रुस–युक्रेन युद्ध: तटस्थताको कारण दबाव झेल्दै भारत

यसै साता सोमवार अमेरिकी राष्ट्रपति जो बाइडनले वाशिङ्टनमा अगुवा व्यापारीहरूसँगको बैठकमा भ्लादिमिर पुटिनले युक्रेनमा गरेको अतिक्रमणविरुद्ध क्वाड मुलुकहरूमध्ये भारतको प्रतिक्रिया 'अलि कमजोर' भएको बताए। चीनको प्रभावसँग जुझ्न भारतसहित अमेरिका, जापान र अस्ट्रेलिया सम्मिलित क्वाड गठबन्धन बनेको हो।

बाइडनले त्यसका अन्य तीन सदस्य चाहिँ 'पुटिनको आक्रामकताविरुद्ध निकै कडाइका साथ' अघि सरेको बताए। भारत स्वतन्त्र भएदेखि नै असंलग्न परराष्ट्रनीतिमा अडिग रहेको छ।

स्वतन्त्र भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूले त्यसलाई व्याख्या गर्दै भनेका थिए, 'हामी ठूला ध्रुवबाट टाढै रहन्छौँ। ... सबैसँग मित्रवत् हुन्छौँ। … कुनै गठबन्धनमा सामेल हुँदैनौँ।'

तर के युक्रेन युद्धले भारतको चर्चित तटस्थतालाई चरम दबावमा पार्ला?

'भारतलाई दबाव त परेको छ, त्यसमा दुई मत छैन,' वाशिङ्टनस्थित नीति विमर्श गर्ने एक थिङ्कट्याङ्क विल्सन सेन्टरको एशिया कार्यक्रमका उपनिर्देशक माइकल कुगलम्यानले भने। 

'छेउकिनारामा मात्र बस्ने कूटनीतिक नीतिको मूल्य अहिले विगतको भन्दा चर्को पर्न सक्छ। किनभने रुसको युक्रेन अतिक्रमण दशकौँयताकै सबभन्दा खराब आक्रमण हो अनि यतिखेर पश्चिमसँग भारतको सम्बन्ध इतिहासमै सबभन्दा धेरै बलियो बनिरहेको छ,' उनले भने।

संयुक्त राष्ट्रसङ्घमा रुसलाई निन्दा गरिएको प्रस्तावमा मतदान हुँदा एक सातामै भारतले तीन पटक भाग लिएन। युद्धका कारण विश्वभरि ऊर्जाको मूल्य बढिरहँदा भारतले निकै छुटमा रुसी आयात बढाएको विवरण आएको छ। साथै उसले रुसको नामै किटेर आलोचना गर्नबाट पनि आफूलाई रोकेको बीबीसीले जनाएकाे छ।

भारत र रुसबीच दशकौँ पुरानो सुदृढ सम्बन्ध छ जुन शीतयुद्धकालीन समयदेखि जारी छ। भारतको सबभन्दा ठूलो रक्षा सामग्री आपूर्तिकर्ता रुस नै हो।

अचेल अमेरिकाले समय बदलिएको भनेर भारतलाई सम्झाउने बुझाउने प्रयास गरिरहेको छ। साथै अमेरिका र भारतबीच पनि सम्बन्ध गहिरिएको छ। अमेरिका-भारत द्विपक्षीय व्यापार १५० अर्ब डलर पुगेको छ जबकि रुस-भारत व्यापार आठ अर्ब डलरमा सीमित छ।

अमेरिकी विदेश मन्त्रालयकी एक उच्च अधिकारी भिक्टोरिया नुल्यान्ड यो साता दिल्ली भ्रमणमा आइन्।

उनले भारतका विदेशमन्त्री एस जयशङ्कर तथा वरिष्ठ अधिकारीहरूसँग 'व्यापक र गहिरो संवाद' भएको बताइन्। भारत र रुसबीच विद्यमान ऐतिहासिक सम्बन्धबारे जानकार भए पनि अहिले 'समय फेरिएको' अनि 'भारतमा सोचमा क्रमिक विकास' भइरहेको पनि उनले बताइन्।

पत्रकारहरूसँग कुरा गर्दै उनले अमेरिका र युरोप भारतका 'बलिया रक्षा एवं सुरक्षा साझेदार' बन्न इच्छुक रहेको बताइन्।

रक्षा सामग्रीको निम्ति भारतको रुसप्रतिको निर्भरता कम गर्न अमेरिकाले सहयोग गर्न सक्ने पनि उनले बताइन्।

युक्रेन युद्ध 'प्रजातान्त्रिक-निरङ्कुश व्यवस्थाको सङ्घर्षमा निर्णायक मोड ल्याउने एउटा महत्त्वपूर्ण बिन्दु' रहेको र यसमा भारतको समर्थन आवश्यक रहेको उनको भनाइ थियो।

कुगलम्यानका अनुसार अमरिकाबाट यति खुलस्त सन्देश आउनु आफैँमा 'अप्रत्याशित अवस्था' हो।

तर भारतीय विश्लेषकहरू भारत चरम कूटनीतिक दबावमा परेको स्वीकार्न चाहँदैनन्।

क्वाडका बाँकी सदस्य मुलुकहरू भारतको अडानप्रति नरम रहेको अनि अमेरिका स्वयंले पनि भारतले युक्रेनलाई गरेको मानवीय सहायताको सराहना गरेको उनीहरू औँल्याउँछन्।

प्रकाशित मिति: : 2022-03-26 06:11:00

प्रतिकृया दिनुहोस्