वर्खा लाग्यो गाउँमा पानी चुहिने घर छ
एक्लै छिन मेरी आमा न कसको भर छ
कसरी कटाउछिन मेरी आमा ती रातहरु
कसरी सम्हाल्छिन होला त्यो कमलो मन
हरेक पल आमाको झझल्कोले मलाई सताउँछ।
वर्षा याम सुरु भएसँगै गाउँमा रोपाइँको चटारो सुरु भएको होला। मेरी आमा आँगनको डिलमा बसेर परदेशी छोरोको सम्झनामा बाटोमा हिँड्दै गरेका बटुवाहरुलाई हेर्दै आफ्नो परदेशी छोरालाई सम्झदै आँशुका ढिका आँगनभरि छोड्दै ढोकाभित्र पसछिन होला।
आमालाई भेट्न नपाएको पनि वर्षौं दिन बितिसकेछ। सहरमा पसेको दिनदेखि आमाको सम्झनाले साँझ बिहान सारै सताइरहेछ। खाना बनाउँदा होस् या भाडा धुँदा होस्, कोठा सफा गर्दा होस् या कपडा धुँदा होस्, खाना पकाउँदा होस् या खाना खाँदा होस् हजुरको सम्झनाले सारै सताउँछ, आमा।
हिजो जस्तै लाग्छ हजुरसँगै त्यो धनराशीको वनमा मकै, सिमी, आलु लगाउन गएको। कति रमाइलो थियो त्यो बचपन। हाम्रो वन जंगल त कति ठूलो ? है आमा ! भनी मैले सोध्दा हजुरले 'उम्म अरूको भन्दा ठूलै छ' भनेको मैले हिँड्न न सकेर हजुरले डोकोभित्र आलु, मकै अनि सिमीको बिऊमाथि मलाई राखेर बोक्दै त्यो धनराशीको उकालो कटाको त्यो क्षण झल्झल्ती याद आइरहन्छ, आमा।
वनमा भोक लाग्छ बाबु भन्दै कोदो, जौँ अनि मकैको रोटी र आलुको अचार बनाउँदै गरेको त्यो चुलो अनि म आँगनमा खेल्दै गरेको त्यो पल सधैं याद आउँछ। धनराशीको वनमा मिठो पानी पाउने नाउलो (पानीको मूल) भएपनि गाई गोरुहरुले फोहर गर्दिन्छन् भन्दै तिला र जुवा नदीको दोभान दानशाघुबाट चिसो पानी भरेर वनमा गई तिर्खा मेटेको हिजो जस्तै लाग्छ, आमा।
कुहुकुहू कोइलीको आवाज अनि विभिन्न चराचुरूङ्गीको आवाजले बनै झुमेको त्यो क्षण सम्झिँदा अहिले नै चरा बनेर भुर्र उडी त्यही धनराशीको वनमा जान मन लाग्छ, आमा। त्यो हाम्रो जङ्गलको छेऊमा रहेको ठूलो ढुङ्गामा बसी जुम्ला एयरपोर्टसँगै, जुम्ला उपत्यका अनि छेउबाट बग्दै गरेको निश्चल शान्त बगिरहेको तिला नदी र चन्दननाथ, भैरवनाथ मन्दिरमा फर्फराइरहेका ध्वजा हेर्दै एैंसेलु टिपी माला बनाउँदै स्याउ, ओखर, आरु, काक्रा खाएको सारै याद आउँछ, आमा।
आमा हजुरसँगै हात समातेर केशर खेतीमा रंगीचंगी फूलहरू हेर्दै रमाएको हिजो जस्तै लाग्छ, मलाई। हेर्दै सुन्दर शान्त अनि विशाल धिताचौरसँगै रहेको त्यो केशर खेती अनि सँगै जोडिएको हाम्रो वन जंगल कति विशाल थियो। सडाको (जंगल को ठाउँमा खेती हुने स्थान/जमीन)बीच बाट बाटो बनाउँदै हिँड्ने अनि फलेको स्याउ, आरु, खुर्पानी, नस्पाती, सिमी, मकै, आलु, कोदो, काक्रा चोरेर खानेलाई हजुरले गाली गरेको हिजो जस्तै लाग्छ।
सधैं झैं जेठ १४ गते हुने हाम्रो गाउँको सबैभन्दा ठूलो नौ बारी खेतको रोपाइँमा सबै सँगै मिलेर ४ हल गोरू अनि २४/२५ रोपनेरी बिऊ फाल्ने मान्छे अनि छेउमै बजिरहेका दमा, झली र सनहिको त्यो मिठो धुन सँगै सबै गाउँले जम्मा भएर रम्दै, रमाउँदै नाचेको त्यो पल हिजो जस्तै लाग्छ।
सहरमा घर नजिक भए पनि मान्छेहरुको मन टाढा हुन्छ तर गाउँमा घरहरू टाढा अनि मान्छेको मनहरु नजिक। कङ्क्रिट नै कंक्रिटको यो सहर मा गाउँघरको जस्तो वन जंगल खोला नाला नि मान्छेहरू सँगको भेटघाट, जमघट र आत्मीयपन निकै फितलो हुन्छ, आमा।
गर्मी लाग्दा एसीको हावा त पाइन्छ तर खुल्ला आकाश र पाटी पौवामा बसेर सोतन्त्र भएर त्यो वन जंगलको चिसो मिठो हावा भने पाइन्न। तिर्खा लाग्दा फ्रिजको चिसो पानि त पाइन्छ तर गाउँ घर तिरको जस्तो खोला नाला, नाउँलोको जस्तो मिठो पानी न पाएर तिर्खा मेटिन्न।
जतिसुकै सहरमा बसे पनि गाउँको याद नितान्त प्रेमभन्दा कमको नहुँदो रहेछ, आमा। जब म क्याफेमा बसेर चिया पिउँछु त्यतिबेला सम्झन्छु 'गाउँमा हुँदा घरको पिँढी र अगेनाको छेउमा परिवारसँग बसेर त्यो माली गाईको दूध, दही र मोही पिइरहेको क्षण।' जब खाजा खानको लागि म सहरको कुनै नामी रेस्टुरामा जान्छु र सम्झन्छु यो कोलाहलमा सुन्दर युवतीले ल्याएको खाजाभन्दा बुढी हजुरआमा र आमाले भुटेर दिएको मकै भटमासको स्वाद नै मिठो थियो।
सहर मलाई अब मुर्दाघर जस्तै लाग्छ, चिहान जस्तै लाग्छ मेरी आमा। यहाँ हजारौं युवायुवतीको सपना दिनहुँ मरेका छन्, जलेका छन। तर, गाउँ मलाई आमाको वात्सल्य जस्तै लाग्छ। जसले मार्ने होइन हजारौं युवायुवतीलाई सुन्दर संस्कार दिन्छ, मानवताको सुन्दर पाठ सिकाउँछ, एकदोस्रोको ख्याल गर्छ, माया ममता दिन्छ।
जब म घुम्नको लागि सहरको चक्कर लगाउँछु तब महसुस हुन्छ। यहाँको सिमेन्टले बनाएको कङ्क्रिटको घरभन्दा देउरालीको चौतारीमा बसी देखिने त्यो सुन्दर वन जंगल, बेँसीको हरियाली फाँट कमेरो र रातो माटोले लिपेर बनाएको खरले छाएको घर र नजिकै देखिने हिमालको आकृतिले नै मेरो मन तानिरहन्छ, आमा। जब यो सुविधा सम्पन्न सहरको एउटा बन्द कोठा भित्रबाट अनलाईन गेम खेल्न थाल्छु, आमा तब सम्झन्छु साथी–भाइसँग रमाउँदै खेलेको फुटबल, भलिबल, डण्डीबियो, बाघचाल, चोर पुलिस, रुमाल लुकाई, चुङ्गी, गुच्चा, कबड्डीजस्ता खेल।
अचेल त यो सहरमा खुब गर्मी बढेको छ। आमा-बा'ले संधै भन्नुहुन्थ्यो,'हाम्रो गाउँमा न त गर्मी हुन्छ न त जाडो नै। यहाँको मौसम त शितल हुन्छ। म सोध्थे बा किन ? बा'ले दाँत देखाउँदै भन्नुहुन्थ्यो फाल्गुनमा विरुवा रोप्नाले। साँच्चै हाम्रो गाउँमा फाल्गुन महिनामा काटेर रोपिएको हाँगा पनि सर्छ जसले जरा हाल्छ भन्ने चलन पनि छ। साँच्चै ती हाँगा हुर्केर ठूलो भए होलान, है आमा।
यो बिरानो सहरमा त कङ्क्रिटका घरहरु मात्रै छन, आमा। ती माटोले बनेको सुन्दर शान्त रातो अनी सेतो कमेरोले पोतेको टाढैबाट चमकिरहेन घरहरूको नामो निशान पनि सुन्न पाइन्न आमा अनि रुख बिरुवाको नाम निशान नै छैन भन्दा फरक पर्दैन। त्यसैले मलाई मेरै गाउँ नै प्रिय लाग्छ बाल्यकाल सम्झिँदा मन भारी हुन्छ, आमा।
सम्झिन्छु भुर्र चरा बनेर त्यही सुन्दर शान्त अनि विशाल गाउँको आँगनमा उड्दै पुगौँ तर समयले कसैलाई पर्खदैन आज त्यो मिठो पल सम्झिदाँ सारै खुसी लाग्छ। मलाई मेरै गाउँको सोच्छ हावा अनि तिला नदीको चिसो पानी पिउन अनि आफ्नै खेतबारीमा फलेको विभिन्न फलफूल खान मन छ। समयले टाढा पुर्याएर पनि मेरो गाउँको माया अपरम्पार छ मेरी आमा किनकी गाउँले सबै चिज दिने गर्छ।