विश्वव्यापी मृत्युदण्डमा चिन्ताजनक बृद्धिः एम्नेस्टी इन्टरनेसनल

photo : 247ureports.com
photo : 247ureports.com

महामारी प्रतिबन्धको सहजतापछि सन् २०२१ मा विश्वव्यापी मृत्युदण्डमा ‘चिन्ताजनक वृद्धि’ भएको एम्नेस्टी इन्टरनेसनलले जनाएको छ।

इरानमा सन् २०१७ पछिकै सबैभन्दा ठूलो संख्यामा मृत्युदण्ड दिइएको छ।

सन् २०२१ मा १८ देशहरूमा कम्तिमा ५७९ जनालाई मृत्युदण्ड दिइएको थियो। सन् २०२० को तुलनामा यो २० प्रतिशतले बढी भएको एम्नेस्टीले जनाएको छ।

यो अवधिमा इरानमा सबैभन्दा बढी अर्थात ३१४ जनालाई मृत्युदण्ड दिइएको थियो। जबकी सन् २०२० मा मृत्युदण्ड पाउनेको संख्या २४६ थियो। 

त्यस्तै, गत वर्ष साउदी अरेबियामा पनि मृत्युदण्डमा बृद्धि भएको देखिन्छ। सन् २०२० को तुलनमा त्यहाँ दोब्बर संख्यामा मृत्युदण्ड दिइएको थियो भने म्यानमारमा सैन्य कानुनअन्तर्गत ९० जनालाई मृत्युदण्ड दिइएको थियो। 

‘सन् २०२१ मा मृत्युदण्ड र मृत्युदण्डको सजायमा चिन्ताजनक वृद्धि भएको देखियो किनभने विश्वका केही प्रख्यात जल्लादहरू सामान्य रूपमा व्यवसायमा फर्केका थिए र अदालतहरू कोभिड १९ प्रतिबन्धबाट स्वतन्त्र भएका थिए’, एम्नेस्टीले आफ्नो समीक्षामा भन्यो।

एम्नेस्टीका अनुसार न्यायाधीशहरूले ५६ देशहरूमा कम्तिमा २,०५२ मृत्युदण्डको सजाय सुनाएका थिए जसमा बंगलादेश, भारत, प्रजातान्त्रिक गणतन्त्र कंगो, इजिप्ट र पाकिस्तानमा ठूलो वृद्धि देखिएको छ। 

प्रकाशित मिति: : 2022-05-24 11:04:00

प्रतिकृया दिनुहोस्