आज अमेरिकाका नेपालीका लागि ऐतिहासिक दिन, प्रतिक्षा अब केही घण्टाको

आज अमेरिकाको नेपाली डायस्पोरा एउटा समाचारको प्रतिक्षा गरिरहेको छ। यो समाचार न्युयोर्क डिस्ट्रिक्ट १०३ बाट आउनेछ जहाँ एसेम्बेली मेम्बरको उम्मेद्वारीका लागि नेपालीमूलकी सराहना श्रेष्ठ डेमोक्रेटिक प्राइमरीमा प्रतिस्पर्धा गरिरहेकी छिन्।

उनको जीतले अमेरिकामा पहिलो नेपाली महिला राज्य सांसद हुने बाटो खुल्नेछ र त्यसबाट नेपाली मूलकै पक्षमा एउटा गौरवशाली इतिहास लेखिनेछ।

डेमोक्रेटिक पार्टीको दबदबा रहेको यो डिस्ट्रिक्टमा डेमोक्रटिक प्राइमरी जितेमा सराहनाको अलबानी यात्रा लगभग तय हुनेछ।

आज अमेरिकाका पाँच राज्य पाँच राज्य न्युयोर्क, एलिनोय, कोलोराडो, ओक्लोहोमा र उटाहमा प्राइमरी भनिने अन्तरपार्टी चुनाव हुँदैछ। यसैगरी मिसौरी र साउथ क्यरोलाइनामा प्राइमरी रनअफ र नेब्रास्का विशेष चुनाव हुँदैछ। यी चुनावको परिणामले अमेरिको २०२४ को राष्ट्रपति चुनावलाई नै प्रभाव पार्नेछ।

यो अमेरिकाको राष्ट्रिय परिदृश्यको कुरा हो। तर, यहाँको नेपाली डायस्पोरामा भने सराहना श्रेष्ठको चुनावी परिणाम नै ऐतिहासिक छ र यसको प्रतीक्षा ब्यग्रताका साथ बढेको छ।

को हुन् सराहना ?

सन् २००१ मा अध्ययनका लागि न्युयोर्क आएकी श्रेष्ठ पेशाले ग्राफिक डिजाइनर हुन्। उनी नेपालमा फोटोग्राफी सुरू गर्ने परिवार द्वारिकादास श्रेष्ठ परिवारकी सदस्य हुन्। उनका भाइ कशीस दास श्रेष्ठ एक बहुआयामिक व्यक्तित्व हुन्। उनले नै अमेरिकाबाट चन्द्रप्रकाश शर्माले प्रकाशित पहिलो नेपाली समाचारपत्र नेपाली आवाजको सम्पादन गरेका थिए। यो पङक्तिकार उक्त समाचार पत्रको  नेपाली सम्पादक रहेको थियो।

सराहनाले नेपालमा लोकतन्त्रका पक्षमा वकालत गर्न एक अनलाइन जर्नल सञ्चालनमा ल्याएकी थिइन्। त्यसैमा प्रकाशित एक राजनीतिक लेखका कारण उनको अनलाइन प्रतिबन्धित भयो। यही घटनापछि एक ग्राफिक डिजाइनर सराहना राजनीतिक बाटोमा धकेलिइन्।

अमेरिका आएर न्युयोर्कमा रहन थालेपछि उनको त्यो इच्छाले आकार लिन थाल्यो र उनी डेमोक्रेटिक सोसलिष्टहरूको संगतमा पुगिन्। त्यही संगतले डेमोक्रेटिक सोसलिष्टकी सदस्य बनेकी उनी अहिले  डेमोक्रेटिक सोसलिष्टको मिड-हड्सन भ्याली च्याप्टरका लागि अल्स्टर काउन्टी सह-अध्यक्ष रहेकी छिन्।

स्वच्छ, नवीकरणीय, किफायती र पहुचयोग्य विद्युत आपूर्तिको प्रवर्धनका क्षेत्रमा काम गर्ने गठबन्धन पब्लिक पावर न्युयोर्ककी नेता समेत रहेकी श्रेष्ठले न्युयोर्क अल्स्टर र डचेज काउन्टीको प्रतिनिधित्व गर्ने १०३ नम्बर एसेम्ब्ली क्षेत्रबाट डेमोक्रेटिक प्राइमरीमा उम्मेद्वारी दिएकी छिन्।

सराहना ग्रिन न्यु डिल, गुड कज इभिक्सन र न्युयोर्क हेल्थ एक्टजस्ता बामपन्थी मुद्दाहरूकी कट्टर हिमायती हुन्।

कोसँग छ प्रतिस्पर्धा ?

उनको प्रतिस्पर्धा न्युयोर्कका एक जानेमाने डेमोक्रेट सांसद केभिन काहिलसँग हुँदैछ। ४१ वर्षीय सराहनाको उमेरजतिकै समय राजनीतिमा बिताएका उनी सन् १९९९ देखि सांसद रहदै आएका छन्।डेमोक्रेटिक पार्टीको गढ मानिएको यो क्षेत्रमा प्राइमरी जित्नेले नोभेम्बर ८ मा हुने जनरल इलेक्सन पनि  सजिलै जित्छ।

कस्तो छ स्थिति सराहनाको ?

सन् १९९९ देखि  निरन्तर सांसद रहेका केभिनको यो निर्वाचन क्षेत्रमा ठूलो पकड छ। अहिलेसम्म लगभग अनअपोज्ड रहदै आएका उनलाई पहिलोपटक सराहनाले चुनौति दिएकी हुन्। डेमोक्रेट्सभित्र सोसलिस्टहरूको आइकन बनेका बर्नी स्याण्डर्स र उनकी कट्टर अनुयायी अलेक्जान्ड्रिया ओकासिओ कोर्टेज (एओसी) को पक्षमा हावा चलेको यो क्षेत्रमा सराहनाले उनलाई हराउन पनि सक्छिन्। उही उम्मेद्वार, उही कुरा सुन्दासुन्दा त्यस क्षेत्रका डेमोक्रेटहरू पनि एक किसिमले दिक्क भएका छन्। परिवर्तन चाहने डेमोक्रेटका लागि उनी विकल्प हुन सक्छिन्। 

स्थानीय स्तरमा लामो समयदेखि काम गर्दै आएकी उनले २०१९ मा अमेरिकी नागरिक भएलगत्तै सांसदको सपना देखेकी थिइन्। र। सन् २०२१ को सुरूदेखि नै चुनावको तयारीमा थिइन्।

उनको यो लामो तयारीले पनि उनलाई एक तागतदार उम्मेद्वार बनाएको छ। र, उनले जीतको पल्लालाई यतिबेला ५०-५० को स्थितिमा पुर्याएकी छिन्। यो स्थितिमा उनले जितिन् भने पनि त्यो अस्वभाविक हुँदैन।

कस-कसले गरे समर्थन ?

न्युयोर्ककी प्रभावशाली सांसद अलेक्जान्ड्रिया ओकासिओ कोर्टेजको उनलाई समर्थन रहेको छ। यो समर्थनले पनि उनलाई जीतको मजबुत आधार दिएको छ। ओकासिओ आफै पनि उनको चुनावी क्याम्पेनमा सहभागी भैरहेकी छन्। यसैगरी अमेरिकी चर्चित कलाकार तथा अधिकारकर्मी सिन्थिया निक्सनले पनि उनलाई समर्थन गरेकी छिन्।

यी दुई इन्डोर्समेन्टले उनको सार्वजनिक व्यक्तित्व अग्लो बनेको छ। र, यसले आम मतदातालाई उनीप्रति विश्वास गर्ने आधार पनि दिएको छ। यसैगरी न्यृुयोर्कका चार एसेम्बेली मेम्बर र दुई स्टेट सिनेटरको पनि समर्थन रहेको छ। उलनई समर्थन गर्ने एसेम्बेली मेम्बरहरूमा फारा फरेस्ट, मार्सेला मित्येनिस, जोरन माम्दानी र इलेमी गालागर रहेका छन्  भने स्टेस सिनेटहरूमा जुलिया सालाजार र जाबारी ब्रिस्पोर्ट रहेका छन्। 

सराहनालाई डेमोक्रेटिक सोसलिष्टको हडसन भ्याली च्याप्टरले पनि समर्थन गरेको छ। उनलाई अन्य स्थानीय थुप्रै संघ- संस्थाको पनि समर्थन रहेको छ।

पाँच राज्य न्युयोर्क, एलिनोय, कोलोराडो, ओक्लोहोमा र उटाहमा प्राइमरी भनिने अन्तरपार्टी चुनव हुँदैछ।

प्रकाशित मिति: : 2022-06-29 04:08:00

प्रतिकृया दिनुहोस्