मगर, नेवार, गुरुङ, ठकुरी, क्षेत्री र दलित समुदायकाे मिश्रित बसाेबास गाउँ हाे, रुकुम (पूर्व)को झुम्लाबाङ। करिब २ सय वर्षअघि यो ठाउँमा गुल्मीको भार्से, बाग्लुङको गल्कोट र भक्तपुरबाट नेवारहरू, प्युठानसँगै देशका अन्य भागबाट बसाइँ सरी आएर आन्तरिक आप्रावासीहरुले बसालिएको गाउँको इतिहास छुट्टै र गौरवमय छ।
पश्चिममा चालनेता (२३५५ मि.) डाँडामा राहुल राजाको दरबारका अवशेष छन्। उत्तरमा चम्बाङमा धार्मिकस्थल छ। पूर्वतिर ठूलो रामली चौर छ, जहाँबाट सिस्ने हिमाल केही भागलगायत काँक्री, महत, लुकुम गाउँ र अन्य भू–भाग आँखाले भ्याइञ्जेल देखिन्छ।
झुम्लाबाङ भिलेज फाउण्डेशनको पहलमा गाउँमा सामुदायीक स्वस्थ्य केन्द्र, सांस्कृतिक भवन र स्कुल भवन निर्माण र थुप्रै सामुदायीक विकासका कामहरु गरेका छन, जुन अनुकरणीय छ।
झुम्लाबाङ सेरोफेरोमा सुन्दर टोलहरु छन्- ठूलोगाँउ, सानोगाउँ, बिसौना, तिम्बरबाङ, गोठबाङ, टुनबाङ, डाङलिगा, ओखरबोट, डिम्बरगैरा, चौरिबाङ र खसिबाङ छन्।
इतिहासमा फलाम र तामाखानीको भूमि, टक्सार बसेको ठाउँ, वरिपरी दर्जनौंं गाउँबस्ती र मिश्रित जातजातिको संस्कृतिको उचित व्यवस्थापन र प्रचारप्रसार गर्न सके पर्यटन केन्द्र बन्न सक्छ।
करिब ५ वर्षअघि अर्थात् २०७४ सालमा पहिलो पटक झुम्लाबाङ पुग्ने अवसर मिल्याे। त्यसबेला सिमागाउँ हुँदै कच्ची बाटो भर्खरै गाँउसम्म पुगेको थियो। आर्किटेक मित्र अजय मगरसँग पुन: उनको गाउँ घुम्ने अवसर जुरेकाे थियाे, त्यतिबेला। खाबाङ बजारदेखि क्याङ्सी हुँदै झुम्लाबाङ मोटर साइकलमा क्याङसी हुँदै गाउँ पुगियो। सडक सञ्जालले गाउँ जोडिएसँगै स्थानीयलाई आवतजावत तथा ढुवानीमा निकै सहज भएकोले स्थानीय दङ्ग छन्।
उतिबेला हिँडेर साँझ पुगेको थियौं, हामी। आहा ! यसपटक त सरर... भटभटेमा आधा घण्टामै पुगियो।
मगर खामभाषीको बाहुल्यता भएकाे यसक्षेत्रका बासिन्दाले खस अथवा नेपाली भाषामा कुराकानी गरेको सुन्दा उतिबेला म केही सोचमग्न भएको थिएँ।
‘यहाँका बासिन्दाहरु किन मगर खाम नबोलेको होलान् ?,’ यही प्रश्नले दिमागमा टिङरिङ घण्टी बजायाे थियाे। प्रश्नकाे तरङ्गले यहाँकाे इतिहास बुझ्ने ठाउँसम्म पुर्याएकाे थियाे, हामीलाई। दुई वर्षपछि दुई दिनकाे बसाइँमा यसपटक यहाँकाे इतिहासबारे केही बुझ्ने माैका मिल्याे।
ऐतिहासिक पहिचान भएको गाउँ
रुकुम (पूर्व)को भूमे गाउँपालिका वडा न. ३ स्थित झुम्लाबाङ गाउँ। एउटा छुट्टै पृष्ठभूमिबाट स्थापना भएको विविध जातजातीको साझा थलो। यसको इतिहास पृथक र गौरवमय रहेको मित्र अजयले सुनाए।
यस गाउँमा वि.सं. १९६४ सालमा रुकुमखानी टक्सारको रुपमा स्थापना भएको इतिहास छ। सम्पूर्ण जिल्लाकाे कर अशुल तहसील गर्ने र पैसा काट्ने कार्य यसै स्थानबाट भएको विगतको इतिहास कोट्याए, उनले।
उतिबेला टक्सारको उद्घाटन लेफ्टिनेन्ट वर्णासिङ क्षेत्रीद्वारा भएको थियो। सुरुमा लालु उपाध्यायले प्रथम मुखियाको रुपमा जिम्मेवारी लिएको इतिहासमा उल्लेख छ।
‘खानी राम्रोसँग संचालन भएको र मनग्य आय आर्जन भएको थियो। त्यसबेला यस ठाउँ व्यापारिक केन्द्र थियो। दाङ, नेपालगञ्ज र सल्यानबाट व्यापारीहरुले मालसामन ल्याएर व्यापार व्यवसाय चलाएका थिए,’ अग्रज समाजसेवी रामबहादुर बुढा मगरले सुनाए।
समयको अन्तरालसँगै यहाँका बासिन्दाहरु कृषि पेसामा होमिँदै गए र विस्तारै एउटा बृहत् समाजको रुपमा परिणत भयो। यो समाज अग्रगामी छ र विकासको चरणतिर प्रवेश गर्ने नयाँ मोडमा आइपुगेको छ,’ अजय सुनाउँछन।
भौगोलिक रुपले झुम्लाबाङ गाउँ उच्च स्थानमा रहेको छ। यो गाउँ चन्बाङ्ग धुरी (लेक)को फेदमा अवस्थित छ। त्यहाँबाट उत्तरतर्फ चन्बाङबाट सिस्नेको केही भाग देख्न सकिन्छ। हिमश्रृंखला नियाल्न भने उत्तरी भागमा रहेका धुरीहरुजस्तै: गुराँसे (३०१५ मि.) वा निम्बाङ (३३३५ मि.) पुग्नुपर्छ। प्राकृतिक रुपले सुन्दर र धनी यो स्थान हरियो वन जंगल र विभिन्न मौसमका फूलहरुले भरिएको यो उर्वर भूमी मनमोहक छ। परापूर्वकालदेखि डाँडाकाँडा र वन पाखाहरुमा बसोबास गरी रमाएका मानिसहरुको लागि यो ठाउँ उपयुक्त छ। त्यहाँका पहाड, जंगल र कान्ला, खेतबारीको भुदृश्य हेर्न रहरलाग्दो छ।
गाउको दक्षिणी भू–भागतिर छिमेकी गाउँ-टोलहरु छन। पूर्वमा निम्बाङ पहाड, दक्षिण पूर्वमा रामली पहाड, पश्चिममा पौराणिक राजदरबार र उत्तरी भाग गाउँको शिरैमा चन्बाङ पहाड छ। पश्चिमतिर मोरबाङ, दक्षिण-पश्चिममा सीमा, दक्षिणमा क्याङ्सी र दक्षिण पूर्वमा गाबाङ् गाउँ अवस्थित छन। धुरीपरिको उत्तरतिर राङ्गसी र नाखा गाउँ छन। साविकको रुकुम जिल्लाको मोरबाङ गाविसको वडा नं ८ र ९ मा पर्ने झुम्लाबाङ हाल संघीय संरचनाअनुसार रुकुम (पूर्व), भूमे गाउँपालिका वडा न. ३ मा पर्दछ।
झुम्लाबाङ विशेषता : विविधतामा एकता
यो ऐतिहासिक गाउँ विविध जातजातीहरुको साझा थलोको रुपमा परिचित हुँदै आएको छ। यहाँ मगर, गुरुङ, नेवार, ठकुरी, क्षेत्रीलगायत दलित समुदायको मिश्रित बसोबास रहेको छ।
विविध जातजातिकाे साझा फूलबारी झुम्लाबाङीमहरूकाे एकअर्कामा सुमधुर सम्बन्ध रहेकाे पाइन्छ। थरि–थरिका जातजातिकाे बसोबास भए पनि नेपाली भाषालाई यहाँका बासिन्दाहरुले परापूर्वकालदेखि साझा भाषाको रुपमा प्रयाेग गर्दै आएका छन। सामुहिक भावना बोकेका गाउँलेहरु समाजमा आइपर्ने समस्यामा एकजुट हुन्छन।
यहाँका युवाहरु गाउँकाे विकास र परिवर्तकाे लागि सकारात्मक छन। शैक्षिक रुपले चिनिएको यहाँ पढे लेखेका र उच्च शिक्षा हाँसिल गरेका युवाहरु गाउँमा प्रसस्त भेटिन्छन्। यहाँका मानिसहरुकाे शिक्षण पेसा, सामुदायीक स्वास्थ्यकर्मी, कानूनी सेवा, सरकारी कर्मचारी, इन्जिनियर, संचारकर्मी, व्यवासाय र समाजसेवामा संलग्नता रहेकाे छ।
त्यस्तै बैदेशिक रोजगारीमा जाने युवाहरूकाे संख्या पनि उल्लेख्य रहेकाे छ। उनीहरु मध्यपूर्व एशियाका देशहरु जस्तै: इराक, कुवेत, कतार, दुबई साउदी अरबलगायत पूर्वी एशियाको मलेशियामा कार्यरत छन। त्यसैगरी युरोप, अमेरिकालगायत विभिन्न विकासित देशहरुमा समेत यहाँका मानिसहरू पुगेका छन्। विश्वको विभिन्न देश र कुना काप्चामा भएपनि आफ्नो गाउँ/ठाउँ र जन्मथलो बिर्सेका छैनन यहाँका, मानिसहरू। सबैले आ-आफ्नो तरिकाले गाउँको विकासमा सकेको योगदान पुर्याएको मित्र अजय सुनाउँछन।
भूमे गाउँपालिकाका अध्यक्ष रामसुर बुढा मगर पनि झुम्लाबाङी पालिकामै शिक्षित गाउँको रुपमा परिचित रहेको तर्क गर्छन्। यस ठाउँका बासिन्दा विकासको काममा सधै एकजुट हुन्छन, विभिन्न योजनाहरुमा चासो राख्ने र सधै अग्रसर छन्। र, त उनीहरु पालिकामै हरेक क्षेत्रमा अगाडि छन, सबै कुरामा लिडिङ गर्छन्। ‘यही एकताको भावनाले आफ्नो जन्म भूमिलाई एउटा नमुना गाउँ बनाउने अभियानमा जुटिरहेका छौ,’ मित्र अजयकाे बाेलिमा एकखालकाे दम देखापर्छ।
आन्तरिक आप्रवासीद्वारा बनेको गाउँकाे इतिहास
मानव सभ्यताको सुरुवातदेखि नै जीवन निर्वाहको लागि अनेकन चुनौती झेल्दै र नयाँ अवसरको खोजीमा भौतारिने मानवजातीको गुण हो। सयौं वर्ष अगाडि झुम्लाबाङ्बासीका पुर्खाहरु पनि नेपालका विभिन्न भागबाट यस क्षेत्रमा पाइला टेकेको कुरा इतिहास र किंवदन्तिहरुले भेटिन्छन्। यो गाउँको इतिहास पनि रोचक छ।
यहाँका पुर्खाहरु खनिज उत्खनन र विकास भएको समयमा खानी सम्बन्धि विभिन्न कार्यमा संलग्न थिए। उनीहरु विविध कामका सिलासिलामा यस गाउँमा बस्दै आएका रहेछन् भन्ने बुझ्न सकिन्छ। ‘धेरैजसो बाग्लुङ जिल्लाका विभिन्न भागबाट र केही अन्य स्थानबाट यस ठाउँमा प्रवेश गरेका बुढापाकाहरु बताउँछन, जुन कुरा अभिलेखमा पनि भेट्न सकिन्छ,’ समाजसेवी राम बहादुर बुढाले भने।
यहाँ आउने क्रममा गुरुङ्जातिहरु कास्की जिल्लाको उत्तरी गाउँ घान्द्रुकबाट बसाइँ सरेर यस ठाउँलाई कर्मक्षेत्र बनाए। यस जातिका पुर्खा स्व.श्री पूर्णसिङ गुरुङ् यहाँ आएर बसोबास सुरु गरेका रहेछन। उनीहरुको वर्तमान पिढीहरु गोठबाङ र केही दाङ्गलिघामा बसोबास गर्दछन। यहाँका एकथरी नेवारहरुका पुर्खाहरु भक्तपुरबाट प्रस्थान गरी प्युठान र पश्चिमी जिल्ला सल्यान, बाँके हुँदै सुरुमा रुकुमकोटको आलामा बसोबास गरेको बताइन्छ। त्यहाँबाट उनीहरु झुम्लाबाङ आएर बसोबास गरेको विश्वास छ। कोही नेवारहरु भक्तपुर जिल्लाको नगरकोटबाट आएको भन्ने छ। र, कोही भने काठमाडौं उपत्यकाको ललितपुर जिल्लाको पाटनबाट आएको भन्ने जानकारी छ। त्यस्तै कोही थरी नेवारहरु गुल्मी जिल्लाको भाजुखोलाबाट यहाँ आएको व्यहोरा देखिन्छ।
बुढा मगर जाति गुल्मी जिल्ला भार्सेखानीबाट आजभन्दा ७ पुस्ता अगाडि वि.स. १८०० अगावै रुकुमकोटको काल्चेखानी आग्री डेरामा बसेको विश्वास गरिन्छ। त्यहाँबाट झुम्लाबाङ्मा आएर बसोबास गरेको उक्त जातिको वंशावली अभिलेखमा भेटिएको छ।
अर्काथरी बुढाथोकी मगरहरु बाग्लुङ जिल्लाको डरमखानीबाट यहाँ आएर घरजम गरी बसेको कुरा खुल्न आएको छ। तिनीहरुको समूह उपल्लो दाङलीकाका बुढाथोकी मगरहरु पर्दछन। त्यस्तै अन्य बुढामगरहरुमा खासिबाङ र घाम्ताप्ने खोलामा बसोबास गरेको पाइन्छ।
झुम्लाबाङ भिलेज फाउण्डेशनले तयार पारेको वंशावलीमा उल्लेख भए बमोजिम थापा मगरहरु सल्यानको दर्मगारबाट र दर्लामी थापाहरु मगरात चाहारेबाट आएका भन्ने उल्लेख छ।
त्यसैगरी राना मगरहरु बाग्लुङ जिल्लाको गल्कोट भन्ने स्थानबाट यहाँ पाइला टेकेको भन्ने खुल्न आएको छ। श्रीष मगरहरु बाग्लुङकाे डरमागारबाट आएको बुझिएको छ। पुन मगरहरुको पहिलो पुर्खा स्व.सिङ्गे पुन भन्ने पुर्खा आएर यहाँ बसेबास गरेको रहेछन।
रोका मगरहरुको पुर्खा बाग्लुङ जिल्लाको छापखानीबाट आएका हुन। मल्ल जातिहरु बाग्लुङ जिल्लाको गल्कोट भन्ने ठाउँबाट प्रवेश गरेको बताइन्छ। उनीहरुको पुर्खा स्व. श्री चेतन गिरी मल्ल रहेछन्। जगतप्रसाद बोहरा पहिलो पुस्ताका क्षेत्रीहरु हुन जो रुकुमकोटबाट आएका हुन।
त्यस्तै कामी, नेपालीलगायत र उत्पीडित जातिहरु पनि झुम्लाबाङमा बसोवास गरेका छन। उनीहरु पनि अन्य जातजातीहरुको आगमन सँगसँगै वा अगाडि पछाडि आएको अनुमान गर्न सकिन्छ। काला जातीका रामाजाली कामीहरु बाग्लुङ जुगजा कितिनीबाट आएका हुन भने अर्काथरी कामीहरु बाग्लुङ्ग जिल्लाको भुजीखोलाको बोङखानीबाट आएको भन्ने बुझिन आएको छ।
अन्य उत्पीडित जातिहरुमा सुनार, नेपाली आदि पर्दछन्। यी सबैको प्रष्ट पुर्ख्यौली आप्रवास स्थान थाहा नभए पनि उनीहरु पूर्वतीरबाट यस गाउँमा आएका हुन सक्ने ठम्याइ छ। विभिन्न स्थानबाट बसाइँ सरेर आए पनि यस गाउँका निवासीहरुको खानी टक्सार बन्द भएपछि कृषि पेसालाई अगाँल्दै विभिन्न पिढींका मानिसहरुले पछ्याएको तथ्य हो।
झुम्लाबाङमा भिलेज फाउन्डेशनको अभियान
सन् २००९ मा स्थापना भएको झुम्लाबाङ भिलेज फाउन्डेसन (जेभीएफ) गाउँघरको विकासमा सारथी बनेकाे छन। यस समुदायमा आधारित संस्थाद्वारा गाउँमा शिक्षा, स्वस्थ्य, कृषि र संस्कृति जगेर्नामा समेत उल्लेख्य काम गरिरहेको छ। दुर्गम गाउँ जहाँ शिक्षा र स्वस्थ्यको चरम आवश्यक्तामा संस्थाले सामुदायीक स्वस्थ्य केन्द्र, स्कुल भवन, सांस्कृतिक भवन निर्माणलगायत विद्यालयलाई शैक्षिक सामाग्री वितरण गर्नुको साथै निम्न आयस्तरका बालवबालिकालाई छात्रवृत्ति प्रदान समेत गरिरहेको छ। हालको स्वस्थ्य केन्द्रलाई सामुदायीक अस्पतालको रूपमा स्तरोन्नत्ति गर्ने जेभिएफको भविष्यको योजना रहेको संस्थाको संस्थापक अध्यक्ष राम बुढा मगरले जानकारी दिए।
संस्थाको संस्थापक सदस्य समेत रहेका अजय मगर यस काममा सधै खटिरहेका छन। गत महिना म त्यहाँ पुग्दा उनी अर्को महिना गाउँका किसानहरुलाई कृषि तालिमको कार्यक्रम संचालनमा व्यस्त थिए। पेसाले इन्जिनियर उनी आफ्नो बचेखुचेको समय गाउँको विकास कसरी गर्न सकिन्छ भन्नेमा सधै डौडधुप गर्छन। यही सिको गर्दै देशका हरेक युवा पुस्ताले सरकारको मात्रै मुख ताक्न छाडेर आ-आफ्ना क्षेत्रमा सकेको योग्दान पुर्याउन सके देश विकासमा टेवा पुग्न सक्छ।
गाउँमा शिक्षा स्वस्थ्यलगायत विविध सीपमुलुक कार्यक्रमद्वारा गाउँलाई दिगो-आधारित विकासको क्षेत्रमा 'रोल मोडेल' बनाउने लक्ष्यसहित अगाडि बढिरहेका अजय मगरलगायत झुम्लाबाङी युवाको योगदान उदाहरणीय छ।
करेसाबारीमा क्रान्ति ल्याउँदैछ झुम्लाबाङ
यो गाउँमा अहिले प्राय: सबै टोलको घरमा करेसाबारी देख्न पाइन्छ। झुम्लाबाङ भिलेज फाउन्डेसनको पहलमा घर–घरमा करेसाबारी अभ्यास गर्न प्रोत्साहन गरिरहेको छ।
‘हामी किसानहरुलाई बहुबाली कृषी प्रणालीमा जोड दिएका छौँ,’ अभियान्ता अजय भन्छन,‘एकल बाली प्रणालीलाई सकेसम्म निरुत्साहित गरेका छौ।’ यस्तो प्रणाली अपनाउँदा वर्षभरि बारीमा केही न केही फलफूल र अन्नबाली सागसब्जी उत्पादन भइरहन्छ।
‘गाउँलेहरुलाई आफ्नो परिवारलाई तरकारीको समस्या हुँदैन, आफ्नै बारीमा फलेको अर्गानिक हरियो सागसब्जी खान पाएन्छ,' उनी भन्छन। यसको मुल उद्देश्य सबैले सबैबाट कमाउने, स्वस्थ तरकारी खाने र बचेको बेचेर २/४ पैसा आम्दानी पनि हुन्छ।
घरको करेसाबारी या नजिकै एक टुकुडा जमिनमा तरकारी फलाउदा घरको शोभा पनि बढ्छ, आ-आफ्नो घरमा ताजा, स्वच्छ र हरियो सागसब्जी पनि खान पाइने भएकोले किसानहरु यसतर्फ आकर्षित भएको अभियान्ता अजयको अनुभव छ।
बेला–बेेलामा जेभिएफ संस्थाले गाउँपालिका र बाहिरबाट कृषि प्रविधिक झिकाएर गाउँका किसानलाई आवश्यक तालिमको आयोजना समेत गर्दै आएका छन। विउँ विजन भने गाउँपालिकाले नि:शुल्क वितरण गर्छ।
कृषिमा एउटै जमिनमा एक फसलको सट्टा एक मौसममा दुई वा बढी बाली उब्जाउने अभ्यासलाई बहुबाली प्रणाली भन्छ। यस्ता किसिमका फसल प्रणालीले किसानहरूलाई उनीहरूको बाली उत्पादकता र आम्दानी दोब्बर बनाउन मद्दत गर्दछ।
यो आर्थिक र वातावरणीय लाभको लागि कृषि उत्पादनलाई तीव्र पार्ने र बाली मिश्रणलाई विविधिकरण गर्ने तरिका हो। 'यसलाई हामी समुदायमा आधारित कृषि अभियानको रुपमा अगाडि बढाउदैछौ,' अभियान्ता अजयले भविष्यको योजना सुनाए।
यसको पाइलट प्रोजेक्टको रुपमा सामुदायीक स्वस्थ्य केन्द्र नजिक जग्गा भाडामा लिएर जेभिएफ संस्थाले करेसाबारी सञ्चालन गरेका छन। यहाँ विभिन्न जातका सागसब्जी र तरकारी उब्जाउँछन। यो एक प्रकारको करेसाबारी तालिम केन्द्र हो।
करेसाबारीमा मौसमअनुसारको सागसब्जी, केराउ, काउली, बन्दा, सिमी, कुरिलो, जर्रको, जंगली सागसब्जी उत्पादन गरेका छन। त्यस्तै मौसमअनुसारको तोरी, बहुवर्षीय सिमी, बकुल्ला, गोलभेडा, प्याज, लसुनजस्ता पोषणयुक्त तरकारीहरु उब्जाएका छन।
किसानहरुले यहाँ तालिम लिन सक्छन, उम्रेको विउ विरुवा समेत उनीहरुले लगेर आफ्नो करेसाबारीमा लगाउँछन। छोटो समयमा झुम्लाबाङका विभिन्न टोलमा किसानहरु करेसाबारीतर्फ आकर्षित हुँदैछ। शिक्षा, स्वास्थ्य र विकासका काममा सधै अग्रणी झुम्लाबाङबासी करेसाबारीमा समेत क्रान्ति ल्याउने बाटोमा छन।
झुम्लाबाङमा दुई दिन बितेको पत्तै भएन। रामबहादुर बुबासँग खासिबाङस्थित घरको आँगनमा गरेका मिठो कुराकानी र आमाको हातबाट बनेको स्वादिष्ट गाउँले खानपिन (करेसाबारीको हरियो सागसब्जीसित) अझै झल्झली आइरहेछ। न्यानाे आतिथ्यताकाे लागि धन्यवाद,झुम्लाबाङ।