‘महिला नेतृत्वलाई स्वीकार्न नसक्ने पुरुषवादी सोचका कारण चाहेका काम पूरा भएनन्’

Breaknlinks
Breaknlinks

वि.सं.२०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा आफ्नो क्षेत्रको विकास गर्न लागि नागरिकले आफूलाई मन पर्ने उम्मेदवारलाई जनप्रतिनिधिका रुपमा चुनेर पठाए। ‘गाउँ–गाउँमा सिंहदरबार’ आएको भन्दै जनप्रतिनिधिबाट ठूलो अपेक्षा गरेका थिए, जनताले। तर, अपेक्षा अनुरुप काम हुन सकेन। जनताले गाउँको विकास नहुनु जनप्रनितिधिको असक्षमता भएको आरोप लगाएका छन्। यस्ता गुनासा पर्साको पोखरिया नगरपालिकाका जनप्रतिनिधिहरुले पनि सुन्नु पर्‍यो।

पर्साको दोस्रो सदरमुकामका रुपमा परिचित यस नगरपालिकामा पछिल्ला ५ वर्षको अवधिमा धेरै विकास निर्माणका कामहरु भए। विभिन्न चुनौतिबीच यहाँका जनप्रतिनिधिहरुले केही नौला कामहरुको शुभारम्भ गरे। यहाँका जनप्रतिनिधिको ५ वर्षे कार्यकाल कस्तो रह्यो ? के–के काम सम्पन्न भए ? सोही विषयमा जनता समाजवादी पार्टी (जसपा)बाट निर्वाचित पोखरिया नगरपालिकाकी उपमेयर सलमा खातुनसँग बिएल नेपाली सेवाले गरेको कुराकानीको सम्पादीत अंश प्रस्तुत छ:-


हामीले जनप्रतिनिधिका रुपमा बितेका ५ वर्षमा धेरै काम गरियो। उपलब्ध स्रोत साधनको प्रयोगबाट धेरै उचित योजना बनाएर काम गर्न पाइयो। तर, कोरोना महामारीले गर्दा सोचेको जस्तो काम गर्न सकिएन कि जस्तो लागेको छ। ती अधुरा कामहरुलाई फेरि जितेमा पूर्णता दिइने थियो।

जनताले त काम गर्नको लागि ठाउँ दिए। तर, हामी बिच रहेका सहकर्मी जनप्रतिनिधिहरुले संवैधानिक व्यवस्थालाई नमानेर आफ्नो जिम्मेवारीबाट पन्छिदै गए, जसले गर्दा विकासका काम गर्न कठिनाइ उत्पन्न हुँदै गयो। नगरपालिकाको काममा एक अर्कालाई सहयोग गर्ने वातावारण भएन जसमा पनि पार्टीगत सोच हावी भयो।

महिला नेतृत्वलाई स्वीकार्न नसक्ने पुरुषवादी सोच र पार्टीगत मत भिन्नताका कारण हाम्रा आवाजलाई बारम्बार दबाउने प्रयास भए। मेरो मात्रै नभएर मधेस प्रदेशका धेरै महिला जनप्रतिनिधिहरुको अवस्था पनि यस्तै छ। तथापि, हामीले भने सबै जाति र वर्गका मानिसहरुलाई समेटेर अगाडि बढ्ने प्रयास गरियो।

उप–प्रमुखको रुपमा मैले सुशासनका कुराहरुदेखि लिएर न्यायीक समितिलाई र स्थानीय नागरिकबीच सेवा प्रवाहका लागि आफ्नो शतप्रतिशत दिएँ, कर्मचारी अभाव र असहयोगको वातावरणमा पनि आफ्ना जिम्मेवारी पूरा गर्ने प्रयास गरियो।

अनुगमनको क्रममा जहाँ गलत देखिथ्यो त्यहाँ आवाज उठाउने काम हामीबाट भयो। गलत कुराको रिपोर्टिङ्ग गर्दा नगर प्रमुख र कार्यपालीकाले ध्यान नदिएको अवस्था थिए। तर, गलत काम गरेको ठाउँमा आफूले हस्ताक्षर नगरे पनि रकम भुक्तानी गरिदिने जस्ता गलत कार्य भए। कतिपय मुद्दाहरु त अख्तियारमा पनि गए तर उताबाट पनि कुनै कारबाही नभएको अवस्था छ। आफूले कहिल्यै त्यस्ता गलत कार्यमा सम्झौता गरिनँ, न्याय सम्पादनमा अपाङ्गहरुको सेवा सुविधामा कहिल्यै विभेद गरिनँ साथै सामाजिक संघ संस्थाहरुसँगको महत्वपूर्ण कामको जिम्मेवारी पनि नगर बासीको चाहना अनुसार नै निर्वाह गरेँ।

विद्यालयमा बालबालिकाहरुका लागि स्थानीय भाषा (भोजपुरी)को पाठ्यपुस्तक राख्ने मेरो सपना भने अधुरै रह्यो। तर, विभिन्न सञ्चार माध्यम अथवा नगरपालिकाबाट सूचना प्रवाहका लागि भोजपुरी भाषा नै प्रयोग गरियो। यस ५ वर्षको अवधिमा युवालाई रोजगारी, शिक्षा र स्वास्थ्यमा समुदायका व्यक्तिहरुलाई जोडेर अगाडि बढियो।

यहाँका सबै व्यक्तिलाई खुसी बनाउन सकिने अवस्था भने रहेन। जति काम गरेपनि केही नकारात्मक प्रतिक्रिया आए। तर, गाउँका कतिपय मानिसहरु पहिले पालिकामा आएर बोल्न डराउथे तर अब सहजै समस्या सुनाउने भएका छन्। त्यसैले पनि आफ्नो कामप्रति म सन्तुष्ट छु।

दलगत एजेण्डालाई छाडेर एकमत भएर काम गरेको भए पोखरियालाई स्मार्ट सिटीको स्थापना गर्न सकिन्थ्यो तर आन्तरिक विवादले त्यस्ता काम हुन सकेनन्। स्थानीय सरकारको कुरा गर्ने हो भने मेयर र उपमेयरको विवादको कुरा नौलो होइन। निर्वाचनको सुरुवातदेखि नै यस्ता विवादास्पद कुराले मिडियाको ध्यानार्कषण गराइरह्यो। कतिपय ठाउँमा कुटपिट गालीगलौजदेखि हातपात पनि भए।

कुटपिट गरेर तालाबन्दी गरेरै समस्या समाधान हुन्छ भन्ने छैन। पालिकामा कतिपय कुरा गलत हुँदा मैले जहिल्यै पनि विज्ञप्ति मार्फत विरोध गरेँ, सञ्चार माध्यमको सहयोगमा आवज उठाएँ। कार्यपालिका बैठकमा एक्लै भएर पनि आन्तरिक रुपमा मैले निरन्तर आवाज उठाइरहेँ।

काम गर्दै गर्दा धेरै जोखिमहरु आएका थिए। तर, म आफै पत्रकारिता गरेर आएकी हुनाले यहाँको परिवेश बुझ्न त्यस्तो कठिन भएन। तर, कतिपय अवस्थमा भने राजनीति नै छाडेर अन्य पेशामा लायौँ कि भन्ने सोच नआएको भने होइन्। तर, हरेक कठिनाइमा मनोबल बलियो बनाएर अगाडि बढेँ।

सञ्चार माध्यममा हुँदा हामी आफूलाई पावरफुल सम्झिन्छौँ तर अचानक राजनीति जस्तो नयाँ क्षेत्रमा प्रवेश गर्दा खुलेर बोल्न सक्ने अवस्था हुँदैन। राजनीतिमा जसभन्दा पनि अपजस बढी सुन्नुपर्ने अवस्था हुन्छ। तर, कुनै खोला फोहोर छ भन्दैमा छोडेर जानुभन्दा त्यसलाई स्वच्छ पार्नु हाम्रो कर्तव्य हो।

त्यसैले अहिले पनि यहाँ धेरै काम गर्न बाँकी छन्। तर, आफ्नो नगरको विकास कसरी गर्न सकिन्छ भन्ने राम्रो अनुभव हामीले बटुलेका छौँ। त्यसैले आउँदो चुनावमा पार्टीले टिकट दियो भने मेरो उम्मेदवारी रहन्छ। तर, हाल केही बोल्ने अवस्था भने छैन। पार्टीले विश्वास गरेको खण्डमा पुनः जनप्रतिनिधि भएर जनताको सेवा गर्न तयार छु।

प्रकाशित मिति: : 2022-04-11 20:25:00

प्रतिकृया दिनुहोस्