देशको अर्थतन्त्र गलत व्यक्तिको हातमा गयो : पूर्वअर्थमन्त्री खतिवडा

पूर्वअर्थमन्त्री तथा एमाले नेता युवराज खतिवडाले देशको अर्थतन्त्र गलत व्यक्तिको हातमा पुगेको आरोप लगाएका छन्।

गलत व्यक्तिको हातमा जाँदा देशको अर्थतन्त्र इतिहासकै गम्भीर अवस्थामा पुगेको उनको आरोप छ।

‘देश गलत व्यक्ति र गलत प्रवृतिको हातमा पुगेको छ। अहिले अर्थमन्त्रालयको जिम्मेवारी सम्हालेका अर्थमन्त्रीले भने भूमाफिया, भ्रष्टाचारीले देश चलाइरहेका छन्। अर्थमन्त्री अफवाह मात्र फैलाउँदै हिँडिरहेका छन्,’ खतिवडाले भने।

मुलुकमा व्यापार घाटा निकै बढेको उनको भनाइ छ। अहिले आर्थिक वृद्धिभन्दा पनि धारासायी हुने चिन्ता भइरहेको उनको भनाइ छ। ‘आठ महिनामा आठ खर्ब आयात भइसकेको छ। अब र्षभरिमा २२ खर्बको आयात हुनेछ। दुई खर्ब निर्यात गर्दा पनि २० खर्ब व्यापार घाटा हुनेछ,’ खतिवडाले भने।

वर्तमान सरकार संकट उन्मुख अर्थतन्त्र बचाउनेभन्दा पनि गठबन्धन जोगाउने काममा व्यस्त रहेको उनको भनाइ छ। अहिलेका अर्थमन्त्री अर्थतन्त्र जागाउनेभन्दा पनि आफ्नो नालायकीपन प्रस्तुत गर्नतिर लागिरहेको उनको भनाइ छ। ‘अर्थमन्त्री फेर्नुपर्छ भन्ने हल्ला चलिरहेका बेला आफ्नो कमजोरी सार्वजनिक गर्ने गभर्नरलाई निशाना बनाए,’ खतिवडाले भने।

प्रकाशित मिति: : 2022-04-10 14:44:00

प्रतिकृया दिनुहोस्