दाङ क्रिकेट लिग सुरु भएको छ। दाङ क्रिकेट संघको आयोजनामा जिल्लामा पाँच व्यावसायिक समूहको सहभागितामा प्रतियोगिता सुरु भएको हो।
सगरमाथा सिमेन्ट दाङ क्रिकेट लिग २०७८ को पहिलो संक्ररणको पहिलो दिनका खेलमा घोराही टाइगर्स र पुरन्धारा रोयल्सले विजयी भएका छन्।
शनिबार भएको पहिलो खेलमा देउखुरी वारीयर्सलाई ३ विकेटले हराउँदै घोराही टाइगर्स विजयी भएको हो। देउखुरी वारियर्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३९ रन बनाएको थियो।
१४० रनको विजयी लक्ष्य लिएर मैदानमा छिरेको घोराही टाईगर्सले १९.५ बलमा सात विकेट गुमाएर उक्त लक्ष्य भेट्टायो।
सगरमाथा सिमेन्ट दाङ क्रिकेट लिगको पहिलो दिनको दोस्रो खेलमा पुरन्धारा च्यालेन्जर्सले दंगाली लायनमाथि १५ रनको जित दर्ता गरेको छ। टस जितेर ब्याटिङ रोजेको पुरन्धाराले १९.५ ओभरमा सबै विकेट गुमाउँदै ११४ रन जोडेको थियो।
११५ रनको सामान्य लक्ष्य लिएर मैदान उत्रेको दंगालीले मात्रै ९९ रनमा सीमित हुँदा पुरन्धाले सहज जीत निकालेको हो।
दाङ क्रिकेट संघको आयोजनामा आयोजित लिगको घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले उद्घाटन गरेका हुन्।
प्रतियोगिता १७ गतेसम्म चल्ने छ। लिगमा पाँच वटा व्यावसायिक टिमले प्रतिस्पर्धा गर्दैछन्।
नगर प्रमुख चौधरीले खेल क्षेत्रको विकासमा घोराही उपमहानगरपालिकाले सके जति लगानी र प्रवर्द्धन गरेको बताए। सबै खेल क्षेत्रको विकास गर्न नगर प्रतिबद्ध रहेको उनको भनाई थियो। खेल क्षेत्रले देशको शिर उच्चो बनाउन सफल भएकोभन्दै अब खेलाडीलाई व्यवसायीक बनाउन आवश्यक रहेको उल्लेख गरेका छन्।
क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैयाको अध्यक्षतामा भएको कार्यक्रममा संघका सदस्य कैलाश रोकामगरको स्वागत मन्तव्यसरहको थियो। कार्यक्रमको सहजीकरण किशोरचन्द्र गौतमले गरेका थिए।