बजेट–छलफल: समतामूलक समाज निर्माणमा जोड

File photo
File photo

प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९-८० को प्रस्तुत बजेटमाथि विभिन्न सांसद्हरुले सैद्धान्तिक छलफलमा भाग लिने क्रम जारी रहेको छ।

बैठकमा नेकपा एमालेका योगेशकुमार भट्टराईले बजेटको गन्तव्य स्पष्ट नभइ चौबाटोमा उभिएकोले यसले मुलुकको हित नगर्ने धारणा राखे।

उनले नेपाली समाजमा रहेको उत्पादित वस्तु र साधनको समतामूलक वितरण गरेर न्यायमूलक समाज निर्माण गरिनुपर्नेमा बजेट अल्मलिएको टिप्पणी गरे।

एमालेकै शेरबहादुर तामाङले लक्ष्य नभएको बजेट आएको तथा बजेट आयातमुखी भएको बताए।
 
नेपाली कांग्रेसका भरतकुमार साहले शिक्षा र स्वास्थ्य क्षेत्रमा बजेट कम देखिएकाले सो क्षेत्रको दायित्व निर्वाह गर्न कठिन हुने बताए।

सोही पार्टीका विनोदकुमार चौधरीले प्रदेश र स्थानीय तहलाई जिम्मेवार बनाएर रोजगारी सिर्जनामा कार्यक्रम ल्याउन आग्रह गरे।

नेकपा (माओवादी केन्द्र) का राम कार्कीले व्यक्तिको धारणामा परिवर्तन आएपछि मानिसलाई समतामूलक तुल्याउन सकिने बताउँदै नेपालमा विदेशी विकासको ढाँचा नभइ नेपालको आफ्नै परिवेश अनुसार कार्यान्वयन हुनुपर्ने बताए।

सोही पार्टीका अमनलाल मोदीले बजेटमा खर्च कटौतीका विषय समावेश भएको जनाउँदै उचित तलब नपाएमा मजदूरका बारेमा सम्बोधन हुनुपर्ने बताए। 

नेकपा (एकीकृत समाजवादी) का मेटमणि चौधरीले मिश्रित अर्थतन्त्रको स्थितिमा गठबन्धन सरकारले ल्याएको बजेट समग्र नेपाली समाजको संरचना र चिन्तनका आधारमा केन्द्रित रहेको बताए।

उनले सबै प्रकारका गुठीको जमिनमा अहिले पनि शोषकहरुकै प्रभाव रहेकाले त्यसलाई मोहियानी हकसहित किसान र गरिबलाई वितरण गराउन आग्रह गरे।

राष्ट्रिय जनता पार्टी, नेपालकी रेनुका गुरुङले प्रस्तुत बजेटले आम जनताको जीवनस्तर उकास्न महत्वपूर्ण भूमिका खेल्ने, कर्मचारी, ज्येष्ठ नागरिक र किसानको हित गर्ने बताए।

उनले करको दरमा वृद्धिले नागरिकलाई समस्या पर्न सक्नेतर्फ सरकारको ध्यानाकर्षण गराए। 

तराई –मधेस लोकतान्त्रिक पार्टीका अनिलकुमार झाले सिङ्गो नेपाली जनताको प्रतिनिधित्व हुने सांसदहरुको भावना र चाहनालाई बजेटमा समावेश नगरिएको र वितरणमुखी भएको बताए।

उनले चुरे क्षेत्रको विनास, बाढीपहिरो तथा नदी नियन्त्रणका लागि बजेट उदासिन रहेको जनाए।

सांसदहरु पुष्पाकुमारी कर्णाकार, कृष्णप्रसाद दाहाल, पार्वतीकुमारी विङ्सखेलगायतले छलफलमा भाग लिएका छन्। 

प्रकाशित मिति: : 2022-05-31 14:58:00

प्रतिकृया दिनुहोस्