यो पार्टीलाई होइन, उम्मेदवारलाई अस्वीकार गरिएको हो। यसबीचमा दलहरूले आफूलाई सच्याएनन् भने दल नै अस्वीकार गर्ने अवस्थासम्म पुग्न सक्छ। पार्टीकै संगठित कार्यकर्ताले पनि स्वतन्त्र उम्मेदवारलाई मत दिएको देखियो।
नाम जे दिए पनि हामी बहुदलीय लोकतन्त्रको अभ्यासमा छौं। स्वतन्त्र उम्मेदवारी संवैधानिक अधिकारसँगै यही व्यवस्थाले उपलब्ध गराउने सुविधा पनि हो।
हिजो पञ्चायती व्यवस्था र संवैधानिक राजतन्त्रात्मक शासन व्यवस्थामा पनि स्वतन्त्र उम्मेदवार आउँथे। बहुदलीय गणतान्त्रिक शासन व्यवस्थामा आउने स्वतन्त्र उम्मेदवारी यही राजनीतिक प्रक्रियाभित्रकै एउटा सुन्दर अभ्यास हो।
संविधानले हामीलाई यति स्वतन्त्र बनाइदिएको छ कि कुनै पनि नागरिकले चुनावी प्रक्रियामा सहभागी हुन पाउँछ। भोट हाल्न र उम्मेदवार बन्ने हरेक नागरिकलाई अधिकार छ।
दललाई दबाब
यसबाट तत्कालै विद्रोह भइहाल्छ, स्वतन्त्रले पार्टीहरूलाई तहसनहस पारिहाल्छन् भने जसरी संवाद अगाडि बढाउन आवश्यक छैन। यद्यपि, जनताले अभिव्यक्त गरेको मतले पार्टीहरूले गरिरहेको कामबाट नागरिक सन्तुष्ट छैनन् भन्ने बलियो गरी संकेत गरेको छ।
अहिलेको नेतृत्वले सुशासन सुदृढ गराउनेभन्दा बेथिति संस्थागत भइरहेको छ। त्यसको प्रतिरोधमा स्वतन्त्रको लहर आएको हो।