रत्नपार्कका व्यवसायीकाे माग- छिटो पसल खोल्ने वातावरण मिलाइयाेस्

File photo
File photo

काठमाडौंको रत्नपार्कमा रहेको सहरी सेवा केन्द्रमा व्यवसाय गर्दै आइरहेका व्यवसायीहरूले व्यवसाय गर्न दिन माग गरेका छन्। काठमाडौं महानगरपालिकाले ताला लगाइदिएको भन्दै उनीहरुले छिटोभन्दा छिटो पसल खोल्न पाउनुपर्ने माग गरेका हुन्। 

कात्तिकदेखि महानगरका नगर प्रहरीले व्यवसाय बन्द गराई सामान नियन्त्रणमा लिएकाे उनीहरूकाे आराेप छ। चैत २०७८ मा नगरप्रहरीले व्यवसायीहरूको सटरमा ताला लगाए भने जेठमा प्रमुख गेट समेतमा ताला लगाइदिएका छन्।

व्यवसायी रमेश चौलागाईंका अनुसार पहिलो ठेक्का महानगरले कञ्चन ट्रेडिङलाई सञ्चालन गर्ने दिएको थियो। सम्झौता सकेको दिन महानगरका कर्मचारी आएर भाडा महानगरको खातामा हाल्न लगाइ पसल निरन्तर सञ्चालन गर्न दिएको उनले बताए।

उनले भने, ‘हामीहरूको लाखाैँ मूल्य बराबरकाे सामान महानगरले नियन्त्रणमा लिएर राखेकाे छ। हामी मर्कामा परेका छौं। हामीले व्यवसाय सञ्चालन गर्न पाउनुपर्छ। महानगरको भाडा कति हो हामी तिर्न तयार छौं।’

अर्का व्यापारी विना श्रेष्ठ भन्छिन, 'मैले किराना पसल सञ्चालन गरेकी थिएँ। सामान सबै कुहिसक्यो होला। महानगरले कम्तीमा भाडा समायोजन गरेर पसल खोल्न दिनुपर्ने हो। तर, व्यवसायीको दुःख कसले बुझ्ने ?'

 महानगरपलिकाले रत्नपार्क, खुलामञ्चको दक्षिणतर्फ रहेको सहरी सेवा केन्द्र र वीर अस्पताल अगाडि रहेको शौचालयसहितका तीनवटा संरचनाहरुमा बोलकबोलमार्फत २०७३ सालमा दुईजना ठेकदारहरुलाई सञ्चालन गर्न सम्झौता गरेको थियो।

खुलामञ्चको दक्षिणतर्फको सहरी सेवा केन्द्र र वीर अस्पताल अगाडिको पुरानो शौचालयको सम्झौता २०७८ असार मसान्तमा समाप्त भएसँगै १ साउनमा काठमाडौं महानगरपालिकाले भत्काइसकेको छ। रत्नपार्कतर्फको सहरी सेवा केन्द्रको सम्झौता भने ५ असोजमा सकिए पनि महानगरको बेवास्ताले ठेकेदार माधबप्रसाद काफ्लले व्यवसायीहरूसँग कात्तिकसम्मको भाडा असुलेको पाइएको छ।

प्रकाशित मिति: : 2022-05-30 14:10:00

प्रतिकृया दिनुहोस्