जुम्ला रारा अल्ट्रा म्याराथन : दुर्ग बुढा र शारदा भण्डारीले हात पारे उपाधि

बिएल संवाददाता

महेश नेपाली

जुम्ला रारा अल्ट्रा म्याराथनको उपाधि दुर्गबहादुर बुढा र शारदा भण्डारीले चुमेका छन्। पुरुषतर्फ बुढा र महिलातर्फ भण्डारीले जुम्ला रारा अल्ट्रा म्याराथनको उपाधि हात पार्न सफल भएका हुन्।

पुरुषतर्फ बुढाले जिराे प्वाइन्ट जुम्ला सदरमुकाम खलंगादेखि रारातालसम्मको ४९ किलोमिटर दुरी ५ घण्टा, २ मिनेट २० सेकेण्डमा पार गरेका थिए। उनले तीनवटै जुम्ला रारा म्याराथनका स्वर्ण जिति ह्याट्रिक गरेका हुन्।

यसैगरी दलबहादुर कुँवरले ५ घण्टा ५ मिनेट ४९ सेकेण्डमा दुरी पार गर्दै द्वितीय स्थान हासिल गरेका छन्।

त्यस्तै वेदबहादुर सुनारले ५ घण्टा ८ मिनेट ४७ सकेण्डमा दुरी पार गरेर तृतीय भएको कर्णाली स्पोर्टस् क्लब जुम्लाका सचिव मधुप्रसाद न्याैपानेले जानकारी दिए।

उनका अनुसार चन्द्र रावल, सुमन कुलुङ, प्रकाश कठायत, सागर बुढा, जोवन ऐडी, मदन भण्डारी, धिरबहादुर खत्री पुरुषतर्फ टप टेनमा पर्न सफल भएका छन्।

'महिलातर्फ शारदा भण्डारीले ६ घण्टा ३४ मिनेट ४१ सेकेण्डमा दुरी पार गर्दै प्रथम स्थान ल्याउन सफल भएको हाे,' उनले भने।

यसैगरी गणना भण्डारीले ६ घण्टा ५९ मिनेट ४२ सेकेण्डका साथ द्वितीय र मञ्जु रावतले ७ घण्टा ३४ मिनेट ३८ सेकेण्ड लगाएर तृतीय भइन्।

त्यस्तै ४२ वर्षकी उमकली बुढा, राममाया बुढा, संगीता भण्डारी, शोभाकली बुढा, विन्दु श्रेष्ठ र राधा श्रेष्ठ टेनमा आउन सफल भएका हुन्।

जुम्ला रारा अल्ट्रा म्याराथनमा ७६ जना खेलाडी सहभागी भएकोमा ७२ जना मात्रै रारातालसम्म पुगेका थिए। विजेता खेलाडीलाई पुरस्कार वितरण गरिएको सचिव न्याैपानेले बताए।

'यो वर्ष एक जना भारतीय खेलाडीसहित ७६ जना धावकहरु सहभागी थिए,' उनले भने, '७६ जनामध्ये १५ जना महिला धाविका सहभागी भएका हुन्।'

जुम्ला, रारा अल्ट्रा म्याराथनमा गायक बुद्धवीर लामा, ओलम्पीयन बैकुण्ठ मानन्धर, क्याप्टेन भरतसिंह थापा, भेट्रान रनर शम्भू दाहाल, सुमन कुलुङलगायतले सहभागिता जनाएका छन्। उनीहरु सबै रेसकाे प्रमाेसनका लागि दाैडिएकाे कर्णाली स्पाेर्ट क्लाबका अध्यक्ष सराेज शाहीले बताए।

म्याराथनमा प्रथम महिला र पुरुष दुबै एक लाख २५ हजार रुपैयाँ पाएका छन्। द्वितीयले ६२ हजार ५ सय र तृतीयले ३७ हजार ५ सय तथा सान्त्वना हुनेले ७ जनाल ६ हजार ५ सय रुपैयाँ नगद पुरस्कार पाएका छन्।

क्लबले जुम्लादेखि रारातालसम्म रहेका पाँचवटै चेक प्वाइन्टमा खेलाडीले इन्ट्री गरी रारा पुगेकाे हुनुपर्ने प्रतियोगिताका नियम बनाएकाे थियाे।

प्रकाशित मिति: : 2022-04-10 11:58:00

प्रतिकृया दिनुहोस्