सैनामैना नगरपालिकाकाे प्रमुखमा एमालेबाट उम्मेदवार बनेका नेता चित्रबहादुर कार्कीले समृद्ध सैनामैना बनाउने धोको रहेकाे बताएका छन्।
यसअघि २०७४ सालको निर्वाचनबाट पहिलो कार्यकालमा जनप्रतिनिधिका रुपमा निर्वाचित भएपछि प्राप्त कार्यभारलाई बहन गर्दै समग्र सैनामैना नगरको समृद्धिको आधारशिला खडा गरिएको कार्कीले बताएका छन्।
उनले निर्वाचनको समयमा व्यक्त गरिएका प्रतिवद्धता अनुरुप “सैनामैना समृद्धिको आधार उद्योग, पर्यटन, र पूर्वाधार” भन्ने नारालाई साकार पार्न समृद्धिको आधार तयार पार्ने र तिनै आधारलाई कार्यान्वयन गर्ने कार्यक्रम समेत तयार पारिएको बताए।
स्वच्छ सदाचारयुक्त सुशासनको प्रत्याभूति सहित स्वचालित कार्यप्रणालीको स्थापना र अभ्यासको माध्यमद्वारा स्थानीय तहमा प्रवाह गरिने सेवामा गुणस्तरीयता, निष्पक्षता, पारदर्शीता, मितव्ययिता, जवाफदेहिता एवम् जिम्मेवार शासन प्रणालीको प्रतिवद्धतासंगै जनतामा सोको प्रत्याभुति दिन सफल भएको कार्कीले दाबी गरे।
कुशल नेतृत्वको दुरदर्शी क्षमताका कारण प्रतिकुलतासंग जुध्दै सैनामैनाको उन्नतीमा महत्वपूर्ण भूमिका निर्वाह गरेका जनप्रतिनिधिलाई नै नेतृत्वका लागि फेरि प्रस्तुत गरिएको एमालेका उपाध्यक्ष तथा सफल अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताए।
सैनामैनाको रानिबगियाबाट चुनावी कार्यक्रमको शुभारम्भ गर्दै नेता पौडेलले समृद्ध सैनामैनो लक्ष्य लिएका, लक्ष्य हासिल गर्ने दृढइच्छाशक्ति रहेका र जनताले खोजेका उम्मेदवारका रुपमा प्रतिनिधिलाई प्रस्तुत गरिएको बताए।
सैनामैनाका निर्वाचन परिचालन कमिटी संयोजक मिनप्रसाद पौडेलले एकताबद्ध पार्टी र नेतृत्वाटै सैनामैनाको समृद्धिका आधारलाई साकार पार्ने कार्यक्रम बनाइएको बताए।
युवा, ज्येष्ठ नागरिक, महिला, दलित, मधेशी, जनजाति सबैको साथ र समर्थन एमालेलाई रहेको उल्लेख गर्दै नेता पौडेलले सैनामैनाको मुहार फेर्ने एमालेको धोको रहेको बताए।
निर्वाचन परिचालन कमिटीका संयोजक तथा एमाले सैनामैनाका अध्यक्ष चेतनारायण न्यौपानेले ‘समृद्ध सैनामैना निर्माणको सपनालाई पूरा गर्नको लागि यो कार्यकालमा आर्थिक, भौतिक, सामाजिक र मानवीय विकासको एउटा बलियो जग बसाल्ने प्रभावकारी काम गरिने’ बताए।
नगरमा भएका गौरवका योजनाको पूर्णताका लागि पनि एमालेको नेतृत्वको निरन्तरता जरुरी रहेको एमालेका अर्का नेता खुशीराम चौधरीले बताए।
उनले सैनामैनाको सांस्कृतिक पहिचान र जातीय सद्भावयुक्त समाज निर्माणका लागि पनि एमालेको निरन्तरता अपरिहार्य रहेको बताए।
सैनामैना नगरपालिकाद्वारा हुने सेवा प्रवाह तथा आर्थिक सामाजिक क्षेत्रमा भएको प्रगतिले साँच्चै नै सिहंदरवार नै गाउँघरमा आएको महशुस सैनामैना बासीले गरेको उपप्रमुखका उम्मेदवार बिना रानाले बताइन्।
यसलाई अझ विस्तार गर्न, महिला हिंसामुक्त सहर निर्माण गर्न, सभ्य र समुन्नत सहर निर्माण गर्न पनि एमालेको नेतृत्व जरुरी रहेको उपप्रमुखका उम्मेदवार रानाले बताइन्।