२०६९ सालमा पहिलो पटक अखिल नेपाल फुटबल संघ (एन्फा) को तदर्थ समितिको अध्यक्ष बनेका भरतबहादुर बुढथापा २०७९ साल वैशाख एक गते चार वर्षे अर्को कार्याकालका लागि तेस्रो पटक निर्वाचित भए। करिब एक दशकदेखि निरन्तर रुपमा जुम्लाको अध्यक्षको जिम्मेवारी पाउँदै आएका उनी केन्द्रीय सह-महासचिवसम्म पुगेका छन्।
खेलकुदमै जीवनको यात्रा तय गरेका उनी एन्फा जुम्लाको अध्यक्षमा आएपछि जिल्लाको फुटबलले फड्को मारेको छ। कर्णाली प्रदेशबाट सुर्खेतको मात्रै चर्चा भइरहेको समयमा सुर्खेतलाई समेत चुनौती दिने गरी फुटबलको विकास हुनुमा जस उनैले पाएका छन्।
उनी भने पद पाउन ढिलो भएका कारण फुटबलको विकास पछाडि धकेलिएको मान्छन्। ‘ढिलो भयो, समयमै नेतृत्व पाएको भए धेरै कुरा गर्न सकिन्थ्यो। पुराना राम्रा खेलाडीलाई राष्ट्रिय टोलीमा डेब्यु गराउन सकिन्थ्यो,’ उनले भने, ‘यसले नयाँ खेलाडीको लागि वातावरण तयार पार्थ्यो। अहिले सकेको गरिरहेको छु। पछिल्लो पुस्ताका राम्रा खेलाडी उत्पादन भइरहेका छन्।’
एक समय उनी छोटो दूरीमा दौडिने खेलाडी थिए। एक सय मिटर र दुई सय मिटरमा दैडिने उनी एभरेस्ट म्याराथनमा ह्याट्रिक गरी गिनिज बुक अफ वर्ल्ड रेकर्ड राख्न सफल खेलाडी हरि रोकायाका समकालीन हुन्। तर परिबन्धले उनलाई खेल क्षेत्रमै रहिरहन दिएन।
उनी वीरगञ्जमा भएको तेस्रो राष्ट्रिय खेलकुद प्रतियोगिताबाट भातरको कलकत्तामा आयोजना हुने पहिलो साफ च्याम्पियनसिपका लागि क्लोज क्याम्पमा छनोट भएका थिए। तीन महिना प्रशिक्षण लिए। तर पछि साफ च्याम्पियनसिपमा जान पाएनन्। जिल्ला खेलकुद विकास समितिको जिल्ला सचिवको नियुक्ति लिएर जुम्ला फर्किए।
खेलकुद विकास समितिमा चानचुन पाँच वर्ष काम गर्दै गर्दा देशमा बहुदलीय व्यवस्था स्थापना भयो। धेरैजसो पञ्चहरु नै कांग्रेस र कम्युनिष्ट बने।पुरानो शिरकका उनीहरु नयाँ खोल ओडेर परिवर्तनकारी भए। केही नबनी चुप लागेका बुढथापा जस्ता मान्छेहरु ‘मण्डले’ भए।
मण्डले आरोपित उनीहरुलाई जागिरबाट निकालियो। त्यो ठाउँमा नामधारी प्रगतिशील, बहुदलवादी खेल नबुझेका राजनीतिक कार्यकर्ता नियुक्त भए। देशभरका खेलकुद विकास समिति दलका कार्यकर्ता भर्ती केन्द्र बने।
’अहिलेका सबै संरचना भत्किनु खेल क्षेत्रमा दलका कार्यकर्ता छिराइनु हो,’ उनले भने, ‘त्यसले खलकुदको विकासमा ठुलो बाधा उत्पन्न गरायो।’
उनी भलिबल खेलका राम्रा खेलाडी थिए। उनको खेल देखेर फ्यान बनेकाहरु आज सरकारी उच्च ओहदामा पुगेका छन्। कहिलेकाहीँ काम विशेषले सरकारी कार्यलय पुग्दा उनलाई ती पुराना दिन याद दिलाउँछन्।
उनका फ्यानले हुटिङ गर्दा ’हनुमान कट्टु’ भन्थे। त्यसबेला उनी बेस्सरी उफ्रिएर जोडले सट हान्थे। उनीहरु यी कुरा रमाइलो गरी सुनाउँछन्। यस्तो सुन्दा उनी भावुक हुन्छन्। त्यसबाहेक उनी टेबुल टेनिसका खेलाडी पनि हुन्।
खेलबारे धेरै ट्रेनिङ पनि लिएका छन्। खेलकुद मन्त्रालय र राखेपको ट्रेनिङमा प्रथम स्थान हासिल गरेको अनुभव सुनाउँछन्। उनले भने, ’त्यसबेलाका शिक्षा मन्त्री पर्शुराम चौधरीले प्रमाणपत्र दिनुभएको थियो।’
खेलका विभिन्न विधामा दक्षता राख्ने उनी खेल क्षेत्रको विकासका लागि दिलोज्याद दिएर लाग्ने सोचिरहेका बेला मण्डलेको आरोपमा जागिरबाट हात धुनुपर्यो। जागिर गएपछि उनीसँग खेलक्षेत्रमै रहिरहने बाटो रहेन। उत्साह मरेर गयो। जडीबुटी व्यवसायमा लागे। त्यसबाट उनले राम्रो आम्दानी गरे।यसैगरी उनले दुई दशक बिताए।
दलीय व्यवस्थाले खेल क्षेत्रको विकासका लागि कुनै कदम चालेन। खेलकुदको बेहाल देख्दा उनी आफैँ सक्रिय भए। जुम्लामा एन्फाको कार्यालय स्थापना गर्नुपर्छ भनेर लागे। तर एक वर्ष राजनीतिक नियुक्तिबाट जिल्लामा नेतृत्व गरिरहेकाले रोके। पछि माओवादीको सरकार भएको बेला उनले पहल गरे। यसमा माओवादीका नेता गजेन्द्रबहादुर महत (कार्मा) र विण्णु बहादुर महत (गौरव) ले सहयोग गरे। जुम्लामा एन्फाको शाखा स्थापना भयो उनी तदर्थ समितिको संयोजक भए। उनी आज पनि भन्छन्, ‘जुम्लामा एन्फाको शाखा स्थापना गराउन उहाँहरुको ठूलो योगदान छ।’
तर, काठमाडौंको नजर भने राम्रो थिएन। भूगोलको अनुभूति नै नगरेकाहरु ‘जुम्ला जस्तो भिरमा फुटबल हुन्छ?’ भनेर प्रश्न गर्थे। बुढथापाले उनीहरुलाई आग्रह गरे, ‘म आफ्नै खर्चमा तपाईंहरुलाई जुम्ला आउन निम्तो दिन्छु।’ उनले त्यसरी बोलाए पनि। जब उनीहरु जुम्ला पुगे, तब बोली फेरियो, ’जुम्लामा फुटबलको विकास हुन सक्छ।’
उनको नेतृत्वमा जुम्लामा विद्यालय स्तरीय महिला तथा पुरुष भलिबल आयोजना भयो। त्यसबेला जुम्लामा फुटबलप्रति बढेको क्रेज देखेर काठमाडौंबाट आउनेहरु चकित बने।
यसरी काठमाडौंबाट जुम्ला आउनेमा एआइजी विज्ञानराज शर्मा पनि थिए। उनी आएको बेला विद्यालयका छात्राहरुका १२ वटा टिम देखेपछि आश्चर्य माने। पछि उनी काठमाडौं एन्फामा गएर भने, ‘जुम्लामा फुटबलको विकास हुने पक्का छ।’ त्यसले पनि माहोल निर्माणमा सहयोग पुर्यायो।
जुम्लामा फुटबल हुन सक्दैन भन्नेहरु नै सम्भव छ भनी लागे। यसले उनमा उत्साह थपिदियो। यतिको हाइटमा फुटसल हुँदैन भन्थे। तर जुम्लामा फुटसलसमेत चिलिरहेको छ। जुम्लाबाट रेफ्री र कोचको ट्रेनिङ गर्न काठमाडौं पठाएको उनले बताए।
’स्वर्गीय अधिराज कार्कीलाई प्रथम कोचको लागि काठमाडौं ट्रेनिङ गर्न पठाएका थियौं,’ उनले भने, ‘उहाँका व्यक्तिगत समस्याका कारण सफल हुन सकिएन। रेफ्री तयार भइसक्नु भएको छ।’
विभिन्न गतिविधिले जुम्लामा फुटबलसम्बन्धी प्राविधिक जनशक्ति पनि थपिएको छ। जिल्ला लिग, स्कुले छात्रछात्रा, बच्चा र आमालाई नै फुटबल नै खेलाएर अभिभावकलाई खेल क्षेत्रको महत्त्व बुझाउने लगायत महत्त्वपूर्ण गतिविधि भएका छन्।
‘जुम्लाका प्रत्येक पालिकामा फुटबल मैदान बन्दैछन्। तिनलाई राम्रो बनाउन सकिएमा क्षेत्रीय र राष्ट्रिय खेल खेल्ने दर्जनौं खेलाडी उत्पादन गर्न सकिन्छ,’ बुढथापाले भने, ‘ए डिभिजनका क्लबहरुले राम्रा खेलाडी हामीलाई दिनुस् भनेर भनिरहेका छन्। जुम्ला खेलाडीको उर्बर भूमि हो। यसको राम्रो भविष्य छ।’
दलीय व्यवस्थाले युवालाई राजनीतिक झोला मात्रै नबोकाएर खेल क्षेत्रमा लाग्न उत्प्रेरित गरिदिए उपयुक्त हुने उनको मत छ।
‘अरु जिल्लाका स्थानीय तहमा पाँचौँ मेयर कप भइसक्दा जुम्लामा एउटा पनि खेल हुन नसक्नु दुखद पक्ष हो,’ उनले भने, ‘तर जुम्लाका मिडियाले खेल क्षेत्रको विकासका लागि ठूलो भूमिका निर्वाह गरेका छन्।’
लेखबाहेक बुढथापा फुर्सदको समयमा स्वयंसेवा पनि गर्छन्। हरेक वर्ष तिर्थभक्त गर्न चाहने वृद्धाहरुलाई भारतका विभिन्न स्थानमा घुमाइदिने गाइड बन्छन्। महिना दिन बढी गरिने तिर्थयात्रामा वृद्धहरुलाई घुमाइदिँदा कुनै खालको शुल्क लिँदैनन्।
राज्यले अपमान गरेर निराश बनाइएका उनले पछिल्लो एक दशक फुटबलको विकासका लागि समय व्यतीत गरे। यही देखेर २४ नं. बाहिनी अड्डामा याम सापकोटा बाहिनीपति भएर आउँदा सम्मानपत्र दिए। दुर्गमको खेल क्षेत्र विकासमा आफ्नो सबै उर्जा खन्याइरहेका उनीसम्म राज्यको नजर पुग्न सकेको छैन।
तथापि जुम्लाको फुटबल विकासमा एक हस्ती बनेका बुढथापा निराश बनेका छैनन्। बरु अझ हौसिएका छन्। एन्फाको केन्द्रीय निर्वाचनमा पदाधिकारीको चुनाव लड्ने तयारी गरिरहेका उनी भन्छन्, ‘अब यो ज्यान जुम्लाको फुटबल विकासका लागि समर्पित छ।’