विराटनगर महानगरपालिकाको मेयरमा ‘हेबिवेट’ नेता उठ्ने, काे–काे छन् आकांक्षी

Breaknlinks
Breaknlinks

पूर्वी क्षेत्रको राजनीतिमा विराटनगरको विशेष महत्व छ। एकताका नेपालको राजनीतिक राजधानीको संज्ञा पाएकाे विराटनगर अहिले प्रदेश नं– १ को स्थायी राजधानी हो। चौंध जिल्ला समेटिएका यस प्रदेशको राजधानी विराटनगरसँग मधेस प्रदेश अन्तर्गत पर्ने सप्तरी र सिरहा जिल्लाका बासिन्दाहरुले पनि प्रत्यक्ष सम्बन्ध राख्छन्।

विराटनगर महानगरपालिकामा बर्चस्व पाउने दलको प्रभाव यस प्रदेशका साथै मधेस प्रदेशमा समेत पर्ने भएकाले मेयरको कुर्सी हत्याउनका लागि दलहरु सशक्त र लोकप्रिय व्यक्तिलाई चुनावी प्रतिस्पर्धामा उतार्न खोजेका छन्।

२०७४ सालको निर्वाचनमा विराटनगर महानगरमा नेपाली काँग्रेसको पकड थियो। सो पार्टीको मेयर र उपमेयरका साथै १९ वटा वडामध्ये आठ वटा वडाको अध्यक्षमा जितेको थियो। तत्कालीन सङ्घीय समाजवादी फोरम (हालको जसपा) ले ६, एमालेले ३, माओवादी र स्वतन्त्रले १–१ वडामा जित हात पारेको थियो।

काँग्रेसको राम्रो पकड मानिएको विराटनगरमा मेयरको उम्मेदवार बन्नका लागि कसैले सार्वजनिक रुपमा आफ्नो दावी प्रस्तुत नगरे पनि नेपाली काँग्रेसको केन्द्रीय सदस्यद्वय डा. डिला सङ्ग्रोला, अमृत अर्याल, मोरङ काँग्रेसका जिल्ला उपसभापति नागेश कोइरालाको नाम चर्चामा छन्।

उता, वर्तमान मेयर भीम पराजुलीले आफूलाई नै उम्मेद्वार बनाउनका लागि लविङ गरिरहेका छन्। उनको ५ वर्षको कार्यकाल त्यति सन्तोषजनक नरहेको भनेर सर्वसाधारणबीच टिकाटिप्पनी भइरहेकाले काँग्रेसले दोहराएर टिकट दिने आँट गर्ने सम्भावना न्यून छ।

यसैबीच, यस महानगरको मेयर पदका लागि नेकपा(एमाले) नगर समितिले पाँच जनाको नाम सिफारिस गरेको छ। महानगर समितिका अध्यक्ष सागर थापाका साथै पार्टीका केन्द्रीय सदस्य रामलाल साह, जिल्ला समितिका उपाध्यक्ष बाबुराम कार्की र पार्टीका प्रदेश सदस्यद्वय पर्शुराम बस्नेत र महेश भट्टराईको नाम सिफारिस भएको छ। त्यस्तै, उपमेयरमा विमला घिमिरे, शिल्पा कार्की र अञ्जु उपाध्यायको सिफारिस गरी माथिल्लो समितिमा पठाउने निर्णय गरेको छ।

एमालेले एक सातादेखि पार्टीका पोलिटब्यूरो सदस्य एवम् पूर्वमन्त्री लालबावु पण्डितलाई चुनावी प्रचारप्रसारमा उतारेका छन्। उहाँ सिटी सफारीबाट चुनावी प्रचारप्रसारको अभियानको शुभारम्भ गर्नुभएको हो। पण्डित स्वच्छ छविको नेता हुन। उहाँ मधेसी समुदायको भएकाले सो  समुदायको मतलाई तान्नमा सफल हुनेछ भन्ने विश्वासका पार्टीले पण्डितमार्फत् चुनावी प्रचारप्रसारको शुभारम्भ गरेको सहज रुपले अनुमान गर्न सकिन्छ।

२०७४ सालको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)ले उम्मेदवारको रुपमा भोगेन्द्र यादवलाई अघि सारेको थियो। तर, सङ्घीय समाजवादी पार्टीसँग पार्टीले तालमेल गरेपछि भोगेन्द्र यादवलाई छोड्नुपरेको थियो। यसपल्ट, उहाँको प्रवल दावेदारी छ। यसका साथै नवीन पौंडेल र नमिता न्योपानेको पनि चर्चा छन्।

काँग्रेसजस्तै जनता समाजवादी पार्टीमा मेयरको टिकटका लागि आकाङ्क्षीको सङ्ख्या अत्यधिक छ। गत, निर्वाचनमा विराटनगर महानगरपालिको दक्षिणी क्षेत्रको अधिकांस मत बदर भएपछि तत्कालीन सङ्घीय समाजवादी पार्टीका उम्मेदवार उमेश यादव पराजित भएको थियो। उनी तेस्रो स्थानमा चित बुझाएका थिए।

यसपल्ट, उनको दावेदारीका साथै उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले दावी पेश गरेको छ। उनी पार्टीको नगर समितिका अध्यक्ष पनि हुन्। यसका साथै, पूर्व उपमेयर भुराज राई र जसपाका केन्द्रीय सदस्य तेजलाल कर्णको पनि चर्चा छन्। 

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पार्टीबाट सबैभन्दा बढी चर्चा सो पार्टीका पोलिटब्यूरो सदस्य महेश रेग्मीको छ।

अर्कोतर्फ, सत्ता साझेदार दलहरुमा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले काँग्रेससँग तालमेल गरेर चुनावमा सहभागी हुन खोजेका छन् भने काँग्रेसले विराटनगर महानगरपालिकामा आफ्नै बलबुत्तामा चुनावमा होमिने पक्षमा देखिन्छ।

काँग्रेससँग गठबन्धनको सम्भावना क्षिण हुन थालेपछि जनता समाजवादी पार्टी, माओवादी केन्द्र र एकीकृत समाजवादीबीच तालमेलको लागि आन्तरिक रुपमा छलफल भइरहेको छ।

जनता समाजवादी पार्टीले मेयर पद न छोड्ने पक्षमा देखिन्छ। यदि माओवादी केन्द्रले जसपासँग तालमेल गरेमा उपमेयर पद पाउने सम्भावना छ। नेकपा (एमाले) र राप्रपाबीच तालमेल हुने प्रवल सम्भावना बन्दै गएको देखिन्छ।

मतदाताको सङ्ख्या

निर्वाचन आयोगले पछिल्लो पटक सार्वजनिक गरेको तथ्याङ्कअनुसार विराटनगर महानगरपालिकामा २०७४ सालको तुलनामा १९ हजार ३८१ जना नयाँ मतदाता थपिँएको छ। २०७४ सालमा एक लाख १३ हजार ७६१ मतदाता थियो भने अहिले एक लाख ३३ हजार १४२ मतदाता छन्।

‘अस्तु’!

प्रकाशित मिति: : 2022-04-11 20:15:00

प्रतिकृया दिनुहोस्