जस्ताकाे टहरामा बसेर ‘गाउँमा सिंहदरबार’ ल्याउने गाउँपालिका अध्यक्ष (भिडियाेसहित)

नेपाल संघीय संरचनामा जानुपूर्व अर्थात् वि.सं. २०७४ सालमा स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित हुनअघि रुकुम (पूर्व)का अधिकांश स्थानहरू विकास र समृद्धिका हिसाबले निक्कै पछाडि थिए।

देशकाे मुहार फेर्छाैँ भन्दै ज्यानकाे बाजी राखेर १० वर्षे जनयुद्धमा हाेमिएकाहरूले समेत समृद्धि के हाे भन्ने महसुस गर्न पाएका थिएनन्। यहाँका मानिसले शिक्षा, स्वास्थ्य, यातायात, सञ्चारलगायतका सामान्य सेवा पाउनकाे लागि पनि धेरै संघर्ष गर्नुपर्थ्याे। मात्रै सुनेका थिए, ‘काठमाडाैँमा सिंहदरबार छ, जुन सबै कुरामा सम्पन्न र शक्तिशाली छ।’

काठमाडाैँकाे सिंहदरबार गाउँ–गाउँमा कहिले आउला ? समृद्ध नेपालकाे परिकल्पना गरेर त्यत्राे जनयुद्ध लडेकाहरूले यति साेच्नु ठूलाे कुरा थिएन। तर, साेच्दैमा सिंहदरबार कहाँ गाउँमा आउँथ्याे र!

तर, अहिले यहाँकाे अवस्था फेरिएकाे छ। गाउँ विकासकाे पथमा अगाडि लम्किँदै छ। साेही मार्गमा छ, भूमे गाउँपालिका।

०७४ मा सम्पन्न स्थानीय तह निर्वाचनमार्फत् गाउँपालिका अध्यक्षका रूपमा रामसुर बुढामगर (बिरता) अत्यधिक बहुमतले विजयी भए। त्यसपछि याे गाउँपालिका पनि धेरै कुरामा विजय भयाे।

गाउँमा स्वास्थ्य चाैकीहरूकाे स्तरउन्नति भए, राज्यस्तरका सडकमार्गहरू जाेडिए। विद्यालयहरूकाे गुणस्तरमा सकारात्मक परिवर्तन आयाे। गाउँलेहरूकाे जीवनस्तर फेरियाे। कृषिमा लागनी थपियाे, सञ्चार र बिजुलीकाे तार सबैकाे घरमा पुग्याे। त्यसैले त भूमे गाउँपालिका देशका ७ सय ५३ स्थानीय तहमध्ये कार्यसम्पादनमा उत्कृष्ट १० र लुम्बिनी प्रदेशका १ सय ९ मध्ये तेस्राे स्थानमा पर्न सफल भयाे।

देशभरका जनप्रतिनिधिहरूले जनताकाे अपेक्षाअनुसार काम गर्न नसकेकाे भन्दै चाैतर्फी आलाेचना भइरहेका बेला भूमे गाउँपालिकामा यति धेरै विकासका कार्यहरू हुनु सामान्य कुरा हाेइन। जसकाे नेतृत्व गरिरहेका थिए, रामसुर बुढामगरले।

१० वर्षे जनयुद्धमा पार्टीका विभिन्न तह (मिलिशिया, जनमुक्ति सेना कमाण्डर हुँदै कमिसारसम्म) मा रहेर काम गरी इमान्दर नेताको छवि बनाएका नेता बुढामगरले प्राप्त बजेट उचित ढङ्गले प्रयाेग गर्दा यहाँ यतिधेरै उपलब्धि भएका हुन्। त्यसाे त याे उपलब्धि हासिल गर्न उनी एक्लैबाट सम्भव हुने कुरै भएन, उनीसहित विभिन्न वडामा विजयी जनप्रतिनिधिहरूले उनलाई मुख्य रूपमा सहयाेग गरे।

०७४ काे स्थानीय तह निर्वाचनमा यस गाउँपालिकाकाे अध्यक्ष र उपाध्यक्ष पदसहित ९ वटामध्ये ८ वटा वडामा नेकपा (माओवादी केन्द्र) ले जितेकाे थियाे। त्यसैले पनि कार्यसम्पादनमा सहजता भएकाे धेरैकाे बुझाइ छ।

०००

बाग्लुङ हुँदै मध्यपहाडी लोकमार्ग र राेल्पाकाे थबाङ हुँदै जोडिएको सहिदमार्गले यस गाउँपालिकालाई सडक सञ्जालमा जाेडेकाे छ। यी दुई राष्ट्रिय सडक गाउँपालिकाकाे लागि बरदान सावित भएकाे जनप्रतिनिधिहरू बताउँछन्। यिनै दुई महत्वपूर्ण सडकलाई केन्द्र बनाएर यस गाउँपालिकाले रिङ रोड र लिङ्क (गाउँ–गाउँलाई जाेड्ने बाटाे) रोडको अवधारणा ल्याएर गाउँपालिकाका अधिकांश गाउँहरु ग्रामीण सडकले जोडेका छन्। त्यस्तै बिजुली, पानी र सञ्चार अधिकांश गाउँ बस्ती जोडिएको छ।

मारिङ कृषि अनुसन्धान केन्द्रमा तरकारी उमार्नेदेखि लिएर नयाँ विउविजहरु उत्पादन गर्ने कामसमेत यहाँ भइरहेकाे छ। त्यसैगरी शिक्षा, स्वास्थ्य क्षेत्रमा पनि गाउँपालिकाको पहल र विकासमा उल्लेख्य काम भएकाे स्थानीयहरू बताउँछन्।

गाउँपालिकामा आधारभूत शिक्षा, कृषि, सडक, बिजुली, पानी हरेक गाउँमा पुगेको छ। अब युवाहरुलाई उचित तालिम र स्वरोजगार बनाउने लक्ष्यतिर गाउँपालिका लम्किएकाे गाउँपालिका अध्यक्ष बुढामगरले बताए।

संघीय संरचनाअनुसार साविकका गा.वि.स का काँक्री, महत, चुनबाङ, मोराबाङ, काँडा र रुकुमकोट–४ वडा मिलेर बनेको भूमे गाउँपालिकामा संघीयताका कार्यान्वयनसँगै विकास निर्माणका कार्यहरूले तीव्रता पाएकाे अध्यक्ष बुढामगर बताउँछन्।

प्राकृतिक सम्पदा, मगर संस्कृति, बहुमूल्य जडीबुटी र ग्रामीण जीवनशैलीले भूमे विशिष्ट गाउँपालिका बनेको छ। जहाँ ‘युद्ध पर्यटन’ को अभ्याससमेत भइरहेको छ। जनमुक्ति सेनाको तालिमस्थल, बंकर, युद्ध स्मारक, जनवादी स्कुललगायत सम्पदा संरक्षण अभियान जारी छ। मध्यपहाडी लोकमार्ग र सहिदमार्गले छिचोलेको भूमे समृद्धिको यात्रामा अगाडि बढिरहेकाे छ।

भौगोलिक विकटताका कारण विकास निर्माणका कार्यहरू सम्पन्न गर्न केही ढिलाइ भएपनि विगतामा भन्दा गाउँपालिकामा धेरै पूर्वाधार निर्माण भएको बुढामगरले बताए।

०००

स्थानीय तहकाे निर्वाचन भएको ५ वर्ष पुग्न लागिसक्दा पनि अधिकांश स्थानीय तहहरूले महङ्गाे भाडा तिरेर कार्यलय सञ्चालन गरिरहेका छन्। तर, भूमे गाउँपालिकाले भने गाउँपालिका केन्द्र रहेको बगरलाई सिंहदरबारमा परिणत गरेका छ। स्थानीय स्राेत साधन र किफायती मूल्यमा गाउँपालिकाको सुन्दर भवन बनेकाे छ। भवनमा जनप्रतिनिधिहरु र कार्यालय प्रमुखको कक्षसँगै सभाहल छ। त्यस्तै अन्य भवनमा विभिन्न विभागहरुको कार्यालयसहित कर्मचारीको आवास कक्ष छन्।

मध्यभागमा बगैंचासहित ठूलो स्क्रिनमा विभिन्न सूचनामुलक श्रव्य/दृश्य चलिरहन्छ। जसले सेवाग्राहीलाई सहजता प्रदान मात्रै गरेकाे छैन, सचेतसमेत बनाएकाे छ। मध्यपहाडी सडक हुँदै यात्रा गर्ने जो कोहीको आँखा त्यहाँ नपुग्ने कुरै भएन। केहीले फाेटाेसमेत खिचेर सम्झनाका तरेलीमा सजाउँछन्।

‘सुरुका दिनमा हामी खुला आकासमुनि कार्यालय सञ्चालन गर्‍यौँ। गाउँपालिकाको केन्द्रको अन्यौलता, कर्मचारीको अभाव, स्थानीय कानुनको झमेला थिए,’ अध्यक्ष बुढामगरले भने, ‘अहिले भने हामीले भवन पनि बनायाैँ, जसले काम गर्न धेरै सजिलाे भएकाे छ।’

०००

अहिले अनेकाैँ चुनाैती र अभावका बाबजुद पनि गाउँपालिकाे मुहार फेर्नमा अध्यक्ष बुढामगर तल्लीन छन्। गाउँ–गाउँमा पुगेर जनताकाे गुनासाहरू सुनेर साेहीअनुसार काम गर्छन्। त्यसैले त उनले गाउँलेहरूकाे जीवनस्तर फेरिदिए, गाउँपालिकाकाे आफ्नै भवन ठढ्याउन सफल भए। तर, उनै अध्यक्ष बुढामगर भने अहिले पनि जस्तापाता (टिन) काे टहरामा बस्दै आएका छन्।

याे सुन्दा धेरैलाई अचम्म लाग्न सक्छ, ‘गाउँपालिका अध्यक्ष टहरामा बस्छन्?’ जिज्ञासा उत्पन्न हुनु स्वभाविकै हाे। हाे, उनी अहिले पनि जस्ताकै टहरामा परिवारसँग बस्दै आएका छन्। त्यसैले उनलाई धेरैले भन्ने गर्छन्, ‘आफू टहरामा बसेर गाउँ–गाउँमा सिंहदरबार ल्याउने गाउँपालिका अध्यक्ष।’

‘हामीलाई जनताले भाेट गाउँकाे विकास गर्न दिएका हुन् हाम्राे जिम्मेवारी गाउँलाई समृद्ध बनाउने हाे,’ उनी भन्छन्,‘गाउँ राम्राे भए हामी त यसै राम्राे भइन्छ नि।’

०००

पहिलो २ वर्ष सिक्न र संरचना बनाउनमै बित्याे। त्यसपछिका २ वर्ष कोरोना महामारीका कारण याेजना तथा कार्यक्रम कार्यान्वयनमा समस्या हुँदा साेचेअनुसार काम गर्न नसकिएकाे बुढामगर बताउँछन्। त्यसैले अर्काे निर्वाचनपछि गाउँकाे नेतृत्व सम्हाल्न पाएकाे खण्डमा ती अधुरा काम र भिजनहरू पूरा गर्ने लक्ष्य रहेकाे उनी बताउँछन्।

तथापि, दाेस्राे पटक जनप्रतिनिधि हुन पदकाे लाेभ नभएकाे, बरू हाल सिकेका अनुभवबाट थप काम गर्ने याेजना रहेका उनकाे भनाइ छ।

‘जनताले चाहेमा र पार्टीले विश्वास गरेकाे खण्डमा पुन: यहाँकाे बागडाेर सम्हालन र जनताकाे सेवा गर्न तयार छु,’ उनले भने।

प्रकाशित मिति: : 2022-04-10 19:54:00

प्रतिकृया दिनुहोस्

    Great work adhyaksha jyu

    • 2 बर्ष अगाडि
    • Arjun budha magar