लुंग्री गाउँपालिका वडा–१ पाङका ६७ वर्षिय रणबहादुर विष्ट आफैले उत्पादन गरेको तरकारी डोकाेमा राखेर घर–दैलोमा पुर्याउछन्।
गाउँलेहरू अचेल ताजा र स्वच्छ तरकारी किन्न सुलिचौर झर्नुपर्दैन। किनकी रणबहादुर नै काफि छन्। सय रूपैयाँ गाडी भाडा तिरेर सुलिचौर झर्नुपर्ने बाध्यताबाट मुक्ति पाएका गाउँलेहरू आफ्नै गाउँकाे तरकारी खान पाएर दंग छन्।
रोजगारीका लागि लामो समय जिल्ला बाहिर बसेका रणबहादुरलाई बुढ्यौलीले च्यापेसँगै घरमै बसेर स्वरोजर हुने सोच आयो।
घरमै आय आर्जन गर्ने विकल्प खोज्दै जाँदा उनको रूचीमा तरकारी खेती पर्यो। उनले तरकारी खेती सुरूवात त गरे बजारकोे चिन्ता समेत सँग–सँगै थपियो।
शुरूकाे वर्ष थोरै जग्गामा खेती गरेका उनले उत्पादित तरकारी डोकोमा बोकेर छिमेकीका घर–घर पुगे। रणबहादुर दिनहुँ तरकारीसँगै तराजु डोकाेमा बोकेर घर–आगनमा आउन थालेपछि स्थानीयहरू समेत सहजता महसुस गर्न थालेका छन्।
'घरमै ताजा तरकारी आउन थालेपछि तरकारी लिन सुलिचौर जाने बाध्यता टर्यो,' स्थानीय अनिषा पुनले भनिन्, 'कहिलेकाही गाह्रो–साह्रो पर्दा २–४ दिनका लागि उधारो पनि मिल्ने भएकाले थप सहजता भयो।'
सिजनमा २ लाखको तरकारी विक्री हुने रणबहादुर बताउँछन्। 'पहिले–पहिले जाैँ–गहुँ लगाएर दुःखेसो पनि उठ्दैनथ्यो अहिले त्यही बारीमा २ लाख कमाई हुन्छ,' रणबहादुरले भने। तरकारी खेतीले उनको जीविको पार्जनमा टेवा पुगेको छ। लत्ता कपडा, खाद्यन्न, नुन तेल र चरीमासुको लागि साहुसँग ऋण गर्नुपरेको छैन।
उनले तरकारी खेती गर्दा तालिमको अवसर समेत नपाएको बताउँछन्। 'तरकारी खेती गरेकाहरूसँग सिकेरै खेती गरेको हुँ,' रणबहादुर भन्छन्। आजभोलि उनी तरकारीका लागि चाहिने कम्पोष्ट मल, झोलमल र विषादी समेत आफै तयार गर्दछन्।
उनको लगनशीलता देखेर लुंग्री गाउँपालिका र हुरेक गैर–सरकारी संस्थाले २ वटा टनेल निर्माणमा सहयोग गरेको छ।
'गाउँपालिका र हुरेक संस्थाले अघिल्लो वर्ष ४० हजार र यस वर्ष २५ हजार रूपैयाँ सहयोग गरेका थिए। त्यो सहयोग रकम प्रविधि विकासमा खर्च गरेको छु,' रणबहादुरले भने।
अहिले उनले कृती कृषि फर्म नामक फर्म समेत दर्ता गरेका छन्।
चार सन्तानका बाबु उनको एक छोरा बाग्लुङमा श्रमिक काम गर्छन्।
‘अरूको श्रमिक हुने हैन घर आएर आफ्नै फर्मको मालिक हुने हो भनेर छोरालाई समेत बोलाएको छु’ रणबहादुरले भने।
दुई छोरीहरूको विवाअ भइसकेको बताउने उनलाई श्रीमतीले सघाउँदै आएकी छन्।