ओझेलमा दाङकाे एक रातमा बनेको मन्दिर

छैन प्रचारप्रसार

Breaknlinks
Breaknlinks

एउटा मन्दिर बन्न कति दिन लाग्छ ? एक दिन, एक हप्ता, एक महिना वा थप बढी समय लाग्छ। सामान्यतया हामी एक दिनमा मन्दिर बन्ने कुरामा कल्पना पनि गर्न सक्दैनौँ। सामान्य मन्दिरजस्तो आकार निकाल्न पनि एक हप्ता त लाग्छ होला भनेर हामी भन्ने सक्छौँ। अथवा त्यस किसिमको अनुमान गर्न सक्छौँ।

तर, दाङमा एक रातमा बनेको मन्दिर छ। घोराही उपमहानगरपालिका वडा नं. १० उत्तर अम्राइमा ‘मन्ठोरिया’ नामले चिनिने एक रातमा बनेको मन्दिर भएपनि प्रचारप्रसारको अभावमा ओझेलमा छ। मन्दिर बनेको कुन मितिमा हो बुढापाखाहरु पनि थाहा पाउदैनन्। एक रातमा बनेको मन्दिर भन्नुबाहेक मन्दिरका विषयमा अन्य खोज अनुसन्धान हुन सकेको छैन।

‘एक रातमा बनेको हो रे मन्दिर, हाम्रा बाउबाजेले त्यही भन्थे,’ उत्तर अम्राइका ७४ वर्षीय देवुलाल थारुले भने। उनलाई पनि एक रातमा बनेको भन्ने बाहेक अरु थप जानकारी छैन।

देवुलालाई थप जानकारी नभएको जस्तै एक रातमा बनेको मन्दिर कसले बनाएको भन्ने तथ्य अहिलेसम्म खुलेको छैन। मन्दिर आफै बनेको हो कि कसैले बनाएको भन्ने बारे थाहा नभएको दुवेलाल बताउँछन्।

‘केही थाहा छैन। मन्दिर कसरी बन्यो। विहान उठ्नेबेला मन्दिर थियो रे,’ उनले भने। पहिले रातिमा देवीदेवता हिँड्ने बेला उनीहरुले नै मन्दिर बनाएको हुन सक्ने देवुलाल आँकलन गर्छन। ‘देवीदेवता त रातिमा हिँड्छन्। उनीहरुले बनाए होलान,’ उनले भने,‘भालेबासेपछि छाडेर हिँडे।’

ठूलो सिमलको बुटाको आडमा बनेको मन्दिर पूरा बनेको थिएन। विहान उठ्ने समय करिब १० फिट अग्लो बनाइएको मन्दिरको छाना थिएन। खुलै रहेको थियो। यहाँ मन्दिर बनेपछि स्थानीयले पूजाआजसमेत गर्न थालेका थिए।

अहिले पनि यस मन्दिरमा पूजा गरिन्छ। माघीको ४ र ५ गते दुई दिन मन्दिर परिसरमा मेलासमेत लाग्ने गरेको छ। त्यसदिन पूजाआजासमेत हुने गरेको स्थानीय जीवनी चौधरीले बताइन।

मन्दिरमा पाठपूजा हुन थालेपछि माथि छाना थपेर मिन्दरको आकार दिइएको छ।

यस मन्दिरको सम्बन्ध भारतको पाटन मन्दिरसँग सम्बन्ध रहेको देवुलाल बताउँछन्। साथै घोराही १७ मा रहेको चौघेर मन्दिरसँग पनि यस मन्दिरको सम्बन्ध रहेको उनले जानकारी दिए।

घोराहीका चौघेर तथा भारतको पाटन मन्दिरको चर्चा हुने गरे पनि यस मन्ठोरिया मन्दिर भने ओझेलमा रहेको छ। जहाँ अहिले पनि दैनिक पूजापाठ हुन सकेको छैन। माघको ४ र ५ गते मात्र मन्दिरमा पुजारीले पुजापाठ गर्ने गरेका छन्। 

अघिपछि स्थानीय आफै गएर पूजाआज गर्ने गरेको जीवनीले बताइन। टाढाबाट घुम्न आउने नगरेको उनले जानकारी दिइन। यस मन्दिरमा जानका लागि घोराहीबाट नरायणपुर बजार पुग्नुअघि सौडिकुलाबाट उत्तरतर्फ जानुपर्छ।

मन्दिर बनाउन ढुंगा प्रयोग गरिएको छैन

यस मन्ठोरिया मन्दिर बनाउनका लागि कुनै पनि ढुंगा प्रयोग गरिएको छैन। मन्दिर कुन मितिमा बनेको थाहा नभए पनि यस मन्दिरमा इँट्टा प्रयोग गरिएको छ। तर, इँट्टा आज–भोलि बजारमा पाइने गरिएको जस्तो नभएर ठूला अकारका रहेको जीवनी बताउछिन्।

‘यस मन्दिरमा प्रयोग गरिएको इँट्टा आजभोली बजारमा पाइने भन्दा लामा र चेप्टा पनि छन्,’ उनले भनिन्। मन्दिरमा इँट्टा प्रयोग गरिएकोमा देवुलाल पनि आश्चार्य प्रटक गर्छन। ‘ढुंगा छैन। काँचो इँट्टा पनि होइन। अर्कैखालको ईट्टा प्रयोग गरेर मन्दिरको भित्ता बनाइएको छ,’ उनले आश्चार्य प्रकट गर्दै भने,‘एकरातमा मन्दिर बनाउँदा कहिले इँट्टा बन्यो ! कहिले पकायो ! अनि कतिबेला मन्दिर बन्यो !’

मन्दिर बनाउन भित्तामा इँट्टा मात्र हाइन मन्दिर परिसरमा कुदिएका ढुंगा पनि रहेका छन्। लामा, चेप्टा आकारका ढुंगाहरु अहिले पनि मन्दिर परिसरमा पाउन सकिन्छ। मन्दिरको दक्षिणमा पानीको कुवा पनि रहेको छ।

मन्दिरमा भाकल गरे पुग्ने विश्वास

मन्ठोरिया मन्दिरमा भाकल (मागेको पुग्नु) गरेको कुरा पूरा हुने स्थानीय विश्वास गर्छन। खेतमा धान रोप्ने समयमा पानी परेन भने असार, साउन महिनामा स्थानीयले पानी माग्नका लागि यस मन्दिरमा पूजाआजा गर्ने गर्दछन्। मन्दिर आसपासमा रहेका ७ गाउँले बोका, चल्ला लगेर पुजेपछि पानी पर्ने विश्वस गर्छन।

‘धान रोप्ने समयमा पानी नआएपछि यहाँ ७ गाउँकाले पूजा गर्छन,’ स्थानीय जीवन चौधरी भन्छिन्,‘पानी नआएसम्म यहि पुजा गरिरहन्छन्। अनि पानी पर्छ।’ उनले अन्य भाकल गरे पनि पुग्ने बताइन।

प्रकाशित मिति: : 2022-04-23 19:17:00

प्रतिकृया दिनुहोस्