जुम्लाकाे चन्दननाथ नगरपालिकामा फाेहाेर व्यवस्थापनकाे विषय चुनाैती बनेकाे छ। कार्यक्रम विशेषले नगरकाे फाेहाेर उठे पनि दैनिक रुपमा फाेहाेर उठाउने र त्यसकाे उचित व्यवस्थापन गर्ने विषयकाे तयारी हुन सकेकाे छैन।
नगर प्रमुखमा विजयी भएकाे पहिलाे दिनबाटै फाेहाेर व्यवस्थापनलाई एकमात्र मुद्दा बनाएका राजुसिंह कठायतले पहिलो चरणमा एउटा कार्यक्रमकाे आयाेजना गरी फाहाेरकाे दिर्घकालीन व्यवस्थापन विषयमा छलफल चलाएका छन्।
'फाहाेर व्यवस्थापन दुई दिने जाेसले नुहने भएकाे हुनाले यसकाे दीर्घकालीन समाधान खाेजिएकाे हाे,' उनले भने, 'एकातिर नगरलाई सफा राख्ने र अर्कोतिर त्यसबाट पनि आम्दानी लिन सकिने विषयमा साेचेकाले केही ढिलाे भएकाे छ।'
उनले एक पटक नगर सफा गरेपछि सँधैभरि सफा रहने गरी तयारी गरिएकाे बताए। त्यसका लागि उनले पहिलो चरणमा काठमाडौंकाे क्रियसन नेपालसँग सहकार्य गरेका छन्। 'कुहिने र नकुहिने छुट्टाछुट्टै गरिएकाे खण्डमा दुबै खाले फाेहाेरबाट आम्दानी लिन सकिने विज्ञकाे राय छ,' उनले भने।
नगरकाे फोहोर उठाउन सजिलो नभएकाले नागरिकलाई पनि सचेत हुन उनले आग्रह गरेका छन्। उनले भने, 'अहिले मलाई स्थानीयले फोन गरेरै सेना वा प्रहरी लगाएर फोहोर उठाउन आग्रह गरिरहेका छन्। म च्यारीटीकाे रुपमा भन्दा पनि सधैंभरिकाे समाधान खाेजिरहेकाे छु।'
उनले अबको तीन महिनाभित्र नगरलाई सुन्दर र हराभरा बनाउने याेजना बनाएकाे बताए।
फाेहाेर व्यवस्थापन सहज भएपनि नागरिकलाई सचेत गराउन नसक्दा वा नागरिकले नगर हाम्राे पनि हाे भनी अपनत्व नलिँदा समस्या समाधान हुन नसक्ने फोहोर व्यवस्थापनको विषयमा अध्ययन गरिरहेकी चन्दननाथ-१० की सुशीला कठायत गिरीले बताइन्।
उनले काठमाडौंमा फाेहाेर रिसाइक्लिङ गरी महिनामा तीस लाख बराबरको काराेबार गरिरहेकी छन्। भान्साबाटै फाेहाेलाई छुट्याएर व्यवस्थापन गर्ने गरी मेकानिजम बनाउँदा सहज हुने र यसबाट महिलालाई उद्यमी बनाउन सकिने उनकाे राय छ।
'प्राकृतिक रुपमा लाेभ लाग्दाे सुन्दरता भएकाे जुम्लाकाे खलंगा सहर फोहोरमा डुबुल्की मारिरहेको देख्दा सबैकाे मन खिन्न हुन्छ,' उनले भनिन्, 'नगरबासीले फोहोर फाल्नुको सट्टा यसलाई वैज्ञानिक रुपमा व्यवस्थापन गर्न सके बढी आम्दानी लिन र रोजगारी सिर्जना गर्न सकिन्छ।'
फाेहाेर जथाभावी फाल्ने संस्कारमाथि राेग लगाउन कडा कानुन जरुरी हुने तीन नम्बर वडाका अध्यक्ष हेम बुढथापाले बताए।
'जुन दिनदेखि हामी निर्वाचित भएर आयाैं, त्यही दिनदेखि नै फाेहाेरमा अल्झिरहेका छाैं,' उनले भने, 'बजारमा फाेहाेर कम छ तर हाम्राे मस्तिष्कमा बढी फाेहाेर छ। हामीले आफ्नाे घरकाे फाेहाेर आफैँ व्यवस्थापन गर्न सकेका छैनौं। नगरबासीले अटेरी गरेका कारण फाेहाेर बढिरहेको छ। त्यसैले कडा कानुन जरुरी भइसकेकाे छ।'
नगरमा उच्चपदस्थ व्यक्तिहरुको भ्रमण हुँदा मात्रै नगर सफा गर्ने चलन बसेको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले बताइन्।
उनले भनिन्, 'फोहोर सबैको साझा समस्या हो। सबै मिलेर फोहोर व्यवस्थापन गर्नु अहिलेको आवश्यकता हो। नगरभित्र ५० प्रतिशत फोहोर व्यवस्थापन र ५० प्रतिशत व्यवहारिक समस्याले फोहोर जस्ताको तस्तै रहने गरेको छ। जुन हाम्राे समस्या बनेकाे छ।'
चन्दननाथ नगरपालिकामा ३ हजार ९ सय ९६ परिवार छन्। सन् २०२१ काे तथ्यांकअनुसार प्रतिपरिवार १७० ग्राम फोहोर उत्पादन हुन्छ।
प्रत्येक दिन नगरपालिकामा छ सय ७९ केजी फोहोर निस्कन्छ। प्रतिमहिना २० हजार तीन सय ७९ केजी फोहोर उत्पादन हुँदा प्रतिवर्ष दुई लाख ४४ हजार पाँच सय ५५ केजी फोहोर संकलन हुन्छ।
प्रतिदिन कुहिने फोहोर चार सय ४८ केजी उत्पादन भएकोमा नकुहिने फोहोर दुई सय ३० केजी उत्पादन भइरहेको क्रियसन नेपालका प्रतिक बज्राचार्यले बताए।
'नगरबासी ल्याण्डफिल्डमा आश्रित छन्। दैनिक दुई सय ५० क्युविक फिट मात्र फोहोर उठाउने सवारी साधन छन्। जानाजान फोहोर जलाएर प्रदूषण निम्तिँदैछ,' उनले भने, 'जसले जलवायुमा असर परिरहेको छ। विभिन्न रोग भित्रिने खतरा बढेको छ। वातावरण दुषित हुनाले जलवायुजन्य प्रकोपको सामान गर्नु परिरहेको छ।'
नगरपालिकामा सबैभन्दा बढी फोहोर उठ्ने क्षेत्र भने चन्दननाथ नगरपालिकाका ४, ५ र ६ वडा हुन्। त्यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट मात्रै दैनिक ८० केजीदेखि १ क्वीन्टलसम्म निस्कने गरेको फोहोर व्यवस्थापन गर्न कठिन भइरहेको प्रशासकीय अधिकृत द्वन्द्वबहादुर शाहीले बताए।