गण्डकी सरकारले हटायो खेलकुद समिति र संक्रामक अस्पतालका पदाधिकारी, अदालतमा जाने तयारी

file photo
file photo

गण्डकी सरकारले यसअघिको सरकारले नियुक्त गरेका खेलकुद विकास समिति र सरुवा तथा संक्रामक रोग अस्पतालका पदाधिकारी बर्खास्त गरेको छ।

११ वटै जिल्लाका खेलकुद विकास समिति र पोखरा स्थित सरुवा तथा संक्रामक रोग अस्पतालका पदाधिकारीलाई सरकारले काम चित्तबुझ्दो नभएको आरोपमा हटाएको हो।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूलाई हटाएको सरकारका प्रवक्ता कुमार खड्काले जानकारी दिए। ‘उहाँहरूलाई काम चित्तबुझ्दो नभएकोमा स्पष्टीकरण सोधिएको थियो। उहाँहरुले दिएको प्रष्टीकरणमा चित्त नबुझेपछि मन्त्रालयको सिफारिसमा पदबाट हटाईएको हो,’ उननले भने।

यसअघि सरकारले सबैलाई स्पष्टीकरण सोधेको थियो। सबै समिति एमाले नेतृत्वको सरकार भएका बेला गठन गरिएको हो। हटाइएकाहरुले भने सरकारले राजनीतिक प्रतिशोध साँधेको आरोप लगाएका छन्।

संक्रामक तथा सरुवा रोग अस्पताल ब्यवस्थापन समितिका अध्यक्ष प्राडा कृष्ण पौडेलले राजनीतिक परिवर्तनसँग यस्ता संस्थालाई चलाउनु उपयुक्त नहुने बताए।

‘सरकार त परिस्थिति जन्य विषय हो। कहिले को आउँछ, कहिले को आउँछ। तर, मातहतका निकायलाई सरकार नयाँ भएपछि चलाउनु राम्रो होइन,’ उनले भने, ‘यसरी देशको विकास हुँदैन। काम राम्रो नभए सुधार्न सुझाव दिनुपर्छ। एकैचोटी हटाउनु राम्रो हुँदैन।’

बर्खास्तमा परेकाहरु भने अदालत जाने तयारीमा छन्। विनाकारण राजनीतिक विभेदका आधारमा हटाइएको भन्दै उनीहरु अदालत जान लागेका हुन्।

‘विधि प्रक्रियाबाट नियुक्त भएका हौं। व्यक्तिगत कुरा होइन। सबै समितिसँग कुरा गर्छौं। त्यतिबेला नियुक्त गर्ने सरकारसँग पनि सल्लाह गर्छौं। कानुन अनुसार नियुक्ति थियो,’ उनले भने, ‘सरकारले सोधेपछि स्पष्टीकरण दिएका थियौं। हटाउला भन्ने चाहिँ लागेको थिएन। यसरी हटाउनु गैरकानुनी हो। हामी कानुनी उपचार खोज्छौं।’ उनले राजनीतिक विभेद गरेर देश नबन्ने बताए।

‘विल्कुल राजनीतिक विभेद हो। हामी राजनीति गर्ने नै मान्छे हौं। संकुचित भावनाबाट अघि बढ्यौं भने देश र खेलकुद क्षेत्र बन्दैन,’ उनले भने। बर्खास्तमा पर्नेहरूमा १४३ जना खेलकुद विकास समितिका पदाधिकारी र सदस्य तथा अस्पतालका अध्यक्ष छन्। सबै जिल्लामा १३ सदस्यका दरले समिति गठन भएको थियो।

प्रकाशित मिति: : 2022-04-08 16:02:00

प्रतिकृया दिनुहोस्