मृत्यु छल्न कश्मीर छाेड्दै हिन्दूहरू

EPA
EPA

भारत प्रशासित कश्मीर उपत्यका हिन्दू समाजका लागि काल बनिरहेको छ। त्राशै–त्राशमा बाँचिरहेका कश्मीरी पण्डित र जागिरे कर्मचारीहरू बसाइँ सर्न थालेका छन्।

हिन्दू राष्ट्रवादी प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले प्रहरीमार्फत पलायन रोक्न खोजिरहेको छ। तर पण्डित र कर्मचारीसामु उपत्यका छोड्नुपर्ने बाध्यता छ।

कश्मीरका अल्पसंख्यक हिन्दूहरू आतंकवादी चेपुवामा छन्। छानीछानी उनीहरूको दिनदिनै हत्या भइरहेको छ। खासगरी हिन्दूहरू मृत्यु छल्न उपत्यकाबाट भागिरहेका छन्। तर, यो सराइँ सन् १९९० को दशकभन्दा अलिक फरक छ। 

उबेला परिवारै मानिन्थे, अहिले आफू मात्रै मारिन्छन्। त्यसैले गाेली प्रहार हुनुअघि भागिरहेका छन्। मोदी सरकारले खटाएका सरकारी कर्मचारीहरू पनि उपत्यका छोड्ने तयारीमा छन्। हिन्दूहरूकाे अवस्था झन् कहालीलाग्दाे छ।

राजस्थानको हनुमानगढ निवासी बैंक म्यानेजर विजय कुमारको कश्मीरमा बिहिबार एकाबिहानै हत्या गरियो।

उनको ४५ दिनअघि मात्रै विवाह भएको थियो। नवविवाहित श्रीमती एक्लै छाेडेर उनी सदा–सदाका लागि बिदा भएका छन्।

लगतै इँटा–भट्ठामा काम गर्ने एक मजदुरमाथि पनि गोली प्रहार भएको छ। लाग्छ– कश्मीरीहरू गाेली छल्दै बाँचिहरेका छन्। कतिपय मृत्यु पर्खेर बसिरहेका छन्।

बिहारनिवासी दिलखुशको पनि डेराछेउमा गाेली हानी हत्या भयो। पञ्जाबका एक जना घाइते अस्पतालमा संघर्ष गरिरहेका छन्। कश्मीरी पण्डित र गैर–कश्मीरी हिन्दू समाजप्रति जिहादीहरूको हमला बढ्दो छ।

पाकिस्तानी गोदमा हुर्किएका उनीहरूले भारतीय हिन्दू राष्ट्रवादी समर्थकलाई निशाना बनाएका छन्। आतंकवादीहरू कश्मीरको जनसंख्यामा गडबड चाहँदैनन्। बाह्य मानिस रूचाउँदैनन्। 

पछिल्लोे २७ दिनयता १० जना निर्दोष भारतीय पेशाकर्मीको हत्या भइसकेकाे छ। कश्मीर हिन्दूकाे मात्रै काल बनिरहेकाे छैन।

त्यसो त एक वर्षमा झण्डै ४५ जना मुस्लिमले पनि ज्यान गुमाएका छन्। कश्मीर उपत्यका हिन्दू–मुस्लिम दुवैका हत्यास्थल बन्दै गएकोप्रति जानकारहरू चिन्तित छन्।

मानिसहरू गाउँ–ठाउँ छोडेर त्यहाँबाट भागिरहेका छन्। यो बसाइँसराइँले भारतमा थप संकट पैदा गर्ने अधिकारीहरू बताउँछन्।

राजस्व कार्यालयमा कार्यरत राहुल भट्टको गत मे १२ मा गाेली प्रहारबाट हत्या भयो। त्यसपछि झण्डै २५ सय काश्मीरी पण्डित र अन्य कर्मचारी उपत्यकाबाट जम्मू पुगेका छन्।

गत बिहीबार एक सयभन्दा बढी मानिसहरू उतै भागेका छन्। उपत्यकाका विभिन्न भागमा कार्यरत सरकारी कर्मचारी झोला बाँधेर हिँडिरहेका छन्।

ग्यास सिलिन्डर बोकेर सडकमा तैनाथ छन्। उनीहरू बाँच्नका लागि भाग्न बाध्य छन्। मोदी सरकारले कश्मीरबाट धारा ३७० खारेज भएपछि ५२० आप्रवासी घर फर्किएपनि अहिले फेरि भाग्दै छन्।

प्रकाशित मिति: : 2022-06-07 05:47:00

प्रतिकृया दिनुहोस्