श्रीलंकामा फेसबुक र ट्विटर बन्द

कफ्र्यू घोषणा गरिएको श्रीलंकामा फेसबुक र ट्विटरजस्ता सामाजिक सञ्जालका माध्यमहरूमा पनि प्रतिबन्ध लगाइएको छ। त्यस्तै अर्को माध्यम ह्वाट्सएप पनि ‘डाउन’ छ। यसको प्रष्ट कारण खुलाइएको छैन । तर, मोबाइल फोन प्रयोगकर्ताहरूलाई ‘दूरसंचार नियामक आयोगद्वारा निर्देशित’ भन्ने सन्देश पठाइएको छ।

नयाँ प्रतिबन्ध रोक्न पहलरुवरुप कठोर प्रतिबन्ध लगाइएको छ। बिहीबार एउटा भिडले राष्ट्रपतिको निजी आवासनजिक सबारी साधनहरूमा आगजनी गरेको थियो। 

टापुहरूको देश श्रीलंकामा चरम आर्थिक संकट निम्तिएको छ। देशमा दैनिक १२ घन्टाभन्दा बढी समय लोडसेडिङ छ। इन्धन तथा अत्यावश्यक खानेकुरा र औषधिको अभावमा सर्वसाधारण मानिसहरू आक्रोशित छन्। 

बिहीबार राष्ट्रपति गोटाबायो राजापाक्षेको कोलम्बोस्थित घरबाहिर हिंसात्मक आन्दोलन भएको थियो। प्रदर्शन सुरुमा शान्तिपूर्ण भए पनि पछि प्रहरी हस्तक्षेपका कारण हिंसात्मक बनेको थियो। प्रहरीले प्रदर्शनकारीमाथि टियर ग्यास, पानीको छर्रा र लाठी प्रहार गरेपछि भीड अराजक बनेको थियो।

ढुंगा प्रहार गरेर प्रदर्शनकारीले प्रहरीमाथि बदला लिएका थिए। प्रदर्शनकारीसँगको झडपमा कम्तीमा दुई दर्जन प्रहरी घाइते भएका छन्।

श्रीलंका पछिल्लो समयमा चरम आर्थिक सकंटबाट गुज्रिरहेको छ। कागजको अभावमा लाखौँ परीक्षार्थीहरूको परीक्षा रोकिएको छ। त्यस्तै, अस्पतालमा स्वास्थ्य सामाग्रीको अभाव देखिन थालेको छ। यही समस्यबीच सरकारले आपतकाल घोषणा गरेको छ।

प्रकाशित मिति: : 2022-04-03 10:29:00

प्रतिकृया दिनुहोस्