असनको गल्लीभित्रको घर। टाउको ठोकिने भयले निहुरिँदै पस्नुपर्छ भित्र। काठको पुरानो सिंढी उक्लेर माथिल्लो कोठामा पुगेपछि देखिन्छन् एकसुरमा हार्मोनियम बनाइरहेका हरेराम शाह र सुनैनादेवी शाह। असन उनलाई निकै मनपर्छ। त्यतै बस्थे उस्ताज हुतराज शर्मा। कुनै समय बढी जमघट त्यतै हुन्थ्यो नारायण गोपालको पनि। गोपाल योञ्जनले कान्छो भाइ ठान्थे हरेरामलाई।
त्यो जमघट, त्यो बसाई। पिउने क्रममा पनि मस्ताना। हरेराम हार्मोनियमको ट्युनिङ मिलाउनमा मात्रै मस्त हुँदैन थिए। उनी गाँजा खाएर जीवनको ट्युनिङका बारेमा समेत मनन गर्थे। श्रीमती शाहका अनुसार गाँजा, रक्सी खाएको समय लुङ्गी पहिरेर बिलकुल मौन बनेर भगवान पुकार्थे उनी। उनले पिएर कसैलाई दुःख दिएनन्, चर्को बोलेनन्। मात्र गम भुलाउन पिए। मन बुझाउन पिए।
पिएपछि प्राय मठ-मन्दिर घुम्ने शाह दोश्रो पटकको लकडाउनमा एकाएक घर छोडेर केही दिनका लागि बेपत्ता भए। छोराहरूले खुब खोजे। तर, केही सीप लागेन। हिँडेरै मनकामना मन्दिर छेउको जङ्गलमा पुगेका शाह चार दिनसम्म एक्लै जङ्गलमा सुते। पछि आफैं घर फर्के। कसैसँग झगडा भएर, मन दुखेर, परिवारका सदस्यसँग बेखुस भएर हिँडेका थिएनन् उनी।
पिएपछि एकान्तमा आफ्नै जिन्दगीसँग वार्ता गर्न, क्षणिक रुपमै भएपनि आनन्द बटुल्न बेलाबखत यसरी घरपरिवार छोडेर हिँड्ने बानी नै हो उनको। ‘आफ्नो लागि केही गरिनँ। अरुको भन्दा राम्रो गाउँछु भन्ने भावना थियो। गाउन पाइनँ। त्यही कुराले सताउँछ कहिलेकाँही र हिँडिदिन्छु। ६ महिना भयो पिउन छोडेको। शायद अब कहिल्यै पिउँदिनँ,’ गम्भीर मुद्रामा सुनाए उनले।
काठमाडौंमा रत्नमान, फत्तेमान, केशरमान, कृष्णमान, गोविन्दमान, अष्ठमानलगायत थुप्रै थिए उस्ताजहरू। ती सबैका हार्मोनियम मर्मत गर्नेमा चिनिन्थे हरेराम। कुनै शल्यचिकित्सकले बिरामीको शरीरको चिरफार गरेझैं, अङ्ग प्रत्यारोपण गरेर बचाएझैं, हार्मोनियममा नयाँ जीवन भर्न तल्लीन रहन्छन् उनी। हरेराम हार्मोनियमका कुशल डाक्टर हुन्। जस्तोसुकै बिग्रिएको हार्मोनियम किन नहोस् उनको पसलमा पुगेपछि उनी ट्युनिङ मिलाएरै छोड्छन्।
यो उनको पुर्ख्याैली पेशा हो। सानै उमेरमा बुवा श्रीकृष्ण ठाका शाहको पछि लागेर सिकेका हुन् उनले। तीन कक्षासम्म पढेका शाहले पाएनन् त्योभन्दा अघि बढ्न। घरमा खानलाउन पुग्ने जग्गा जमिन थिएन। आर्थिक समस्याका कारण पढाइ मात्र छोडेनन्, घर छोडेर बुवासँगै निस्किए काममा। मजबुरी थियो बुवाको पछि लागेर काम गर्नुपर्ने।
२०३३ सालमा घर छोडेका उनले बुवासँगै चितवनकाे टाँडी हुँदै काठमाडौं पुगेर पसल सुरु गरे। उनले पसल गरेपछि न्युरोडको हार्मोनियम मर्मत पसल बन्द भयो। मर्मतको काम छोडेर नयाँ हार्मोनियम मात्रै बेच्न थाले उक्त पसलका साहुले। ती दिन सम्झिँदै उनी सुनाउँछन्, ‘भारतका घरानाझैं थिए काठमाडौंका केही परिवारहरू। भजनमण्डली थिए। सुन्दर उपत्यकामा साँझ बिहान गुञ्जायमान हुन्थ्यो सङ्गीतको धुन, भजनको लय। नरराज गुरुलगायत दुई/चार जना निकै चर्चित थिए। जसको घरमै जानु पर्थ्याे सङ्गीत सिक्न। ललित कला त थियो तर त्योप्रति त्यति लगाव थिएन।’
काठमाडौंमा बद्री उस्ताज, केदार उस्ताज, भगत सिंह जस्ता सङ्गीतका हस्तीहरूसँग भेट भयो। भगत सिंहले ठाउँठाउँमा लगिदिनु भयो। पछि फत्तेमानसँग भेट भयो। विस्तारै सबैसँग चिनजान हुँदै गयो उनको।
दुई वर्ष नरराज ढकाल र चार वर्ष कमल क्षेत्रीसँग सङ्गीत सिकेका शाहले दश महिना आग्राबाट आएका नयाँ गुरुसँग स्पेशल हार्मोनियमको क्लास लिए। उनी गीतसङ्गीततिर लागेपछि उनका बुवाले ‘यो पागल भयो। सङ्गीत सिक्न थाल्यो। यसका बालबच्चा कसले पाल्छ’ भन्दै उनलाई पसलबाट निकालिदिए। हरेरामले नै सुरु गरेको उक्त पसल उनका अरु भाइहरूले चलाउन थाले। बालबच्चा र परिवारलाई गाउँ पठाएर उनी भौँतारिन थाले।
२०४७ सालमा उनले रेडियो नेपालमा जागिर पाए। त्यतिबेला दुई/तीन वर्ष रेडियो नधाई गीत गाउन मुस्किल थियो। एकदिन त्यहाँ दुई/तीन जनासँग भनाभन हुन गयो शाहको। उनको इमानदार र स्वाभिमानी पनले बढाइदियो सनक। कसैको अनुहारै हेर्दिनँ भनेर जागिर छोडी उनी पुगे, पोखरा।उतै काम गर्न थाले।
पोखरा बस्न थालेको वर्षदिन नपुग्दै पठाइरहे अम्बर गुरुङले बारम्बार खबर, बोलाइरहे काठमाडौं। उनको क्षमता र सीप थाहा थियो गुरुङलाई। उसै पनि उनी निकै माया गर्थे हरेरामलाई। आखिरमा गुरुङको स्नेह, प्रेम र अभिभावकत्वले पगाल्यो उनलाई। पोखरामा उनका एकजना साथी बसको ड्राइभर थिए। उनैले राति दश बजे सरसामान गाडीमा राखेर काठमाडौं पुर्याए। अमर गुरुङलाई सम्झिँदै बताउँछन् उनी, ‘अमर सरको बारेमा खै कसरी भनूँ। उहाँजस्ता दुई/चार जना मात्र भइदिएको भए पनि देशमा धेरै परिवर्तन भैसक्थ्यो। सङ्गीत मात्र हैन, उहाँलाई चारैतिरको कुरा थाहा थियो।’
परिवार ल्याएर पुनः काठमाडौं पुगेका शाह स्टुडियो र कलेजतिर काम गर्न थाले। साथीभाइहरूको सहयोगमा पसल पनि सुरु गरे। मनमस्तिष्कमा डेरा जमाएका विगतका थुप्रै घटनाहरू छन्। उनलाई कैयौंले प्रश्न सोधेर बढी सम्झाइ दिन्छन् गुलाम अलिको हार्मोनियमको प्रसङ्ग। गुलाम अलि नेपाल आउँदा उतैबाट ट्युनिङ गराएर ल्याएका थिए आफूले बजाउने हार्मोनियम। होटल याक एण्ड यतिमा सांगीतिक कार्यक्रम थियो। हार्मोनियमको एउटा नोट खराब छ भनेर शाहलाई बोलाइयो। उनले उक्त हार्मोनियम हेर्दा सबै नोट बेसुरा भएको कुरा बताउँदा झर्किँदै भनेछन् गुलाम अलिले, ‘नही होना चाहिए।’ ‘नही बाबुजी आप देखिए,’ बिनम्रतापूर्वक बोलेछन् शाह।
जब गुलाम अलिले हार्मोनियमका की थिच्दै गहिरिएर सुन्दा थाहा पाए सबै नोट बेसुरा भएको कुरा। उनको पेशा र दक्षताको कदर गर्दै उनको कामबाट प्रभावित भएको कुरा लेखेर पठाए गुलाम अलिले। भित्तामा टाँसेर राखेका छन् गुलाम अलीले उनलाई सम्बोधन गरेर लेखेको उक्त चिठी।
यो समाज स्वाभिमानी मान्छेलाई घमण्डी भनिदिन्छ। यहाँ चाकडी, चाप्लुसी र कामचोरी बढी चल्छ।
हरेरामले नारायण गोपाल, भक्तराजलगायतका कतिपय स्वाभिमानी, मेहनती र इमानदार साधकसँग संगत गरे। २०४४ सालमा भुपि शेरचनले उनीसँग भनेका थिए, ‘काम गरेपछि मेहनत लिन सक्नुपर्छ।’ हरेरामले मेहनतको पैसा त लिए, तर जीवनमा कति कमाए भनेर कहिल्यै हिसाब गरेनन्। उनी बताउँछन्, ‘दिनमा सातवटा हार्मोनियम कम्पोज गरेँ। कसैको चित्त दुखाएर, कसैलाई तक्लिब दिएर १ रुपैयाँ पनि कमाएको छैन।जीवनमा कमाएको रकम गन्न थाल्यो, हिसाब गर्न थाल्यो भने त्यसले अर्कै रुप लिन्छ।’
उनले कमाई गरे छोराछोरीको पढाइका लागि। गाडी-बङ्ला जोड्ने, ऐशआरामको जीवन बिताउने उनको चाहना थिएन र छैन पनि। उनकी श्रीमती सुनैनादेवीका अनुसार उनी प्रायजसो भन्ने गर्थे, ‘वीपी कोइरालाका छोरा प्रधानमन्त्री बन्न सक्छन् भने मेरा छोरा किन डाक्टर हुन सक्दैनन्?’ छोराछोरीलाई डाक्टर बनाउने सोचले आफ्नो गायक बन्ने रहरलाई मारेर हार्मोनियम बनाउन थालेका उनका ३ वटै सन्तान (लब कुमार, अमित कुमार र सङ्गीता कुमारी ) डाक्टर छन्। जेठा छोरा लबले बिहे गरिसके, बुहारी पनि डाक्टर छिन्। डा. लबकुमार पनि राम्रो ट्युनिङ गर्छन्। श्री कृष्ण गुरुकुल सङ्गीत पाठशालामा तिलकसिंह पेलासँग २ वर्ष भोकल सिकेका लबको भोकल पनि उत्तिकै राम्रो छ।
हरेरामका दुईटा पसल छन्। बुवाआमालाई गाह्रो भयो भनेर छोराहरूले काम गर्ने मान्छे राखिदिएका छन्। कर्मलाई प्राथमिकता दिने हरेराम छोराहरूसँग साथीझैं व्यवहार गर्छन्। बुहारीलाई छोरीजस्तै ठान्छन्। कहिले छोरालाई सङ्गीत सिकाउने तिनै तिलक पेलाका गीत सुन्छन्। कहिले मधु क्षेत्री, गुलाम अलिलगायत पुराना गायक गायिकाका गीत सुन्छन्। अनि विगत सम्झिँदै ६० वर्षीया शाह भन्छन्, ‘बस्न घर छ। खान पुगेको छ। शिर झुकाएर हिँड्नु परेको छैन। हात थाप्नु परेको छैन। आखिर भोलि सबैले जानै पर्ने त हो।’
वर्षौँदेखि अरुका हार्मोनियमको ट्युनिङ मिलाउने हरेरामले सकेनन् आफ्नै आवाजको, अनि जिन्दगीको ट्युनिङ मिलाउन। उसो त जिन्दगीको असली ट्युनिङ मिलाउनु भनेकै परमात्मासँग मिलन हुनु हो ठान्छन् उनी। तर पनि राम्रो गायक बन्ने उनको धोको पुरा हुन सकेन। उनी सुनाउँछन्, ‘एक दशक त सङ्गीतका बारेमा सामान्यतः बुझ्नै लाग्यो। सङ्गीत नाप्नै नसकिने बेग्लै चिज रहेछ। मेरो औकात कहाँ हुनु परिभाषा दिने र नाप्न सक्ने। गाउने इच्छा थियो, गाएको पनि हो। राम्रै गुरुसँग सिकेँ। आत्माले गवाइ दिएन। राम्रो छ भन्ने लागेन। त्यसैमा छोराछोरी पढाउन दुई पैसा कमाउनमै समय ओरालो लाग्यो।’