संसारमा प्रतिवर्ष १ करोड मानिस अर्बुद रोगका कारण मर्छन्। दशकौँको अन्वेषण अनि रोग निको पार्न खरबौँ अमेरिकी डलर खर्चिँदा पनि क्यान्सरका कारण मृत्यु हुनेको संख्या घट्न सकेको छैन।
अर्बुद रोगको जटिलताबारे विज्ञानले भेद पाउन नसकेको यथार्थ क्यान्सर वैज्ञानिक स्वीकार गर्छन्। महारोग पूर्ण बिसेक पार्न असंभव ठान्छन् विज्ञ। अर्बुद रोग निर्मुल पार्न असंभव देखिएपछि अनुसन्धानको पाटो फेरिएको छ।
रोग निको पार्ने दिशामा केन्द्रित हुनुको बदला क्यान्सरका कारण मर्नेको संख्या कसरी घटाउने, अर्बुद रोगीको आयु के गरे बढ्ला, अनि बिरामीले कसरी स्तरीय जीवन व्यतीत गर्न सक्छन् त भन्ने कुरामा अन्वेषणकर्ता घोत्लन थालेका छन्।
एउटा क्यान्सरका लागि विकास गरिएको ओखतीले रोगी पिच्छे फरक–फरक नतिजा देखाउने गरेका कारण महारोगको अनुसन्धानमा सबै हिच्किचाउन थाले।
विकसित राष्ट्रहरू नै नतिजा नदिने क्यान्सर अनुसन्धान प्रति उदासीन भए। मुनाफा निश्चित भएमात्र लगानी गर्ने फर्मास्युटिकल कम्पनीहरूसँग प्रतिफलको संभाव्यता थोरै भएको अर्बुद रोगको अनुसन्धानमा धेरै अपेक्षा गर्नुभएन नै।
त्यसैले धेरै रकम लगानी गरेर नवीन अन्वेषण गर्नुको बदला विगतमा हासिल भएका वैज्ञानिक उपलब्धिलाई परिमार्जन गरी अर्बुद रोग निदानमा केही राम्रो गर्न सकिन्छ कि भन्ने धारणा आयो। पुरानो औजारलाई परिमार्जन गरी क्यान्सरको निदानमा हासिल भएका तात्कालीन उपलब्धिको चर्चा गर्नु यो लेखको उद्देश्य हो।