हिमा गाउँपालिकाकाे चुउडी साँघुमा ठडिएका राजारानी हेरेर अलि अगाडि पुगेपछि बाटाे उकालाे लाग्छ। सास फुल्लिने गरी उकालाे हिँडेपछि एउटा सुखालाे ठाउँ आइपुग्छ। त्याे हाे, कालिकाखेतुकाे प्राथमिक स्वास्थ्य केन्द्र।
बिरामी अस्पतालकाे गेटमा पुग्ने बेला मनाेवैज्ञानिक रुपमा ठिक हुनुपर्ने भएपनि डाक्टर उपलब्ध नहुने कारणले डरकाे मनाेविज्ञानले मनमा राज गर्छ। एक जना एमबीबीएस डाक्टरकाे दरबन्दी भएकाे उक्त स्वास्थ्य संस्थाबाट जनताले मनग्ये लाभ लिन सकेका छैनन्।
त्यसैले हिमा गाउँपालिकाका अध्यक्ष लक्ष्मण शाहीले हरेक तीन महिनाकाे एक पटक विशेषज्ञ चिकित्सककाे टाेली ल्याएर नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने घाेषणा गरेका छन्।
आफ्नाे चुनावी घाेषाणापत्र र विजय प्रश्चात त्यसलाई कार्यान्वयन गर्न नीतिगत निर्णय गरेका उनले गएकाे शुक्रबार पहिलाे पटक शिविर सञ्चालन गरे।
'अब हामी हरेक तीन महिनामा गाउँमै स्वास्थ्य सेवा उपलब्ध गराउनेछाैं,' अध्यक्ष शाहीले भने, 'यहाँका नागरिकले स्तरीय स्वास्थ्य सेवा पाउन सकिरहेका छैनन्। विशेषज्ञ चिकित्सककाे सेवा पाउन सकेको खण्डमा जनता स्वस्थ हुनेछन्।'
हिमाका नागरिकले हरेक दिन स्थानीय सरकार कस्ताे हुन्छ भन्ने अनुभूत गर्न थालेका छन्। सबै जनताकाे नि:शुल्क स्वास्थ्य बीमा गर्ने मामलामा हाेस् या शिक्षालाई गुणस्तरीय बनाउने विषयमा हाेस् उनी हाेसियारी पूर्वक निर्णय गरिरहेका छन्।
बालुवा खाेलामा उनले निकै कम लागतमा निर्माण गरेकाे पुलले समग्र सिंजाका जनताले राहत महशुस गरेका छन्। त्यसैले उनीप्रति जनताले आशा पनि बढी नै गरेका छन्।
उनले घाेषणा गरे अनुरुप हरेक तीन महिनामा स्वास्थ्य शिविर सञ्चालन हुनेमा जनता आशावादी छन्। पहिलाे पटक गरिएकाे स्वास्थ्य शिविरमा आफ्नाे स्वास्थ्य जाँचका निम्ति आएका हिमा गाउँपालिका मच्चीका ५३ वर्षीया कर्णजीत शाहीले गाउँमै डाक्टर आएपछि खुसीकाे सिमा नरहेकाे बताए।
लडेर खुट्टाकाे गाेलीगाँठाेमा चाेट लागेका उनी खुट्टा दुखेर लामाे यात्रा गर्न सक्दैनन्। 'हिँडडुल गर्न नसक्ने मलाई मेरा घरबाट आधा घण्टा हिँडेर सेवा लिन पाउँदा अति खुसी छु,' उनले भने, 'यत्तिका लागि काठमाडौं गएपछि लाखाैं रुपियाँ खर्च हुन्छन्। घरै अगाडि डाक्टर आएर उपचार गरिदिँदा बल्ल थाहा भयाे सरकार कस्ताे हुन्या रहेछ भन्ने कुरा।'
६२ वर्षका धनबहादुर शाहीले पनि हड्डीकै समस्याले आएकाे बताए। उनले भने, 'खेत, भैंसी बेचेर पनि उपचार गर्न पुग्दैन। दुई पाइला हिँड्नु नपड्न्या, दुई पुइँसा खर्च गर्नु नपर्न्या भएपछि उपचारका लागि क्यालै नआनन् त गाउँल्या? याे सरकारले असाध्यै राम्राे कामकाे सुरु गर्न आँटेकाे छ। सधैँभरी यस्ताे भयाे भने असाध्यै राम्राे हुन्छ।'
यसैगरी ६० वर्षकी नैसुपा शाही पनि हड्डीकै बिरामी हुन्। दुई वर्षदेखि पैसा नभएर उपचार नगराएकी उनी माल बाख्रा, खेत बेचेर भएपनि निकाे हुन चाहन्थिन्। तर गाउँकाे जग्गा किन्न काेही नआउँदा राेग पालेर बसेकी छिन्।
'गाउँमै स्वास्थ्य शिविर बसेपछि मेराे आधा राेग त्यसै निकाे भयाे,' उनले भनिन्, 'डाक्टर गाउँमा यसरी नै आउन्या गरेपछि त हामी पुरै निकाे हाेइजान्छाैं।'
सिंजा गाउँपालिका-३ धितालिहीकी ५१ वर्षीया धनलक्ष्मी धितालले कालिकाखेतुमा शिविर बस्दैछ भन्ने कुरा आचार्ललिहीका मान्छेबाट थाहा पाएकी थिइन्। उनकाे छातीमा समस्या छ।
द्यार गाउँबाट उपचार गराउन आएकी ३८ वर्षीया रंगा अधिकारीकाे पाठेघर सम्बन्धि समस्या छ। सेताे पानी बग्ने समस्या भएकी उनले काठमाडौं र जुम्लामा विभिन्न समयमा उपचार गर्दा निकाे भएकाे थियाे। तर अहिले समस्या बल्झिएपछि उनी शिविरमा आएकी थिइन्। उनले भनिन्, 'मेराे समस्या समाधान हुने आशा गरेकी छु।'
बाँजागाडका ६५ वर्षीया सार्के रावत छातीकाे समस्याले पीडित छन्। आफ्ना सबै समस्या डाक्टरलाई सुनाउन पाउँदा खुसी भएकाे उनले बताए। 'यसैका लागि बजारसम्म पुग्दा धेरै खर्च हुन्थ्यो। हाेटलमा बास बस्नुपर्थ्याे,' उनले भने, 'घरआगनमै स्वास्थ्य सेवा पाउँदा खुसी छाैं।'
६८ वर्षका जयबहादुर शाही ढाड दुख्ने समस्याबाट पीडित छन्। गाउँमै स्वास्थ्य सेवा लिन पाउँदा हर्सित बनेका उनी राेगकाे निदान भयाे भने गाउँपालिकाबाट जिन्दगीभरकाे ऋणी हुने बताउँछन्। 'अब त तीन/तीन महिनामा शिविर चल्छ,' उनले भने, 'बेला-बेला चेकजाँच गराउन पाइयाे भने ओक्ताेमुलाे पाइहालाैंला।'
हिमा गाउँपालिकाको आयोजना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको प्राविधिक सहयोगमा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो।
प्रतिष्ठानले हाडजोर्नी तथा नशा रोग, स्त्री रोग, सर्जरी र जीपीलगायतका आधारभुत सेवा शिविरमार्फत प्रदान गरेकाे डाइरेक्टर पुजन कुमार राेकायाले बताए।
'हाडजोर्नीकाे म आफैँ छु, स्त्री रोगकाे डा. सोनम गुरुङ्ग, सर्जरीकाे डा. सूर्यमान लिम्बु, भिडियो एक्सरेकाे डा. उमा गुरुङ्ग हुनुहुन्छ,' उनले भने, 'जीपीमा डा. वेद चौधरीलगायतको टोली उपचारमा खटिएको छ।'
उनका अनुसार शिविरमा समस्या देखिएका बिरामीलाई प्रतिष्ठानसम्म थप उपचारका लागि रेफर गरिनेछ।
गाउँमा भेडा पाल्ने किसानलाई कलेजाेमा सिस्ट पलाउने समस्या रहेकाे डा. सुर्यमान लिम्बुले बताए।
उनका अनुसार भेडा र कुकुरबाट लाग्ने राेगलाई हाइरार्टिक सिष्ट भनिन्छ। भिडियो एक्सरे गर्दा कलेजाेमा पानीकाे फाेका जस्ताे देखियाे भने याे राेग लागेकाे थाहा हुन्छ।
उनले भने, 'याे राेगकाे समयमै उपचार हुन नसके ज्यानै जान सक्छ। यसकाे निदान सर्जरी नगरी हुँदैन। हामीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान अप्रेसन गर्ने गरेका छाैं। शिविरमा यस्ता बिरामी भेटिएकाे खण्डमा उता बाेलाउने हाे। सँगै पित्त थैलीकाे पत्थरीकाे पनि स्क्रिनिङ गर्ने गरी तयारी गरेकाे छु।'
शिविरपछि हिमामा हाडजोर्नी तथा नशा, स्त्री रोग, बालबालिकामा कुपोषणको समस्या भेटिएकाे डाइरेक्टर राेकायाले बताए।
सामान्य चेकजाँचका लागि जुम्ला सदरमुकामसम्म पुग्दा यातायाता, खाना, बस्न र उपचारका लागि खर्च हुने भएकाले गाउँमै यस्ता सुविधा दिँदा नागरिकले लाभ पाउने अध्यक्ष शाहीकाे मत छ।
'हिमाका सबै नागरिकलाई आधारभुत स्वास्थ्य सेवाको पहुँचमा ल्याउनको लागि हामीले शिविर बसाल्ने रितकाे सुरुवात गरेका छाैं,' उनले भने, 'मेराे कार्यकालभरि म यसलाई निरन्तरता दिनेछु।'
उनले असार ६ र ७ गतेका दिन निःशुल्क आँखा शिविर पनि सञ्चालन गर्न लागिएको थपे। उनले भने, 'विकास निर्माणका कार्यसँगै नागरिकको स्वास्थ्य समस्याको हल गर्ने कामको थालनीले हिमाबासी मुहारमा खुसी ल्याउने विश्वास लिएकाे छु।'
शिविरबाट चार सय ७४ जनाले लाभ लिएकाे प्रमुख प्रशासकीय अधिकृत रणबहादुर बुढाले बताए। 'स्त्री रोगसम्बन्धी एक सय २६, भिडियो एक्सरे ७८ र हडाजोर्नीका २७० जनाले सेवा लिएका छन्,' उनले भने, 'सबैभन्दा बढी हाडजोर्नी र स्त्री रोगका बिरामीले सेवा लिएका छन्।'
पाठेघरबाट सेतो पानी बग्ने, ढाड दुख्ने र तल्लो पेट दुख्ने समस्या भएका महिलालाई राहत भएकाे स्त्रीरोग विशेषज्ञ डाक्टर सोनम गुरुङ्गले बताए।
'सानै उमेरमा विवाह गर्दा, बच्चा छिटो जन्माउदा र महिनावरी भएको बेला हेलचेक्र्याइँ गर्दा पाठेघरमा समस्या हुन्छ,' उनले भने, 'शिविरमा आएका अधिकांश महिलाहरुको पाठेघरमा समस्या देखियाे। केही महिलाहरुलाई थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्म रेफर गरिएको छ।'
नशा च्यापिएका, चोटपटक लाग्दा उपचार नगराई बसेका र विभिन्न कारणले हाडजोर्नीको समस्या भएका बिरामीलाई गाउँमै पुगेर सेवा दिन पाउँदा खुसी भएको निर्देशक राेकायाले बताए।