नेपालीलाई अर्थमन्त्री शर्माको आग्रहः डलर खाता खोलेर लगानी गर्नुहोस्

file photo
file photo

अर्थमन्त्री जनार्दन शर्माले संसारभर रहेका नेपालीलाई नेपाली बैंकमा डलर खाता खोल्न र लगानी गरी सहयोग गरिदिन आग्रह गरेका छन्।

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री शर्माले प्रवासी नेपालीहरुले डलर खाता खोल्दा  नेपालको अर्थतन्त्रलाई मद्दत पुग्ने बताए।

‘१ लाख एनआरएनले १० हजार डलरका दरले खाता खोलिदिनुस्, बैंकहरुमा तरलताको अभावमा मद्दत नै पुग्ला,’ अर्थमन्त्री शर्माले भने।

‘६।७ महिनाको वस्तु र सेवा किन्ने विदेशी मुद्रा छ। राष्ट्र बैंकले हिजो मात्रै प्रकाशित गरेको प्रतिवेदन अनुसार ९ अर्ब ५८ करोड डलर  छ,’ उनले भने, ‘पेट्रोलको मूल्य बृद्धि हुँदा लाखौं डलर बाहिर पठाउनु परेको छ।’

विदेशमा रहेका नेपालीलाई पनि फाइदा होस् भन्ने उदेश्यले डलर खाताका लागि नीतिगत प्रक्रिया पूरा गरेको उनले बताए।

‘लगानी गर्न पनि मद्दत पुग्ला भनेर यहाँहरुको हितमा होस् भनेर गरेका थियौं। त्यहाँ रहेको निक्रिय पूँजीलाई सक्रिय बनाउन पनि खोजेको हो। खाता खोल्ने विषय, खाता खोल्न झन्झट छ भन्नेहरुलाई  उत्तर हाम्रो नीति र निर्णयले दिइसकेका छौं’, उनले भने, ‘यी सबै झन्झट हटिसकेको छ अब तपाईंहरुले खाता खोल्नुहुन्छ कि हुन्न?’ मंत्री शर्माले प्रश्न गरे।

डलर खातामा भएको रकम  सहज रुपमा फिर्ता लिन मिल्ने बनाइसकेको उनले बताए। 

एनआरएनमा संगठितलाई मात्रै नभई नेपाली भन्ने कुनै पनि विवरण पेश गर्दा खाता खोल्न पाइने उनले बताए।

‘१० अर्बले मात्रै परियोजना बन्दै। ५० अर्ब पुर्याउनु होस् हामी पनि सरकारका तर्फबाट लगानी गर्छौं। नेपाल ऐन संशोधन गर्ने गरी तयारीमा छौं,’ मन्त्री शर्माले भने।

भोटिङ राइट बाहेक सबै अधिकार नेपाली सरह दिन लागिरहेको पनि उनले बताए।

नेपालमा आउने पर्यटकलाई फ्री भिसा दिनेबारे छलफल भइरहेको र त्यसले एनआरएनएलाई पनि सहज हुने उनले बताए। 

त्यसैगरी आइपिओको विषयमा निश्चित प्रतिशत छुट्याउने गरी नीति बनाउने योजना भइरहेको उनले जानकारी दिए।

गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष कुल आचार्यले डलर खाता खोल्ने विषय प्रवासी नेपालीहरुलाई नेपालसँग जोड्ने एउटा माध्यम भएको बताए।

उनले विदेशमा रहेका नेपालीहरुलाई विदेशी मुद्रामा खाता खोल्न नीति नियम परिवर्तन गरी सजिलो बनाइदिएकोमा सरकारलाई धन्यवाद समेत दिए। 

‘यो नेपालसँग जोड्ने कोशे  ढुंगा हो। यो हाम्रो लागि जन्म भूमिको गुण तिर्ने मौका पनि भएकाले सबैले डलरमा खाता खोलिदिनु होला,’ अध्यक्ष आचार्यले भने।

उनले गैरआवासीय नेपाली नागरिकताका लागि व्यवस्था गर्न मन्त्री शर्मालाई आग्रह गरे।

‘लगानीका विषयमा मन्त्रीज्यूहरुसँग छलफल भइरहेको छ। सबै सकारात्मक हुनुहुन्छ। हाम्रा समस्या धेरै छैनन्। छिटोभन्दा छिटो समाधान गरिदिनु हुनेछ भन्ने आशा छ,’ उनले भने।

संघका अध्यक्षहरु डा बद्री केसी तथा रबिना थापाले सम्बोधन गरेको उक्त अन्तरक्रिया कार्यक्रमको संचालन गरेका थिए। 
 

प्रकाशित मिति: : 2022-04-13 22:13:00

प्रतिकृया दिनुहोस्