प्राध्यापक, पत्रकार तथा अध्येता जगत नेपालले बीपी कोइरालाको जीवनमा आधारित बृत्तचित्र ‘राजद्रोही राजनेता’ बजारमा ल्याउनु भएको छ।
अहिले आफूलाई बीपी कोइरालासँग जोड्न चाहने कांग्रेस, गैरकांग्रस सबै यो बृत्तचित्रको प्रशंसामा लागेका छन। खास गरेर, गिरिजाप्रसाद कोइरालाका बारेमा पुस्तक लेखेपछि उहाँको तारीफ हुन लागेको हो। यसमा कुनै सन्देह छैन, जगत नेपालको उत्साह तारिफयोग्य छ। बीपी अथवा गिरिजा कोइरालाका बारेमा कलम चलाउनु आवश्यक थियो। उहाँले कलम नचलाइ दिएको भए नेपाल प्रज्ञा प्रतिष्ठानले त्यो दुःख पक्कै उठाउने थिएन।
जगत नेपालले निर्माण गर्नु भएको बृत्तचित्र ‘राजद्रोही राजनेता’ मैले हेरेको छैन। किनभने, म जगत नेपालको बृत्तचित्रको नामसँग सहमत हुन सकिनँ। शब्दकोषमा राजद्रोहको परिभाषा वचन, लेख, व्यवहार आदिद्वारा राष्ट्रप्रति देखाइएको घृणा, अवहेलना, व्देष आदि, राष्ट्रप्रति अहित हुने नियतको काम भनिएकाे छ। राजद्रोह गर्नेलाई राजद्रोही भनिन्छ।
बीपीको आकार र उचाइ उहाँ स्वयंको जीवनभन्दा ब्यापक थियो। जगत नेपालजस्ता नयाँ पुस्ताका विद्वानले त्यो व्यापक व्यक्तित्वलाई शब्दको अर्थ नै नकेलाई किन र कसरी ‘राजद्रोही’ लेख्नु भयो ? यो आश्चर्य र चिन्ताको विषय हो। पछिल्लो समयमा नेपाली भाषाको ओज र गरिमा जसरी बिथोलिएको छ त्यो चिन्ताको विषय हो।
जगत नेपालले राजद्रोही शब्दको अर्थ नै नकेलाई हतारमा गल्ती गर्नु भएको छ। फेसबुकमा उहाँको तारिफमा प्रशंसाका शब्दहरुको वर्षा भइरहेकोछ। यो अस्वाभाविक होइन। तर, जगत नेपालले बीपीका नाममा प्रयोग गर्नु भएको राजद्रोही शब्द फिर्तालिनु नै श्रेयस्कर हुनेछ।