देशभरि नै स्थानीय निर्वाचन हुने अघिल्लो दिन अन्तर्राष्ट्रिय विमानस्थल खचाखच थियो, बिदेसिएका नेपाली चुनावका लागि फर्केका कारणले होइन, खाडी जानका लागि भीड थियो । यो देशमा रोजगारी छैन ।
नेताहरूले रोजगारी र आयआर्जनका धेरै सपना बाँडे, पर्यटन क्षेत्रबाटै ९ लाखले रोजगारी पाए भने, अन्य क्षेत्रमा वार्षिक ५ लाखले रोजगारी पाउने भने, तर सपना विपना भएन ।
हाम्रो बोली र व्यवहार धेरै फरक हुँदै छ । भन्छौं एकथरि, गर्छौ अर्कै, आत्मनिर्भरताको रटान रटेको विद्यालय शिक्षादेखि नै हो, तर देशमा भइरहेको छ परनिर्भरता अघिका सरकारले पनि स्वाभिमानी, स्वावलम्बी स्वआर्जित कमाइले आपैंm उभिने भन्ने तर भएन ।
हालको देउवा सरकार आएपछि आर्थिक श्वेतपत्र जारी गर्दै देशको सञ्चित कोषमा १ खर्ब ४३ अर्बले घाटा छ भनेको थियो । श्रीलंकाको अवस्था नाजुक छ, प्रधानमन्त्रीले सुरक्षाको शरण पर्नुपरेको अवस्था छ, जनता विह्वल भए, सडकमा उत्रिए । हामीकहाँ विकासका लागि पुँजीगत खर्च अति न्यून छ तर चालू खर्च बढेको छ ।
सार्वजनिक परिवहनको न्यूनतम पूर्वाधारसम्म तय हुन नसकेको देशमा पानी जहाज, मेट्रो, मोनोरेलको फोस्रो गफ बाँडियो र पूर्व–पश्चिम, उत्तर दक्षिण रेल हुँइक्याउने सपना बाँडेको दुई तिहाइको कम्युनिस्ट भनिएको सरकारले साँढे तीन वर्षमा विदेशी ऋणलाई तेब्बर बनायो भने बहुचर्चित जनकपुर जयनगर रेलसेवा त्यो पनि अरूलाई ठेक्कामा दिनुपर्ने गरी करोडौं खर्चिएको रेललाई घुम्टो ओढाएर राख्यो, जसोतसो हाल चल्न खोजेको यो घाटामा छ ।