धेरैले किशोरी अमोन्करलाई बुझ्न किशोरी अमोन्करलाई मात्र बुझे हुन्छ भनिठानेका छन्। तर मलाई के लाग्छ भने किशोरी अमोन्करलाई पूर्णतया बुझ्न उनकी आमा मोगुबाई कुर्दिकरलाई बुझ्न अत्यन्त आवश्यक छ।
किशोरी अमोन्करको जन्म अप्रील १०, सन् १९३२ मा महाराष्ट्रको गोवा भन्ने ठाँउमा भएको थियो। उनी ७ वर्षको छँदा उनको बुबाको देहअवसान हुन गयो। बुबाको देहअवसान पश्चात उनकी आमा मोगुबाई कुर्दिकर एक्लैले किशोरी अमोन्करसहित तीन छोराछोरीलाई दुःखका साथ हुर्काइन्।
तर जस्तोसुकै दुःखको चेपमा चेपिएको भएता पनि मोगुबाई कुर्दिकरले आफू आमा हुनुको साथै शास्त्रीय गायिका पनि हुँ भन्ने यथार्थ भने कुनै बखत पनि लुकाउने प्रयास गरिनन्। बरु उदात्त भएर झनझन् साधना र प्रस्तुति गर्न/दिन थालिन्।
त्यसकै फलस्वरुप मोगुबाई कुर्दिकरले आफू घरायसी काममा नमज्जैले जेलिरहँदा पनि, समस्याका अनेक उल्झनमा प्रायः उनिरहँदा पनि, श्रृंखलाबद्ध आइपरेका परिस्थितिका अनेक मनस्थितिसँग जुवारी खेलिरहँदा, किशोरीलाई भने शास्त्रीय संगीत अनिवार्य रुपमा सिकाइन्।
मोगुबाई कुर्दिकरले किशोरीलाई हुर्काउने र शास्त्रीय संगीत सिकाउने काम मात्र गरिनन्। हुर्किरहेको उमेर र संगीत सिकिरहेको साधनाबीच तादम्यता मिलाउन कट्टररुपमा लागिपरिन्। यतिसम्म कट्टर कि तीस वर्षको उमेरसम्म उनले किशोरीलाई कुनै पनि स्टेजमा उभिन दिइनन्।
यसबारे सोधिँदा किशोरी अमोन्कर भन्ने गर्थिन्, 'म गाउनलाई १७ वर्षकै उमेरमा तयार थिए तर मेरी आमाले मलाई ३० वर्षको उमेरसम्म कतै पनि गाउन नदिएर राख्नुभयो। यसको कारण आज आएर थाहा भएको छ मलाई। किन गाउन नदिनु भएको रहेछ भने संगीत भनेको केवल प्रस्तुति मात्र होइन। यो त ज्ञान हो, विद्या हो, परब्रहमतर्फ चल्ने बाटो हो। यदि हामीले सानासाना बच्चाबच्चीहरुलाई स्टेज दियौं भने उनीहरुले जस्तोसुकै गाए पनि हामी उनीहरुलाई पक्कै निराश बनाउँदैनौँ। फलस्वरुप हामी उनीहरुको गायकीको तारिफ गरिदिन्छौं। तारिफले के नतिजा ल्याइदिन्छ भने बच्चाबच्चीहरुलाई म बहुत ठूलो कलाकार भइसकेँ भन्ने घमण्ड हुन जान्छ। जसकारणले उनीहरुको संगीतप्रतिको ज्ञान र साधाना उही र उस्तै रहिरहन्छ।'
मोगुबाई कुर्दिकरले किशोरीको जीवनका अनेक मृत्यु बोध तुल्याउने घुम्ती-समथरमा/उकाली-ओरालीमा, कतैबाट छिरेपछि कता हो कता हराइजाने र कतै पनि ननिस्कने मेज जस्ता गल्लीगल्छेडाहरुमा र एउटा कलाकारको जीवनमा आइपर्ने विविध सामाजिक व्यवधान, लाल्छना, आरोप, आक्रमणमा निर्धक्क र अजङ्ग भएर साथ दिने काम गरिन्। उनले साथ मात्र दिने काम गरिनन्, छोरीले गर्न गइरहेका कन्सर्टहरुमा, गाइरहेका गीतहरुमा, भजनहरुमा सल्लाह सुझाव दिने पनि गरिन्।
एउटा अन्तरवार्तामा किशोरीले भनेकी छिन्, 'मलाई महिनामा ८ वटा कन्सर्ट गनुपर्ने अफर आयो। र यो कुरा मैले आमालाई सुनाएँ। उहाँले सोचविचार गरेर भन्नुभयो कि रेलबाट कुनै एउटा कन्सर्ट स्थल पुग्न तिमीलाई चार दिन लाग्छ। दुई दिन यात्रा र दुई दिन कन्सर्टमा। यसरी त बत्तीस दिन हुन्छ। जबकि एक महिनामा तीस दिन हुनेगर्छ। अर्को कुरा तिमी यसरी महिनाभरि कन्सर्टमा व्यस्त भयौँ भने कहिले अभ्यास गर्न भ्याउँछेउ? त्यसैले पैसाको लागि कन्सर्ट कहिले पनि नगर्नु भनेर सुझाव दिनुभयो। उहाँले दिएको सुझाव मैले ग्रहण गरेँ। त्यसदिन पश्चात महिनामा बढीमा चार वटा कन्सर्ट गर्न थालेँ र आज उपर्यान्त गर्दै छु।' यस्ता धेरै सुझावहरु छन्, जुन किशोरी अमोन्करले ग्रहण गरेकी छिन्। जुन कालान्तरमा गएर निश्चय रुपमा अम्मल सावित भएका छन्।
मोगुबाई कुर्दिकरले छोरीलाई सबैभन्दा बढी गरेको काम भनेको उत्प्रेरित गर्नु हो। कुन कुरामा उत्प्रेरित गर्नु भन्देखिनमा भने आफूले शास्त्रीय संगीत गाउँदा जसरी विभेदको सिकार हुनुपर्यो। जसरी विभेदको नराम्रो तरिकाले मूल्यहिनता अथवा अस्तित्वहिनता सहनु पर्यो।
जसरी विभेदको चेपमा परेर हास्यास्पदको हृदयघात भोग्नु पर्यो किशोरीले भने कहिले पनि भोग्नु नपरोस्, सहनु नपरोस् भन्नका लागि जब्बर रुपमा उनले किशोरीलाई आफूले चिरिनसकेको शास्त्रीय संगीतको आकाशमा मडारिरहेको विभेदको पत्रलाई चिर्न र त्यही विभेदको चपेटामा परेर अथवा त्यससँग पौंठेजरो खेल्दाखेल्दै आफूले कसै गरेर पनि नचुमिसकेको जीवन्तताको उचाई चुम्न बाँचुन्जेल र मरिसकेपछि पनि उत्प्रेरित गरिरहिन्।
यहाँहरुमा अवश्य जिज्ञासा लाग्यो होला। आखिर मोगुबाई कुर्दिकरले चिर्न नसकेको विभेदको पत्रलाई किशोरी अमोन्करले कसरी चिर्न सकिन्? यसबारेमा म सविस्तारमा बताउने प्रयत्न गर्दैछु। मोगुबाई कुर्दिकर गोवाको पिछडिएको कलाभन्त जातमा जन्मिएकी थिइन्। कलाभन्त जात त्यो जात हो जो गाएर, नाचेर जिविका चलाउने गर्छ। अथवा भनौं मनोरञ्जनका खातिर बनाइएको कथित तल्लो जात। जुन जातका मानिसलाई भारतीय समाजमा दास सरह व्यवहार गर्ने गरिन्छ।
कथित तल्लो जातकी भएकै कारण मोगुबाई कुर्दिकरलाई कतै कार्यक्रममा बोलाइँदा अति निचस्तरको रेलको टिकट काटिएको हुन्थ्यो। उनी बडो कष्टपूर्ण रेल यात्रा गरेर कार्यक्रम स्थलमा पुग्थिन्। कहिले त उनी अनिन्द्रै स्थलमा पुग्ने गर्थिन्। जबकि कथित माथिल्लो जातका अरु कलाकारहरु आरामदायी रेल यात्रा गरेर कार्यक्रम स्थल पुग्थे। त्यसरी जब मोगुबाई कार्यक्रम स्थल पुग्थिन्, उनलाई बस्नको लागि सस्तो र निचस्तरको आवासमा राखिन्थ्यो र उनलाई खानको लागि छुट्टै बसालिन्थ्यो। जब कि कथित माथिल्लो जातका अरु कलाकारहरु एकसाथ खाने गर्दथे र सुविधासम्पन्न आवासमा बस्ने गर्दथे।
यी सबैका बाबजुद जब उनी स्टेजमा आफ्नो पालोमा गएर प्रस्तुति दिन थाल्थिन्, स्रोताहरु उनलाई राम्रोसँग सुन्दैनथे। उनको प्रस्तुतिलाई पूर्णतया गिज्जाउने गर्दथे। जबकि अरु कथित माथिल्लो जातका कलाकारहरुले जस्तोसुकै प्रस्तुति दिँदा पनि अस्वभाविक रुपमा वाह वाह पाइरहेका हुन्थे। यो परिदृश्य उतिखेरको समयमा कथित माथिल्लो जातकाले कथित तल्लो जातकालाई गरेको अपमान, दमन, बहिष्कार हो। यो प्रष्टसँग नियोजित हो। नियत हो भन्ने बुझिन्छ।
जब बुबा बित्नु भयो, घरको सम्पूर्ण जिम्मेवारी आमाको हातमा अथवा ढाडमा अथवा टाउकामा आइपुगेको कुरा किशोरी अमोन्करले विस्तारै बुझ्दै थिइन्। तीन सन्तानलाई पालनपोषण, रेखदेख, शिक्षादिक्षा आमाले एक्लै गरिरहनुभएको छ। तर उहाँ अति निचस्तरको रेल यात्रा गरेर अनि लाञ्छना खाएर पैसा कमाउनका खातिर मात्र कार्यक्रममा जानु हुँदैनथ्यो, गाउनु हुँदैनथ्यो भन्ने कुरा पनि उनी बुझ्दै थिइन्। किनभने उनलाई महिला अझ त्यसमाथि तल्लो जातकी भनेर कतै पैसा नै दिन्थेनन्। कतै दिइहाले पनि अलिअलि दिने गर्थे।
फेरि मोगुबाई कुर्दिकर अपमानित हुन्छु, कहीँ पनि सम्मानित हुँदिनँ र पैसा पनि पाउँदिनँ भन्ने थाहा पाउँदा पाउँदै किन कार्यक्रममा धाइरहन्थिन् होलिन्? यसको जवाफ निकै घतलाग्दो छ। किन धाइरहन्थिन भने शास्त्रीय संगीत उनको सपना थियो। भोग थियो। प्यास थियो। तडप थियो। प्यासन थियो। अझ बेसी त उनलाई यस माध्यमबाट आफ्नो पिर, बह, भडास, अन्तरद्वन्द्व, उत्तेजना, आवेग, स्खलनन र भावना पोख्नु थियो। किनभने उनलाई राम्रोसँग थाहा थियो- संगीत एक मात्र माध्यम हो। जसमार्फत उनी आनन्दले पोखिन सक्छिन्।
विभेदको दलदलले मोगुबाईलाई निकै गरेर दबाउन खोजे पनि उनले हार मानिनन्। आफ्नो संगीतप्रतिको असिम समर्पण र साधनाले उनलाई अन्ततः शास्त्रीय संगीतमा नक्षत्र बनायो। तर, विभेदको सिकार भने उनी निरन्तर भइ नै रहिन्। भनौँ न आजिवन भइ नै रहिन्। यता आमाले गरेको संघर्ष सबै देखेकी, बुझेकी किशोरी अमोन्करले त्यस विभेदका विरुद्धमा विद्रोह गर्ने विचार गरिन्।
आफ्नी आमाले अति निचस्तरको रेल यात्रा गरेर कन्सर्टमा जानु परे पनि उनले अन्य कलाकार सरह आरामदायी रेल यात्रा गरेर कन्सर्टमा गइन्। अन्य कलाकार सरह सुविधासम्पन्न आवासमा बसिन्। सबैसँग खाना खाइन्। हरेक कन्सर्टको सम्झौता भएअनुसार पारिश्रमिक सकेसम्म पहिले नै लग्ने गरिन्। यदि नमिलेको खण्डमा कन्सर्ट नै सम्झौता गरिनन्। यी सबका बाबजुद जब उनी प्रस्तुति दिन थाल्थिन्, यदि स्रोताले उनलाई हास्यसपदको पात्र बनाउन खोजे अथवा उनको गायकी ध्यान दिएर सुनेनन भने कन्सर्ट बिचमै रोकेर हिडिदिने गरिन्।
यसमा म एक दुईटा प्रसङ्ग जोडिहाल्छु। गुल्मार गल्फ कलब काश्मिरमा तत्कालीन मुख्यमन्त्री फरोक अबदुल्ला पनि सहभागी भएको एउटा भव्य कार्यक्रम आयोजना भएको थियो। उक्त कार्यक्रममा जब किशोरी अमोन्कर डुबेर राग गाँउदै थिइन्, त्यहाँ अचानक कसैले नास्पतीको थाली बाँड्न सुरु गर्यो। विस्तारै होहल्ला मच्चिन थाल्यो। जसकारणले अमोन्करको ध्यान भङ्ग भयो। अमोन्करले गाउन छाडिदिन्। त्यो कन्सर्ट त्यहीँ स्थगित भयो।
यस्तै अर्को कार्यकममा कोही नामी उद्योगपतिकी श्रीमतीले लगातार कसैलाई पान ल्याउन अह्रराइरहिन्। जसले गर्दा अमोन्करलाई विचलित बनायो। उनले रिसाउँदै उक्त महिलालाई भनिन्, 'तपाईंलाई के म कोठावाली हो ?' यी यावत प्रसङ्गले के प्रष्ट पार्छ भने विभेदविरुद्ध उनी डटेर लागिपरेकी थिइन्।
आफ्नी आमाले भोग्नु परेको विभेद र बहिष्कार आफूले नभोगेको बारेमा उनले एउटा अन्तरवार्तामा यसरी भनेकी छिन्, 'मलाई मेरी आमासँग गरिएको व्यवहारले अत्ति नै घोच्ने गर्छ। तर मेरी आमाका तिन्टा बच्चाबच्चीहरु थिए। जसका लागि उहाँलाई सहेर भए पनि नियमितता गर्नुपर्ने एक किसिमको बाध्यता थियो। मलाई भने त्यस प्रकारको बाध्यता छैन। मैले संगीतकार भएकै बखत निर्णय गरेको थिएँ कि मलाई यस्तो घटिया व्यवहार मञ्जुर हुने छैन। म सुविधासम्पन्न रेल यात्रा गर्नेछु। आरामदायी आवासमा बस्नेछु। म पक्का गर्ने छु कि मलाई आवतजावत गर्ने गाडीको व्यवस्था गरिएको छ कि छैन। अनि अर्को कुरा म तोकिएकै पारिश्रमिक लिने छु।'
यसरी किशोरी अमोन्कर भारतीय शास्त्रीय संगीत जगतमा उदाइन्। उनको प्रस्तुतिले र उनको शास्त्रीय संगीत प्रतिको समर्पण र साधनाले उनलाई सम्पूर्ण भारतभर चुलाउँदै लग्यो। उनको कन्सर्ट हेर्न लाखौंको संख्यामा मानिसहरु उपस्थिति जनाउन थाले। चलचित्र संगीत र रक संगीतले गाजेको भारतलाई एकाएक उनले शास्त्रीय संगीततर्फ आकर्षित बढाइदिइन्। एक हिसाबले हलचल नै मच्चाइ दिइन्।
उनले जुन राग गाइन्, त्यो बराबर डुबेर सायदै कुनैले गाएको हुँदो हो। यसमा पण्डित मल्लिक अर्जुन मन्सुरले एउटा कार्यक्रममा सेयर गरेको प्रसङ्ग जोडछु, 'म किशोरीको कार्यक्रमा गोवा गएको थिएँ। कार्यक्रमको अन्त्यमा उनले बोलावा बित्थल भन्ने भजन गाइन्। उनी यतिसम्म डुबेर गाइरहेकी रहिछिन् कि गाउँदा गाउँदै गीत गाउन रोकियो। उनी बेहोस भएर भुइँमा लडिन्। त्यहाँ मानिसहरुको कोलाहल मच्चियो। सबैजना आत्तिए। झटपट मैले भर्खरै उनले आधा गाएको भजन, जुन रेकर्ड गरिएको थियो, उनको कान नजिक सुनाएपछि उनी विस्तारै होसमा आइन्। अनि पुनः गाउन थालिन्। यानकि उनी आफ्नो तनमा, मनमा, मगजमा निकै भित्र पसेर गाउने गर्छिन्।'
उनले गाएको मध्यः सबैभन्दा बढी मन पराइएको राग भनेको भुप हो। उसो त भुप आफैँमा रागहरुको राजा हो। यसै राग भुपमा रहेर उनले आफैँले कम्पोज गरेको सहेला रे उनको करियरको सबैभन्दा हिट सावित भइसकेको छ। उनले भजनहरु प्रशस्त मात्रामा गाइन्। अझ मिरा भजन र कबिर भजनलाई त उनले जिवन्त बनाइ दिइन्। उनले दुईटा चलचित्र दृष्टि (१९९०) र गीत गाया पत्थोरोने (१९६४) मा पनि संगीत र स्वर दिएकी छिन्। उनले शास्त्रीय संगीतको बारेमा आधारित भएर मराठी भाषामा ‘स्वरअर्थ रमानि’ भन्ने एउटा किताब पनि लेखेकी छिन्।
शास्त्रीय संगीतमा गरेको अतुलनीय योगदानको लागि उनले विभिन्न सम्मान तथा पुरस्कार पाएकी छिन्। तीमध्ये संगीत नाट्य अकेडेमी अर्वाड १९८५, पदम भुसन १९८७, पदम विभुषण २००२, संगीत नाटक अकेडेमी फेलोसिप २००९ आदि मुख्य पुरस्कारहरु मानिन्छन्। उनी भारत रत्न कहिले पनि नलिने घोषणाले पनि चर्चित थिइन्। किन नलिने भन्ने प्रश्नमा उनले भनेकी थिइन्, 'भारत रत्न सचिन टेन्डुलकरलाई दिइएको छ। सरकारले निर्णय गरेको हो भने मलाई सोही श्रेणीमा नराखेकै राम्रो हुन्छ।' यस्तै उनलाई 'गान सरस्वती' को उपमा अथवा उपाधिबाट पनि सम्मान गरिएको छ।
किशोरी अमोन्करको नभुल्नु पर्ने सबैभन्दा ठूलो योगदान, जसलाई कुनै सम्मान र पुरस्कारले कदर गर्न सकिँदैन। त्यो के हो भने उनले आफूले जानेबुझेको अथवा आजिवन हासिल गरेको शास्त्रीय संगीतको ज्ञान विद्यार्थीहरुलाई पढाउनु, बुझाउनु अथवा पुस्तान्तरण गर्नु हो। उनी मरेर यस संसारबाट बिदा भइसके पनि उनका विद्यार्थीहरु आजको समयमा भारतको शास्त्रीय संगीतलाई उभारमा लिनका खातिर गम्भीर तबरले लागिपरेका छन्। भनौँ न ती विद्यार्थीहरु किशोरीका अवशेषहरु हुन्। जसमार्फत उनी यो जगतलाई यसरी आह्वान गरिरहेकी छिन्।
सहेला रे
आ मिल गाए
सप्त सुरन के भेद सुनाए
जनम जनम के सँग नभुले
अब के मिले सो बिछुड ना जाए
उनको देहवसान सन् २०१७ मा भएको थियो। अस्तु !
(सन्दर्भ साम्रागी : नेटमा प्रकाशीत किशोरी अमोन्करका अन्तरवार्ताहरु (लिखोट र भिडियो दुवै), उनका बारेमा लेखिएका अनगिन्ती आलेखहरु र अन्त्यमा : लेखकले उनलाई गरेको प्यार !)