नेता ज्यु, अबको केही दिनमा फेरि हजुर अनि हजुरहरुका झोलेहरु हामीमाझ आउने छन्। अहो ! झोले शब्द अलि तुच्छ भयो क्यारे ! हजुरका कार्यकर्ताहरु आफ्नो पार्टीको झण्डा र तामझामसहित मेरो गाउँ घरमा भोट माग्न आउने छन्।
साथमा तपाईं पनि आउनुहोला केरे। यस्तो बेला म के भनेर सम्बोधन गरुँला ? अनि कुन शब्दले हजुरलाई मेरो भोट हजुरकै हो, भनेर भनुलाँ ?
फेरि यो पटक पनि हजुरलाई नै भोट दिए त अबको आउने पुस्ताले नै धिकार्ने छ।
मेरो दराजभित्र राखेको सर्टिफिकेटले, पल्लाघरे दाइको पास्पोर्टले अनि तल्लो घरको अन्टी र उहाँको पेटमा भएको बच्चा, जसले यो धर्ती हेर्न नपाउदै आमालाई अस्पताल लिँदालिँदै पटेमै मरेको थियो। यी सबैले सराप्ने छन्।
अस्ति भर्खर गाउँपालिकामा करार कर्मचारी खोल्दा हजुरको कार्यकर्ताले पार्टीको झन्डा बोकेकै भरमा जागीर पायो। उसकाे अगाडि त मेरो स्नातक गरेको सर्टिफिकेटको केही बढी महत्त्व थियो, तर त्यसले केही अर्थ राखेन।
जागिर मात्रै कहाँ होर नेताज्यू ? एउटा वडाको सिफारिस दिन पनि भेदभाव छ। कार्यकर्ता र सर्वसाधारण जनतालाई मारमा पारिएको छ।
के यहीँ हो त गाउँ गाउँमा सिंह दरबार भनेको ? के हरेक सेवा सुबिधा पाउन कुनै न कुनै पार्टीको झण्डा बोक्नै पर्ने हो ?
यी यावत कुराले, कार्यकर्ता र नेताको भेदभावले गर्दा अब फेरि कुनै पनि पार्टीका नेताको मुख हेर्नै मन छैन। कसम !
फेरि यो चोटि पनि आउनुहोला। अनेक थरिको भाषण ठोक्नुहोला। पहिलेको जस्तै गल्ती नगर्ने, गरेका वाचा/कसम कुनै हालतमा नभुल्ने कसम फेरि खानुहोला। अनि हामी चुनावमा भोट हाल्न जाउँला र तपाईंलाई जिताउँला सोच्नुभएको होला। कम्तिमा हामीबाट त्यो भुल हुने छैन।
बुढीआमाले तल खोलाबाट ल्याउनुभएको पानीले के भन्ला ? आफैं सोच्नु त। घरमा उज्यालो गर्न राखेको झरो अनि टुक्कीले प्रश्न गर्लान् ?, ‘तेरो नेताले अबको ५ वर्षभित्र घर– घरमा बिजुली पुर्याउँला भनेको थियो। के नाप्यो त ?’
‘तेरो नेताले अब विद्यार्थीहरुका कापी र किताबका पानामा कालो लाग्ने छैन। गाउँ नै झिलिमिले हुनेछ’ भनेको थियोे नि खै भएको ? भनेर सोध्छन्। के जवाफ दिउँ ?
घरबाट जसो–तसो बाहिर आउँला तर गोरेटोमा हिंड्दै गर्दा त्यसले जिस्काउँदै ‘पाँच वर्ष पहिले पनि अब गाउँको मुहार फेरिन्छ भदै भोट हाल्न गएको थिइस्। के नापिस त ? म त जस्ताको तेस्तै छु’ भन्छ। के जवाफ फर्काउँ ?
तपाईंले गाउँलेहरुले खच्चरमा भारी, बिरामी अनी अन्य अत्यावश्यक सामाग्री ढुवानी गर्न सजिलो होस् भनी काटेको डोरेटो बाटो फराकिलो बनाउँछु भन्नुभएको थियो। त्यही कुरालाई मैले पत्याएको थिएँ।
आज त्यही बाटोले ‘खुब मेरै छातिमा टेकेर मोटर गाडीमा घर पुग्छु भन्थिस्। कहाँ छ तेरो मोटर र बाटो ?’ भनेर प्रश्न गर्छ। जवाफ तपाईंंसँग छ ?
बाटोसँग वात मार्दै गरौंला। तर, त्यो बाटोमा सुत्केरी व्यथा लागेर बोकेर अस्पताल लिँदै गर्दा ज्यान गएकी माइली भाउजूका आफन्तको बिगोज हेर्नुस्। उनको सम्झनामा बनाएको चौतारीमा बस्दा अझै निसासिएका हामीले तपाईं र तपाईंको पार्टीको पत्यार मान्नु कसरी ?
पहिले ‘राम्रो खालको अस्पताल बानाउँछु, २४ घण्टा डाक्टरले उपचार गर्ने छन्’भन्नुभएको थियो। हामी त सिटामोल नपाउँदा मर्छाैं। सामान्य रुघाखोकी र झाडापखालाबाट हाम्रो ज्यान गइरहेको छ। एक पुरिया जीवनजल पुर्याउन तपाईं आउनुभयो ?
गर्भ खेर गएकी आमाले,‘मेरो हालत हेर्नू अनि संसार नै हेर्न नपाई मरेको मेरो छोरालाई हेर्नु’ भन्छिन्। म के जवाफ दिउँ ? त्यसैले हाम्रो गाउँ घरमा कृपया भोट माग्न आउने कष्ट न गरिदिनुहोला।