दहबन (राेल्पा)काे ढुङ्गामाटो, दौतरी र नयाँ वर्षकाे त्याे एकदिन सम्झँदा अहिले पनि सपना जस्तो लाग्छ। बाल्यकालको समय र त्याे रमाइलो कहानी। ठ्याक्कै वर्ष बिर्सेँ। याद छैन। तर, किस्सा ०५३–५४ साल तिरको हो। भर्खर घाम झ्यालबाट कोठाभित्र पसेको थियो। चराहरूले चिरबिर–चिरबिर थालिसकेका थिए, आँगनमा।
एकाबिहानै पल्लोघरबाट फुपूको आवाज गुञ्जियो, 'हेर त यी केटाकेटीहरू, पोहोर साल सुतेका अहिलेसम्म उठ्दैनन् त।'
फुपूको आवाजमा प्रेम थियो। मैले बुझिहालेँ। उनको आवाजले म ब्यूँझेँ। आफैसँग आफै जिस्किँदै सोचेँ, 'कहाँ पोहोर सुत्नु ? हिजो साँझ त सुतेको हो नि।'
अगेनामा वस्तुभाउलाई खोले पकाउँदै गरेकी मेरी आमालाई फुपूले गफ दिन थालिन्, 'हेर बुहारी! आज त नयाँ साल रे। आज मिठो भोजन खाइयो भने वर्षदिनसम्मै मिठोमिठो खान पाइन्छ रे।'
अबोध मेरी आमाले पनि थपिहालिन्, 'हो र आमाजू ? के खाने त ? सुक्या–मार्या तिउनभन्दा अरू छैन।'
फुपूले थपिन्, 'पर धुम्बास राजेश साहुजीले मासुजस्तै मीठो हुने डल्ला पर्या केजाति ल्याछन् रे। त्यही खाम न।'
दंग परेकी मेरी आमा झन् दंग। के रहेछ त आखिर मासुजस्तै मीठो त्यो डल्लो ? यो जिज्ञासा थियो।
आमाले पटुकामा बेरेर राखेको १० रूपैयाँ निकालिन्। र फुपूले पनि चोलीको खल्तिमा राखेको १० रूपैयाँ निकालिन्। २० रूपैयाँ दिएपछि म र फूपूकी छाेरी दिदी उहीँ धुम्बास राजेश साहुजीको पसलमा पुग्यौँ।
ती राजेश साहुजीका परिवार पूर्वका रहेछन्। व्यापारका लागि भर्खर हाम्रो गाउँ आएका रे। हाम्रो त्यो क्षेत्रमा ब्राह्मण समुदाय शून्य थियो। बल्लतल्ल एकजना भए पनि बाहुन पूर्वबाट ब्यापारका लागि स–परिवार यहाँ आएका थिए।
गाउँलेहरू पनि खुसी थिए, अब कम्तीमा पूजाआजा गर्न र मर्दापर्दा सजिलो हुने भयो भनेर।
ब्राह्मण जातिका ती व्यापारीले व्यापार मात्रै गरेनन्। विस्तारै व्यवसायीक रूपमा थुप्रै बंगुरपालनसमेत सुरू गरे। पछि गाउँलेहरूले विस्तारै जिस्काउन थाले, बिग्रेको बाहुन भनेर।
त्यसो त उनै पूर्वेली व्यापारीको सिको गरेर गाउँ अन्य मानिसहरूले पनि व्यवसायीक बंगुरपालन सुरू गरिसकेका थिए। आम्दानी पनि गतिलै हुँदो रहेछ।
हामी पसलमा जादा ती साहुजी भर्खर बंगुर फारमबाट निस्केर साबुन पानीले हात धोइरहेका थिए।
हामी मिठो डल्लो तरकारी खान पाईने लोभमा दौडेर हस्याङफस्याङ गर्दै पसल पुग्यौं। हामीलाई हतारिएर असिनपसिन भएको देखेर ती साहुजी कराए, 'कत्ति न अफिसको हाजिरि छुट्ला जस्तोगरि के को लागि दगुर्यौ यसरी ?'
हामीलाई उनको कुरा सुन्नभन्दा नी डल्लो तरकारी किन्नेमा हतार थियो। मसँगै गएकी दिदीले मलाई खुसुक्क चिमोटिन्। र भनिन्, 'त्यो डल्लोलाई के भन्छन्, तँ आफै किन् है।'
दिदीले यसो भनेपछि मलाई पर्याे फसाद। साहुजी तारन्तार सोध्न थाले, 'के लैजान्छौ ? किन बोल्दैनौ ?'
लाज लागिरहेको थियो। अफ्ठ्यारो महशुस भइरहेको थियो। तै पनि हिम्मत गरेर भने,'आमाले पठाकी हुन्, यहाँ मासुजस्तै मीठो हुने डल्लो तिहुन पाइन्छ रे। त्यही लिन आको।'
मेरो कुरा सुनेपछि ती साहुजी कसरी चुप बस्न सक्थे र ? पेट मिचीमिची हाँस्न थाले। हामी दिदी-बहिनी पनि लाज भुतुक्कै।
एकछिनमा साहुजीले पनि एउटा प्लास्टिकको पोको खोल्दै भने, 'कहिल्यै खाकोले पो खान्छ त ।'
हामी भने अचम्म मान्दै साहुजीको हातमा रहेको डल्लोलाई नियालिरहेका थियौँ।
यत्तिकैमा साहुजीले सोधे,'कति पैसाको हो लाने ?'
म र दिदीले हत्तपत्त एउटै स्वरमा भनिहाल्यौँ, 'दश रूपैयाँको।'
साहुजीले जिस्किदै फेरि सोधे,'यसलाई के भन्छन, तिमीहरूलाई थाहा छ ?'
हामीले सजिलै भन्यौँ, 'नाइ।'
हाम्रो अज्ञानतासँग साहुजीलाई सायद प्रेम भयो। उनले भने, 'अबदेखि नबिर्सनु, यसको नाम सोयाबीन हो।'
एकछिनमा हामी सोयाबीनको पोको बोकेर घर फर्कियाैँ। प्रायः रोटी वा ढिडो पाक्ने हाम्रो घरको भान्सामा त्यसदिन भात पाकेको रहेछ। सायद, नयाँ वर्षको पहिलो दिन भएर पनि होला।
दिदी पनि दौडेर आफ्नो घर लागिन्। मैले पनि मेरो हातको सोयाबीनको पोको आमालाई दिएँ।
रोचक त के भयो भने, सोयाबीन हातमा परे पनि त्यसलाई कसरी पकाउने ? कसैलाई थाहै थिएन। आमा र फुपू नराम्ररी हाँसे।
मलाई चाहिँ कतिबेला पाक्छ र खान पाइएला भन्ने सुर्ता मात्र थियो। त्यतिकैमा फुपूले एउटा उपाय निकालिन्। र भनिन्, 'हेर बुहारी, तिमी तेलमा पकाउ, म पानीमा दालजस्तै गरी पकाउछु। जसको मिठो हुन्छ, बाँडेर खाउला।'
आमा र फुपूले आफ्नो तरिकाले पकाउन थाल्नु भो। एकैछिनमा दुवैघरमा पाक्यो पनि। अनि हामी एकै ठाउँमा जुटेर सँगै खाने निर्णय गयौँ।
आमाले आलु मिसाएर पकाएको फ्राइडसोयाबीन र फुपूले दालजस्तै गरी लसुन र अदुवाले झानेकोसोयाबीन सँगै खायौँ। वास्तवमा दुई तरिकाले पकाएकोसोयाबीनको स्वाद आ-आफ्नै थियो।
एकछिनमा आमा र फुपूले छिमेकका काका-काकीहरूलाई पनि नयाँ तरकारी चखाउनुपर्छ भन्दै अलकति छुट्याइदिनु भो। हामी बाँड्न पनि गयौँ।
सोयाबीनको तरकारी खाएर नयाँ वर्षको सुरूवात गर्दा हामी असाध्यै खुशी थियौँ। हुन त यो, सामान्य विषय हो। तर, हाम्रो लागि यो विशेष क्षण थियो।
यसरी सुरूवात गरिएको नयाँ वर्ष मनाउने चलन भने अहिले लोप भइसक्यो। कहिकतै भेटिन्न। यदि भेटियो भने पनि त्यसलाई गरिबीको रूपरेखाले सम्बोधन गरिन्छ।
अचेल हरेक नयाँ वर्षमा म त्यही सोयाबीनको स्वादलाई सम्झन्छु। मेरी आमा र फुपूको हातलाई सम्झन्छु। त्यो भान्सालाई सम्झन्छु। अनि मुख्य त, त्यो क्षणलाई सम्झन्छु।
ठूलो सपनाको पछि दासी भएर लाग्नुभन्दा आफैसँग भएको खुशीको मालिक बनेर बाँच्न मन लाग्छ। यो नयाँ वर्षले हामी सबैलाई राम्रो र सकारात्मक बाटो हिँड्ने तरिका सिकाओस्।
एकता, साथ र प्रेमभन्दा अरू के नै ठूलो छ र ? फेरि यदि यी थोकहरू छैनन् भने हामीले बाँचेको जीवनको के अर्थ ?
अन्त्यमा, नयाँ वर्षको सबैलाई शुभकामना।