सेभेरोदोनेत्स्कमा हजारौं सर्वसाधारण फसेः राष्ट्रसंघ

युक्रेनी सहर सेभेरोदोनेत्स्कमा हजारौं नागरिक अत्यावश्यक आपूर्तिको अभावमा फसेका  संयुक्त राष्ट्रसंघले जनाएको छ। तिनीहरूमध्ये धेरैले शहरको एजोट रासायनिक प्लान्ट मुनि बंकरहरूमा आश्रय लिइरहेका छन्। 

शहर बाहिर जाने अन्तिम पुल यस हप्ताको सुरुमा लडाइँमा ध्वस्त भएको थियो। जसका कारण सहरका १२ हजार बासिन्दा त्यहाँ फसिरहेका छन्। 
सेभेरोदोेनेत्स्क कब्जा गर्नु रसियाको लागि शीर्ष सैन्य लक्ष्य भएको छ। रुसी सेनाले शहरको अधिकांश भाग नियन्त्रण गरेको छ। 

‘पानी र सरसफाइको अभाव ठूलो चिन्ता हो। यो हाम्रो लागि ठूलो चिन्ताको विषय हो किनभने मानिसहरू पानीबिना लामो समयसम्म बाँच्न सक्दैनन्’, राष्ट्र संघको मानवीय मामिला कार्यालयका प्रवक्ता सभियानो एब्रेउले भने। 

संयुक्त राष्ट्रले सहरमा फसेकाहरूलाई सहायता प्रदान गर्ने आशा राखेको छ। तर, निरन्तर लडाइँका कारण आफ्ना निकायहरु महिला, केटाकेटी र वृद्धसहित अझै पनि त्यहाँका नागरिकहरूमा सुरक्षित रूपमा पहुँच राख्न नसकेको राष्ट्रसंघले जनाएको छ।

प्रकाशित मिति: : 2022-06-16 07:14:00

प्रतिकृया दिनुहोस्