उर्लाबारीका वडामा युवाहरुको बलियो दाबेदारी !

मिलन के राउत

उर्लाबारी

उर्लाबारी– ९ का युवा सुन्दर श्रेष्ठ जहाँ रहेपनि गाउँकै यादमा सोचमग्न रहेका हुन्छन्। वडाको दुर्गम टोल खोपीडाँडामा जन्मे हुर्केर  श्रेष्ठले गाउँको विकासका लागि लाखौं रुपैयाँ खर्चेका मात्रै छैनन, स्थानीयको मन मष्तिस्कमा पनि डेरा जमाएका छन्।

उनै सुन्दर जनतामाझ परीक्षित हुन चाहन्छन्। ‘गाउँवासीको पीडामा सक्दो मल्हम पट्टी लगाउने प्रयास छदैछ, समग्र ९ नम्बर वडाको मुहार फेर्न वडाध्यक्षमा उठ्ने तयारी गरेको छु,’ श्रेष्ठले भने। नेकपा एकिकृत समाजवादीको तर्फबाट आसन्न स्थानीय निर्वाचनमा उनी वडाध्यक्ष पदको उम्मेद्वारको रुपमा खडा हुने तयारीमा छन्। 

‘जनप्रतिनिधी सेवक हुनुपर्छ, शासक होईन’ भन्ने पक्षमा रहेको पाए, मेरो उदेश्य भनेको वडा र वडावासीको विकास हो, उनीहरुको समस्यासित हरदम नजिक हुने हो र समाधानको उपाय खोज्ने हो,राजनीति मेरो पेशा होईन,’ श्रेष्ठले भने ‘तर, अहिलेको परिवेशमा युवाको आवश्यकता हो भन्ने मेरो बुझाइ छ।’

श्रेष्ठले आफूले पाउने सुविधा समेत जनहितमा खर्च गर्ने बताउदैं आएका छन्। उनको हिजोदेखि आजसम्मका सामाजिक कामको मुल्याङ्कनले पनि उनको पक्षमा एकाएक माहौल बन्दै आएको उर्लाबारी– ९ कै एक जनप्रतिनिधीले बताए।

उमेरले ३० हाराहारीमा रहेका नितम चौहानको मुलतः व्यवसायिक चिनारी छ। उर्लाबारी उद्योग वाणिज्य संघमा सदस्यको भूमिकामा रहेका नितम राजनीतिमा पनि उतिक्कै सक्रिय छन्। भर्खरै सम्पन्न एमाले मोरङ जिल्ला अधिवेशनका प्रतिनिधि उनी जनप्रतिनिधि हुने ताकमा छन्।

उर्लाबारी– ७ को वडाध्यक्ष उठ्ने तयारी गरेका नितम पार्टी निर्णयको पर्खाइमा छन्। भन्छन्,‘इच्छा त हो, सबैले हौसला दिएका पनि छन् तर बल पार्टीको कोर्टमा छ।’

गत स्थानीय चुनावमा एमालेले ७ नम्बर वार्ड गुमाएको स्मरण गर्दै यसपटक सूर्य ध्वाजाबाहक उम्मेद्वारलाई जिताउनैपर्ने उनको भनाइ छ। ‘विगतमा किन हार्यौ, त्यो होइन,’ नितमले भने। अब कसरी जित्ने, कसलाई उम्मेद्वार बनाउदा उचित हुन्छ त्यो महत्वपुर्ण सवाल हो।

आफूले टिकट पाए सहजै जित हात पार्ने उनको दाबी छ। 

नेपाली कांग्रेसको राजनीतिमा सक्रिय उम्दा युवा हुन्, लोलिम पोमु लिम्बू। अरनिको हस्पिटल उर्लाबारीका संचालक लोलिम कांग्रेसको मोरङ १ नम्बर क्षेत्रीय प्रदेश समितिको उपसभापति हुन्। उनको अर्जुनदृष्टि वडाध्यक्ष पदमै छ। उर्लाबारी ९ का बासिन्दा उनी सोही वडाबाट नगरमा प्रतिनिधित्व गर्ने अभिलाषा रहेको सुनाउछन्। उम्मेद्वारीको तयारी स्वरुप ९ नम्बरका टोलटोलमा पार्टीका कार्यक्रम राख्ने, मतदाता समक्ष अन्तरक्रिया गर्ने लगायतका काम भैरहेको उनले बताए।

विगतमा प्यानलसहित एमालेले जितेको उर्लाबारी ९ मा परिवर्तनमा कुनै फेरबदल नआएकोले त्यसैलाई चुनावी एजेण्डा बनाएर मैदानमा उत्रिएको लोलिम बताउछन्।

‘विकसित देश जाने र उतै बस्ने सुविधापनि छ। तर, मलाई मेरै गाउँमा केही गर्नुपर्छ भन्ने हुटहुटी छ,’ उनले भने। पार्टीले आफूलाई वडाध्यक्षको उम्मेद्वार बनाउनेमा लोलिम निश्चिन्त छन्। भीष्म बुढाथोकी र रविन लामा उर्लाबारी नगरपालिकाका जनप्रतिनिधि हुन्।

गत निर्वाचनमा आ–आफ्नो वार्डमा एमालेबाट जित्ने यी दुईजना यूवा मात्रै हुन्। ३ र ५ नम्बर वडाका वडा सदस्यद्वय बुढाथोकी र लामा सम्भावित वडाध्यक्षका उम्मेद्वारका रुपमा चर्चामा छन्।

‘पार्टी संगठनको भोट मात्रै चुनाव जित्न पर्याप्त हुँदैन,’ उर्लाबारी– ३ का सुमितसेन थापा भन्छन्,‘व्यक्तिगत लोकप्रियताका आधारमा पनि भीष्म बुढाथोकीलाई वडाध्यक्ष पदमा उभ्याउनुपर्छ।’

उर्लाबारी– ५ का युवा सुब्रत अधिकारी नेपाली कांग्रेसका सक्रिय कार्यकर्ता हुन्। उनी पनि वडाध्यक्ष हुने कसरतमै छन्। भन्छन्,‘सबैले फ्रेस अनुहार खोजेको पाइयो, उम्मेद्वारीको तयारीमा जुटेको छु।’ अधिकारीकाअनुसार उनी जन्मजात कांग्रेस कार्यकर्ता हुन्। पार्टीका कार्यक्रम र गतिविधिहरूमा सक्रिय छन्।

उता होटल व्यवसायमा जमेका उर्लाबारी– ७ का दिनेश श्रेष्ठ पनि चुनावी जोडघटाउमै व्यस्त छन्। राप्रपामा आबद्ध श्रेष्ठले वडाको चुनावी अंक गणित राम्रैसंग बुझेको उल्लेख गर्दै वडाध्यक्ष पदमा उम्मेद्वारी दिने बताए।

उनले भने,‘म एक व्यवसायी मात्र होइन, जिम्मेवार नागरिक पनि हुँ। त्यसैले मलाई उर्लाबारी– ७ मा वडाध्यक्ष उम्मेदवारका रूपमा देख्दा अचम्म मान्नु पर्दैन।’

अब उनी जनतासामु व्यवसायी मात्र नभएर जनप्रतिनिधि बनेर अगाडि आउन चाहन्छन्। ७ नम्बर वडालाई बेहुलीझै सिँगार्ने योजना बुनेको उनी बताउँछन्। नेपाली कांग्रेसबाट उर्लाबारीको ३ नम्बर वडाको उम्मेद्वारी दौडमा रेसु कटुवाल, रोहित कार्की, चेतन कोइराला र राम तिम्सिना अग्रपंतिमा रहेका छन्। एमालेबाट उर्लाबारी– ४ को वडाध्यक्ष उम्मेद्वारमा डिल्ली खतिवडाको नाममा छलफल भइरहेको बताइन्छ।

सामाजिक कार्यमा उतिक्कै जमेका खतिवडा उर्लाबारी उद्योग वाणिज्य संघका वाणिज्य सचिव पनि हुन्। यसबाहेक उर्लाबारी– ६ मा एमालेका घनश्याम भण्डारी र २ नम्बर वडामा जनता समाजवादी पार्टीका मात्रिका धिमाल आ–आफ्ना दलभित्र वडाध्यक्ष पदका सर्वसम्मत उम्मेद्वारका रुपमा देखिएका छन्। धिमालले चुनाव प्रचारपनि शुरु गरिसकेका छन्।

प्रकाशित मिति: : 2022-04-05 07:16:00

प्रतिकृया दिनुहोस्