धनकुमारी शाहीकाे छलाङ : शिक्षकदेखि नगरपालिकाकाे नेतृत्वसम्म

बिएल संवाददाता

रुकुम पश्चिम
Breaknlinks
Breaknlinks

जिल्लाको आठविसकोट नगरपालिकामा माओवादी केन्द्रबाट धनकुमारी शाही उपमेयरमा निर्वाचित भएकी छन्।

लामो समयदेखि शिक्षण पेशामा रहेकी शाही नेपाली काँग्रेस र नेकपा एमालेको गठबन्धनलाई हराउँदै उपमेयर बन्न सफल बनिन्। रुकुम पश्चिमका प्रायः स्थानीय तहमा महिला प्रतिनिधि दोहोरिएका छैनन्।

शिक्षकबाट राजनीतिमा होमिएकी शाही जब उपमेयरमा विजयी भइन्, तब उनको परिचय झन फराकिलो बन्यो।

उनी भन्छिन्, ‘पार्टीले विश्वास गरेर महत्वपूर्ण जिम्मेवारी दिएको छ। पार्टीले दिएको जिम्मेवारी र आम नगरवासीको नेतृत्व गर्दै सम्पूर्ण जिम्मेवारी पुरा गर्ने छु।

रुकुम पश्चिमको गोतामकोटमा जन्मिएकी धनकुमारी २०६३ सालमा शिक्षक सेवामा प्रवेश गरिन्। आठबिसकोट- ५ मा रहेको ब्रहमादेवी आधारभूत विद्यालयमा प्रावि राहत दरबन्दी शिक्षकमा नियुक्त भएर २०६४ सालमा सोही विद्यालयमा प्रधानाध्यापक भइन्।

नेपाली विषयमा स्नातकोत्तर गरेकी उनी पछिल्लो समय अखिल क्रान्तिकारी शिक्षक संगठनकाे जिल्ला सदस्य र आठविसकोट नगरपालिकाको उपाध्यक्षमा रहि काम गर्दै आएकी थिइन्।

सोही क्रममा उनलाई पार्टीले उपमेयर पदको लागि सिफारिस गर्यो। शिक्षिकाबाट राजनीतिक यात्रामा हाेमिएकी उनी लोकप्रिय मतसहित आठविसकोट नगरपालिकाको उपमेयरमा विजयी बनिन्।

नगरपालिकाको न्यायिक समितिको जिम्मेवारीमा पनि रहेर काम गर्ने मौका पाएकी उनी आफूलाई अन्यायमा परेका, निमुखा, गरिब र विपन्न जनताको साथी भन्न रुचाउँछिन्।

उपमेयरमा जित हासिल गरेसँगै आठविसकोटको समग्र विकासमा काम गर्ने जनाइन्। ‘अघिल्लो नेतृत्वले गर्न नसकेका र गर्न बाँकी काम फत्ते गर्नेछु’, उनले भनिन्।

प्रकाशित मिति: : 2022-06-03 15:13:00

प्रतिकृया दिनुहोस्