ठेकेदार र कर्मचारीको मिलेमतोमा दुई करोडभन्दा बढी अनियमितताको आशंका

दार्चुलाको शैल्यशिखर नगरपालिकाले आर्थिक बर्ष ०७८/०७९ मा दुई करोडभन्दा बढीको आर्थिक अनियमितता गरेको खुलेको छ।

नगरपालिकाले तीन वटा सडकको ठेक्का एकै दिन (२९ पुस ०७८ मा) खोल्यो र तीनवटै ठेक्का एउटै ठेकेदारले पाएको छ। यसरी एउटै ठेकेदारले तीन वटै सडकको डेक्का पाउँदा सर्वसाधारणले अनियमितता भएको हुनसक्ने आशंका गरेका छन्। 

हुनत बोलपत्रमा सबैभन्दा कम मूल्य राख्ने ठेकेदारले ठेक्का पाइनु स्वभाविकै हो। यहाँ पनि कागजी रुपमा यस्तै गर्न खोजिएको छ। बोलपत्रका बेला निकै न्यून मूल्य हालेर ठेक्का हात पारे पनि ठेक्का सम्झौता गर्ने बेला भने पूरा मूल्यमा राखेको देखिन्छ। ती ठेक्काको पहिलो किस्ता रकम समेत ठेकेदारले पाइसकेका छन्।

–(ठेक्का शीर्षक १) कोटथला, अम्तोली, पपरथला देवथली सडक निर्माण गर्न ८० लाख ४५ हजार ३१ रुपैयाँ ९४ पैसामा ठेक्का आह्वान भयो। उक्त ठेक्कामा सबैभन्दा कम रकम हाल्ने निर्माण कम्पनी नागार्जुन कन्सट्रक्सनले दुई लाख चार हजार एक सय २६.३ रुपैयाँको बोलपत्र हालेको छ। तर, उक्त निर्माण कम्पनीसँग १४ बैशाख ०७९ मा ८० लाख १९ हजार ६ सय ६३ रुपैयाँ ५० पैसामा ठेक्का सम्झौता भएको छ। 

–(ठेक्का शीर्षक २) बजाड–खात्काडाँ सडक निर्माणका लागि ९५ लाख ९० हजार दुई सय ५९ रुपैयाँ ३८ पैसाको ठेक्का आह्वान गरियो। उक्त ठेक्का पनि नार्गाजुन कन्सट्रक्सनले नै पायो। तर, २८ लाख ६२ हजार एक सय ७४ रुपैयाँ ७५ पैसाको कोटेसन हालेकोमा ठेक्का सम्झौता भने ९५ हजार ६८ लाख ४१ रुपैयाँमा भएको छ।

–(ठेक्का शीर्षक ३) ठुल्सैनी–गोधरी सडकका लागि ९५ लाख ७८ हजार ९५८ रुपैयाँको ठेक्का आह्वान गरिएको छ। यसमा नागार्जुन कन्सट्रक्सनले बोलपत्रमा ३२ लाख ३७ हजार ९३९ रकम हालेकोमा ठेक्का सम्झौता भने ९५ लाख रकममा भएको देखिन्छ। 

तीनओटै ठेक्का पाएको नागार्जुन कन्सट्रक्सनले बोलपत्रमा देखाउन कम रकम राखेको र पूरा मूल्यभन्दा थोरै घटाएर ठेक्का सम्झौता भएको छ। ठेकेदारले सम्झौताअनुसार पेश्की रकम लिएर काम गरिरहेका छन्। 

अनियमितता बारे तत्कालिन नगरप्रमुख अमरसिंह धामी, निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्ट लगायतको सेटिंग रहेको ठेक्का नपाएका ठेकेदारहरूको दाबी छ। ठेकेदारहरूले उक्त ठेक्कामा लाखौको घोटाला भएको आशंका गरेका छन्। नागार्जुन कन्सट्रक्सनले ६२ लाखमा मात्रै ठेक्का पाउनु पर्नेमा दुई करोड ७० लाखको ठेक्का पाएको देखिन्छ। 

अध्ययन गरिरहेको छु : नगर प्रमुख धामी
अनियमितताको विषयमा नगरप्रमुख विजयसिंह धामी भने अध्ययन गरिरहेको बताउँछन्। उनले भने, ‘यो विषय बाहिर आएपछि हामी छलफल तथा अध्ययन गरिरहेका छौँ। यसपछि के हुन्छ पत्रकार सम्मेलन गरेर सत्यतथ्य बताउछौँ।’ 

निकै न्युन मूल्यमा बोलपत्र हाल्ने कम्पनीसँग बढीमा ठेक्का भएको विषयमा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्ट भने सहमत छैनन्। विष्टले भने, ‘पहिलो पटकको ठेक्का रद्द गरी दोश्रो पटक आह्वान गरिएको थियो। दोस्रो पटक तीन जनाको मात्रै कोटेसन आयो। उनीहरूमध्ये सबैभन्दा कम जसको छ उसैसँग सम्झौता गरिएको हो। काम भैरहेको छ हामीलाई काम पूरा भए पुग्छ सम्झौता भन्दा पनि काम हेर्नु पर्छ।’ 

दोस्रो पटकको ठेक्का आह्वानको बिषयमा भने ठेकेदारहरु जानकार नरहेको बताउँछन्। प्रमुख प्रशासकीय अधिकृत विष्टले १८ फागुन ०७८ को सौर्य दैनिकमा विज्ञापन प्रकाशन गरेको बताउँदै आएको पनि यस दिनको पत्रिकामा शैल्यशिखरको कुनै पनि सूचना प्रकाशित भएको छैन्। सिपी लोहीया 

प्रकाशित मिति: : 2022-06-22 13:56:00

प्रतिकृया दिनुहोस्