँनेछ। 

श्रेष्ठको अल्बानी यात्रासँगै उनी यस्तो उपलव्धी हासिल गर्ने पहिलो नेपाली मूलकी अमेरिकी महिला हुनेछिन्। यसअघि २०१८ मा भएको निर्वाचनमा मेरिल्याण्ड राज्यको डिस्ट्रिक्ट ८ बाट हाउस अफ एसेम्बेलीमा कीर्तिमानी जीत निकालेर ह्यारी भण्डारीले यस्तो उपलव्धी हासिल गर्ने पहिलो नेपाली अमेरिकीको इतिहास बनाएका थिए। अहिले उनी दोस्रो कार्यकालका लागि चुनावी क्याम्पेनमा छन्। उनीहरू दुबैजना डेमोक्रेटिक पार्टीबाट अमेरिकाको मूलधकारको राजनीति गरिरहेका छन्।

यो समाचार पनि हेर्नुहोला :
आज अमेरिकाका नेपालीका लागि ऐतिहासिक दिन, प्रतिक्षा अब केही घण्टाको

सराहना नेपालीको लगभग बसोबास नै नभएको न्युयोर्कको हड्सन भ्याली क्षेत्रबाट विजयी भएकी हुन्। डेमोक्रेटिक सोसलिष्टहरूको बाक्लो बसोबास रहेको यस क्षेत्रमा उनी पार्टीको त्यही खेमाको प्रतिनिधित्व गर्दै उम्मेद्वार भएकी थिइन्। उनलाई समाजवादी धारका डेमोक्रेट नेता बर्नी स्याण्डर्सकी कट्टर समर्थक न्युयोर्ककी कंग्रेस वुमन एओसीको समर्थन रहेको थियो। 

सराहनाको यो जीतसँगै अमेरिकामा नेपाली देखिने र सुनिने अभियानले अर्को महत्वपूर्ण छलाङ मारेको छ। यसबाट अमेरिकामा बसेर नेपालकै राजनीतिमा रमाउने प्रवृतिलाई पनि एउटा गतिलो झापड मिलेको छ। अमेरिकाको मूलधारको राजनीतिमा आउन चाहरे पनि पटकपटक पराजय बेहोर्नु पर्नेहरूका लागि सराहनाको यो जीत र उनको रचात्मक क्याम्पेन एक सुन्दर पाठशाला बन्न सक्छ।

यो पनि पढ्नुहोस्
अमेरिकामा सराहना श्रेष्ठले बनाउँलिन् त इतिहास ?

सराहनाको यो जीतले डा. ह्यारी भण्डारी खुशी र उत्साहित भएका छन्। उनले ब्रेक एन लिंंक्ससँग कुराकानी गर्दै सराहनालाई अनौपचारिक रूपमा वधाइ ज्ञापन गर्दै भने, 'म उहाँको जीतबाट अत्यन्तै खुशी भएको छु, उत्साहित भएको छु। मैले अमेरिकामा देखिने र सुनिने अभियानका लागि अर्को एक सहयात्री पाउँनेछु। यो हामी सबै नेपालीका लागि गौरवको कुरा हो। मैले उहाँलाई अनौपचारिक वधाइ दिइसकेको छु। औपचारिक जीतको घोषणापछि औपचारिक वधाइ दिउँला।'

प्रकाशित मिति: : 2022-06-29 09:32:00

प्रतिकृया दिनुहोस्