व्यापार असन्तुलन, चालू खाता र शोधनान्तर घाटा बढ्दै जाँदा नेपालमा बाह्य क्षेत्र दबाबमा परेको छ। विदेशी विनिमय सञ्चितिको न्यूनीकरणले ब्याङ्किङ प्रणालीमा तरलता अभाव भएको छ, ब्याजदर महँगिएको छ। बाह्य क्षेत्र यसरी खलबलिनुमा वस्तु तथा सेवाको आयात नै मुख्य कारक हो।
आर्थिक वर्ष २०७६/७७ मा कोभिड-१९ महामारीका कारण १५.६ प्रतिशतले घटेको वस्तु आयात आर्थिक वर्ष २०७७/७८ मा २८.७ प्रतिशतले बढ्यो। यस्तो वृद्धिदर अहिले पनि उच्च छ। व्यापार घाटा पनि तीव्र छ। चालू आवको आठ महीनामा वस्तु व्यापार घाटा ३४.५ प्रतिशत र सेवा व्यापारको घाटा ५४.६ प्रतिशतले बढेको छ। परिणाम- चालू खाता घाटा पनि दोब्बरभन्दा बढी पुगेको छ।
कोभिड-१९ अघिका दुई दशकको वस्तु आयात वृद्धिदर औसत १५.४ प्रतिशत रहेकोमा पछिल्लो दशकको वृद्धिदर १७.९ प्रतिशत थियो। यसले पछिल्ला वर्ष आयात बढ्दै गएको प्रष्ट हुन्छ।
४६ वर्षयताको तथ्याङ्कमा कोरोनाले प्रभावित वर्षलाई अलग राख्दा चार वटा आवको मात्र आयात घटेको छ, अरू सबैको बढेको छ। २०४७/४८ सम्म कुल गार्हस्थ्य उत्पादनको २० प्रतिशतभन्दा कम वस्तु आयात हुने गरेकोमा आव २०७५/७६ मा ३७ प्रतिशतसम्म पुगेको छ। फलस्वरूप, वस्तु व्यापार घाटा पनि कुल गार्हस्थ्य उत्पादनको एक तिहाइ नाघेको छ।