जेएनयू होस्टेलमा मासु विवादः झडपमा दुई समूहका १६ जना घाइते

बिएल संवाददाता

नयाँ दिल्ली
ANI Photo
ANI Photo

भारतको जहवारलाल नेहरू युनिभर्सिटी (जेएनयू) मा दुई विद्यार्थी समूहबीच भएको झडपमा कम्तीमा १६ जना घाइते भएका छन्।

जवाहरलाल नेहरू विश्वविद्यालय प्रशासनले सोमबार विद्यार्थीहरूलाई क्याम्पसमा शान्ति र सद्भाव खलल पार्ने घटनाहरूमा संलग्न नहुन चेतावनी दिएको छ।

अखिल भारतीय विद्यार्थी परिषद् (एबीभीपी)का विद्यार्थीहरूले कावेरीको एउटा होस्टेलमा मांसाहारी खानाप्रति आपत्ति जनाएपछि आइतबार साँझ क्याम्पसमा झडप भएको थियो।

आइतबार होस्टल मेसमा मांसाहारी खाना पकाइएको विषयमा एबीभीपी सदस्यहरू कावेरी होस्टेलभित्र पसेर विद्यार्थीहरूलाई आक्रमण गरेको पीडित विद्यार्थी अख्तरिस्ट अन्सारीले बताइन्। झडपका क्रममा उनको टाउकोमा चोट लागेको छ। ‘कुखुरा आपूर्ति गर्ने मेस बिक्रेतालाई पनि उनीहरूले आक्रमण गरेका थिए’, अन्सारीले भनिन्।

आफूहरू होस्टेल मेसमा दिइने मांसाहारी खानाविरुद्धमा नरहेको एबीभीपीको जेएनयू शाखाका अध्यक्ष रोहित कुमारले बताएका छन्। ‘सबैलाई आफूले चाहेको खान स्वतन्त्र छ’, उनले भने।

जवाहरलाल नेहरू विश्वविद्यालय विद्यार्थी संघ (जेएनयूएसयू) ले नियोजित ढंगले षड्यन्त्र गरेको उनले आरोप लगाए। यसैबीच आक्रमणमा संलग्न व्यक्तिहरूविरुद्ध प्रहरीले एफआइआर दर्ता गरेको छ।

विश्वविद्यालयमा शान्ति कायम राख्न र फेरि कुनै अप्रिय घटना नहोस् भनेर सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ। ‘हामीले हाम्रा टोलीहरू क्याम्पस बाहिर तैनाथ गरेका छौं। विश्वविद्यालयले अनुरोध गरे  निश्चित रूपमा हाम्रा कर्मचारीहरू क्याम्पस भित्र तैनाथ गर्नेछौँ’, एक अधिकारीले भने। 

प्रकाशित मिति: : 2022-04-11 16:23:00

प्रतिकृया दिनुहोस्