चैत्र शुक्ल पक्षको परेवा तिथिको दिन सौर पाञ्चाङ्गको नवसंवत्सर प्रारम्भ हुन्छ। हुन त विक्रमिय संवतकाे नयाँ वर्ष वैशाख महिनाको एक गते मनाइने चलन रहेको परम्परा छ तर चान्द्रवर्ष मान्ने धर्मावलम्बीहरुमा यसै दिन नववर्ष मनाइने चलन रहेको पाइन्छ। स्मरणीय कुरा के हो भन्ने शुभकर्महरु विक्रमिय संवतकाे साटो चान्द्रवर्षको तिथिअनुसार नै मनाइने गरिन्छ। चैत्र शुक्ल परेवाकै दिन ब्रह्माजीले सृष्टिको रचना गरेका थिए भन्ने कुरा धार्मिक ग्रन्थहरुमा उल्लेखित छन्। वसन्त ऋतुको अन्त्य र ग्रीष्म ऋतुको प्रारम्भ पनि यसै महिनादेखि सुरु हुन्छ।
यस महिनामा हिन्दू धर्मावलम्बीहरुका लागि केही महत्वपूर्ण व्रत, पूजाहरु पर्दछन्। यस महिनाको परेवा तिथिकै दिनदेखि वासन्तिक नवरात्र आरम्भ हुन्छ। वर्षभरिमा जम्मा चारवटा नवरात्रहरु मनाइने चलन रहेको भए पनि मुख्यतया शारदीय तथा वासन्तिक नवरात्र धुमधामका साथ मनाइने परम्परा रहेको पाइन्छ। शारदीय नवरात्र शक्तिपूजाका साथसाथै राम्रो लगाउने, मिठो खाने-पिउने तथा रमाइलो गर्ने पर्वको रुपमा मनाइन्छ भने वासन्तिक नवरात्र शुद्ध शक्तिपूजा गरेर मनाइने पर्वको रुपमा रहेको छ।
वासन्तिक नवरात्रमा शारदीय नवरात्रझैं क्रमानुसार शक्तिपूजा गर्दा प्रथम शैल पुत्री, द्वितिय ब्रह्मचारिणी, तृतीय चन्द्रघण्टा, कुष्माण्डा चतुर्थ, पञ्चम स्कन्धमाता, षष्टम कात्यायनी, सप्तम काल रात्री, अष्टम महागौरी तथा नवम सिद्धिदात्रीको रुपमा शक्तिस्वरुपा महाकाली, महालक्ष्मी तथा महासरस्वतीको विधि विधान तथा आस्था भक्तिपूर्वक पूजा गर्ने चलन रहेको पाइन्छ। सप्तशतीको विधिवत् पाठ क्रमबद्ध रुपले गरिन्छ। शक्तिपूजाको असल सिद्धि वासन्तिक नवरात्रमा नै हुन्छ भन्ने धेरै जनाको विश्वास रहेको पाइन्छ। किनकि यस नवरात्रमा शाक्तहरु बाहेक साधारण गृहस्थको घरमा मासु, माछा निषेधित छ।
शक्तिपूजाको क्रममा विधिवत् कलशस्थापन, गौरी गणेश पूजन, स्वास्तायन पाठपछि सप्तश्लोकी दुर्गाको पाठ, श्री दुर्गाष्टोत्तर शतनामस्तोत्रको जप, कवच, कील, अर्गला पश्चात वेदोक्त रात्रिसूक्त, देवीअथर्वशीर्ष तथा छवटा न्यास गरे विधिअनुसार नवार्ण मन्त्रको एक माला जाप गरेर श्रीदुर्गा सप्तशतीको पूर्ण वा सम्पूटपाठ गरिन्छ। श्री दुर्गा सप्तशतीमा जम्मा तीन वटा चरित्रहरु रहेका छन्। शक्ति स्वरुपा भगवतीका तीन रुपहरुका लागि तीनवटा चरित्रहरुको पाठ आवश्यक हुन्छ। महाकालीको लागि प्रथम चरित्र विनियोग तथा ध्यानपूर्वक पाठ गरिन्छ।
प्रथम चरित्रको पाठ प्रथम अध्यायमा पूर्ण हुन्छ। जसमा मधुकैटभ नामक राक्षसको वधको कथा वर्णित छ। महालक्ष्मीको प्रसन्नताको लागि मध्यम चरित्रको ध्यानपूर्वक पाठ गरिन्छ। मध्यम चरित्रको प्रसंग द्वितिय, तृतीय तथा चतुर्थ अध्यायसम्ममा रहेको छ, जसमा प्रमुख रुपमा महिषासुरको वधको कथा वर्णित छ। त्यस्तै महासरस्वतीको प्रसन्नताका लागि उत्तर चरित्रको ध्यानपूर्वक पाठ गरिन्छ। उत्तर चरित्रमा चण्ड–मुण्ड, धूम्रलोचन, रक्तबीज तथा शुम्भ–निशुम्भ जस्ता दुर्दान्त राक्षसहरुको वधको कथा पाँचौ अध्यायदेखि दशम अध्यायसम्ममा वर्णित छ। एकादश, द्वादश तथा तेह्राैं अध्यायमा देवताहरुद्वारा देवीको स्तुती, देवीद्वारा देवताहरुलाई वरदान प्रदान, देवी चरित्रको पाठको महात्म्य तथा राजा सुरथ तथा वैश्य ऋषिलाई देवीको वरदान प्रदानको कथा वर्णित रहेको छ।
सप्तशतीको तेह्र अध्यायको पाठपछि फेरि नवार्ण मन्त्रको एक मालाको जाप, प्राधानिक रहस्य, वैकृतिक रहस्य तथा मूर्तिरहस्य नामक तीन रहस्यको पाठ र सिद्धकुञ्जिकास्तोत्रको जाप र अन्त्यमा क्षमापन प्रार्थना गरेपछि दुर्गा पाठ समाप्त हुन्छ। यस प्रकारले पाठ गरेपछि साधकले माता भगवतीको असीम कृपा पाएर आफ्नो अभिष्ट सिद्धि पाउँदछ। देवी कवचमा स्पष्ट भनिएको छ– यं यं चिन्तयते कामं तं तं प्राप्नोति निश्चितम्। अर्थात् भगवतीको पूजारीले मनमा जुन जुन अभिष्ट वस्तुको चिन्तन गर्दछ, त्यस अभिष्ट वस्तुलाई निश्चय नै प्राप्त गर्दछ।
शाक्तहरुका लागि शक्ति पूजा यसै महिनामा पर्दछ भन्ने वैष्णवहरुका लागि मर्यादा पुरुषोतम श्री रामको जन्म भएको दिन चैत्र शुक्ल नवमी पनि यसै महिनामा पर्दछ। नौमी तिथि मधु मास पुनीता। सुकल पच्छ अभिजितहरिप्रीता।। मध्यदिवस अति सीत न घामा। पावन काल लोक विश्रामा।। सीतल मंद सुरभी बह बाऊ। हरषित सुर संतन मन चाऊ।। बिप्र धेनु सुर संत हित लीन्ह मनुज अवतार। ( रा. च. मा., वाल काण्ड) अर्थात नवमी तिथि मधुमास(चैत्र) महिना, शुक्ल पक्ष तथा भगवानको प्रिय अभिजित मुहुर्त, मध्यान्हको समय, न जाडो न गर्मी, शीतल, मन्द तथा सुगंधित वायु चलिरहेको थियो। देवताहरु हर्षित तथा संतहरुको मनमा ठूलो काैतुहल थियो, ठीक त्यसैबेला ब्राह्मण गाई, देवता तथा संतहरुका लागि भगवानले मनुष्यको अवतार लिए। राम नवमीको दिन राम जन्मोत्सव भक्तजनहरुद्वारा धुमधामले मनाइन्छ तथा विभिन्न राम मन्दिरहरुमा मेला लाग्ने गर्दछ।
हिन्दूहरुको एउटा ठूलो व्रत पनि यसै महिनाको षष्टी तिथिको दिन पर्दछ। यस षष्टीलाई स्कन्ध षष्टी, अशोक षष्टी तथा चैती छठ पनि भनिन्छ। तराईमा छठ व्रत हुन त कात्तिक महिनामा हुने गर्दछ तर चैती छठको पनि ठूलो महत्व रहेको हुन्छ। पूर्ण पवित्रताका साथ कात्तिकी छठ जस्तै चैती छठ पनि तीन दिनसम्म मनाइने गरिन्छ। कात्तिकी छठभन्दा चैती छठ व्रत कठिन हुन्छ। किनकि कात्तिकी छठ जाडोको मौसममा पर्दछ तथा चैती छठ गर्मीमा पर्ने भएको हुनाले व्रतमा निर्जला उपवास गर्न धरैलाइ साह्रै कठिन हुन्छ। त्यसै कारणले कात्तिकी छठ व्रत गर्नेहरु भन्दा चैती छठ गर्ने भक्तहरुको संख्या अपेक्षाकृत रुपमा न्यून हुन्छ। संख्या न्यून भए पनि विधि भने कात्तिकी छठभन्दा रत्ति पनि कम हुँदैन।
राभक्तहरुलाई रामनवमी, शक्ति पूजकहरुलाई नवरात्र तथा तराईका मानिसहरुको लागि छठ रुपी महापर्वहरुको त्रिवेणी रहेको चैत्र महिनामा हावा हुरी, असिना पानीको पनि व्यापक भय जनमानसमा व्याप्त रहेको हुन्छ। खासगरी किसानहरुलाई चैत्र महिना रब्बी बाली भित्र्याउने बेला हो। हालका दिनहरुमा तोरी, सर्स्यं जस्ता तेलहनी अन्न त भित्रिसकेका भए पनि मुख्य खाद्यान्नको रुपमा रहेको गहुँ तथा दलहनी बाली किसानहरुको खेतमा तयार रुपमा रहेका छन्, जसलाई भित्र्याउन हप्ता दिनको समय कम्तिमा लाग्ने छ। यस्तो समयमा हावाहुरी तथा असिना पानीले ती देवी देवताहरुले रक्षा गरून !