जब युट्युबरलाई अर्धनग्न पारेर प्रहरी चाैकीभित्रै पिटियो...

bbc hindi

भारतीय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा दुई दिनयता एउटा तस्विरले खूब् चर्चा पाएको छ। यो तस्विरमा केही अर्धनग्न मानिसहरू उभिएका देखिन्छन्।

प्रहरी चौकीभित्र अर्धनग्न अवस्थामा उभिएका युवकमध्ये दुई जना स्थानीय युट्युबर र बाँकी नाटककार हुन्। दृश्यः भारतको मध्यप्रदेश राज्यको सिधी जिल्लास्थित कोतवाली प्रहरी चौकीको हो। 

प्रसंग रोचक छ– प्रहरीले रंगमञ्चका एक कलाकारलाई पक्राउ गरी हिरासतमा पुर्‍याएको थियो। लगतै प्रहरीविरूद्ध नाटककार र युट्युबर चर्को आन्दोलनमा उत्रिए। प्रहरी उल्टै रिसायो र उनीहरूलाई पनि चौकीसम्मै पुर्‍यायो।

नाटककारको समर्थनमा चौकीभित्रै उग्र भएपछि उनीहरूको लुगा फुकालेर प्रहरीले लहरै उभ्याएको आजतकले जनाएको छ। भाइरल तस्विरबारे सामाजिक सञ्जाल प्रयोगकर्ता भन्छन्– प्रहरीले नराम्रो काम गर्‍यो। यो कार्य मानवीय मर्यादा विपरित छ।

युट्युबर कनिष्क तिवारीले तस्विरमा देखिएका युवकहरूमध्ये एकजना अर्धनग्न आफू नै भएको दाबी गरेका छन्। ‘तस्विरमा दुईजना पत्रकार पनि छौँ। म अनि मेरो क्यामेराम्यान। बाँकी स्थानीय रंगकर्मी हुन्,’ उनले भने।

नाटककार नीरज कुन्दरलाई नक्कली फेसबुक बनाएर बीजेपी विधायक केदारनाथ शुक्लाविरूद्ध अपमानजनक टिप्पणी गरेको आरोप छ। उनी त्यही आरोपमा पक्राउ परेको बीबीसीले जनाएको छ।

तर युट्युबर तिवारीले भने विधायक शुक्लाको विरोधमा समाचार लेख्दा आफूलाई पक्राउ गरी कुटपिट गरेको बताउँछन्। उनले आफू युट्युबर नभइ पत्रकार नै भएको दाबी गरेका छन्। ‘थिएटरकर्मीहरूले प्रहरीको विरोध गरिरहेका थिए। मैले उनीहरूको कभरेज गरिरहँदा क्यामेराम्यानसँगै समात्यो। अनि भित्र हुल्यो,’ तिवारीले भने।

स्रोतका अनुसार युट्युबर र नाटककारहरूलाई प्रहरी चौकीको कोठाभित्रै अर्धनग्न पारेर तस्विर खिचिएको थियो। तर तस्विरमा देखिएका व्यक्ति पत्रकार नभएको प्रहरीको दाबी छ।

त्योबेला तिवारीसँग आधिकारिक सञ्चारमाध्यमको परिचय–पत्र थिएन। प्रहरीका अनुसार उनी युट्युबर हुन्। तिवारीले एमपी सन्देश न्यूज नामक युट्युब च्यानल चलाएको दाबी गरेका छन्। जसमा एक लाखभन्दा बढी फलोअर छन्। उनले आफू राष्ट्रिय सञ्चारमाध्यमसँग पनि आवद्ध रहेको बताउँछन्।

प्रकाशित मिति: : 2022-04-07 20:22:00

प्रतिकृया दिनुहोस्