भनिन्छ– सत्ययुगमा खानपिनको निम्ति सुनका थाल–कचौरा र गिलास, त्रेतायुगमा चाँदी, द्वापरयुगमा पित्तल र कलियुगमा काँस, फलामका जस्ता धातुको भाँडाकुँडाहरूको प्रयोग हुन्थ्यो अरे! ती युगहरू त अतीतमै बितिसके।
अब हाम्रो वर्तमान कालमा धातुको नाममा आल्मुनियमको व्यापक प्रयोग भइरहेको छ। सुन, चाँदी, काँसा, आल्मुनियम जस्ता धातुहरू खनिज पदार्थ हुन्, ती जम्मैको पुनः प्रयोग सम्भव हुन्छ। भइरहेकै पनि छ।
तर यसै युगमा (सम्भवतः यो भ्रष्टयुग पो कि!) एउटा अन्य पदार्थ परिचित तथा बहुस्वीकृत पनि भएको पाइन्छ। यो पदार्थ प्राकृतिक खनिज पदार्थबाट निर्मित भएका होइनन्। वस्तुतः यो पदार्थ खनिज तेललाई शुद्धीकरण गर्ने बेलामा निस्कने अवाञ्छित फिँजलाई ‘प्रोसेसिङ्ग’ गरेर तयार पारिएको पारदर्शी कणहरू हुन्, जुन पानीमा अघुलनशील छन्। वातावरणमा विलुप्त भएर जाँदैनन् तथा अन्य कुनै पनि उपायले यिनीहरूको नाश पनि हुँदैन।
यस्तै अवाञ्छित पदार्थबाट अचेल नयाँ प्रविधिको विकास भइरहेकाे छ। ‘फूटवेयर’, ‘वियरिङ्गस’ तथा खाने-पिउने प्लाष्टिक प्लेट, गिलास, झोला आदिको पनि निर्माण हुन्छ। दैनिक जीवनमा आफ्नो कार्यमा व्यस्त गृहिणीहरूको लागि ती परम्परागत भाँडाकुँडाहरूलाई लुँडाे लिएर झ्याइँझ्याइँ गर्दै मस्काउन झिँझो लाग्दछ। अतः उनीहरूले ती पारम्परिक भाँडाहरूको तुलनामा यस्ता प्रयोग गर्ने र फाल्ने वस्तु नै अति प्रिय लाग्दछ।
पंत्तिकार पनि उनीहरूको उचित सम्मान र आदर गर्दै यस कुरामा सहमत छ। तर संसारभरिमा यसको दुष्परिणाम र यसबाट हुने पर्यावरणीय समस्याबारे सुनेर सर्वाङ्ग भने थुर्रर काम्दछ। यो पदार्थ हावाले सुकेर, पानीले रूझेर, घामले डढेर अथवा जुनसुकै परिस्थितिमा पनि सकिने वा निख्रिने होइन। यो पदार्थ त वर्षौँ-वर्षसम्म फालिएकै ठाउँमा जस्ताको त्यस्तै रहिरहन्छ।
फलस्वरूप नालाबाट बग्ने पानीको प्रवाहमा बुजो लागेर नैसर्गिक प्रवाह ठप्प, गाई–वस्तुहरू चरनको साथमा निलेर जीवनको अन्त, प्राकृतिक रूपमा हुने अनेकौ व्यहारको अन्त..! त्यसैले सम्पूर्ण विश्व नै प्लास्टिक आतंकले भयग्रस्त रहेको अवस्था देखिँदैछ।
प्लाष्टिक निर्मित वस्तुहरूको व्यापक प्रयोगले पर्यावरणमा गम्भिर असर पारिरहेको छ। जसको कारणले पृथ्वीको तापक्रम दिनानुदिन बढदो छ। मौसम चक्रमा अनावश्यक पविर्तन भइरहेकोछ, वनस्पति तथा प्राणी जगत् भयावह प्रतिकूल परिस्थितिले गुज्रिँदोछ। बेमौसमी वर्षात्, बाढ़ी, पहिरो, भूस्खलन, असमयको जाडो, जाड़ो महिनामा गर्मी आदि प्रकृतिको चेतावनी हो।
पुराना दिनहरूमा समाजले यस्तो अवस्था भोग्नुपर्ने बाध्यता थिएन। जनसाधारणले हाट बजारहरूबाट आवश्यक वस्तु खरिद–बिक्रि गरेर ओसार–पसार गर्नको निम्ति खर तथा बाँसले बनेका विभिन्न किसिमका ढकी, दउरा, वा छैंटाको प्रयोग गर्ने गर्दथे। किसानले आफ्नो जिन्सि दउरामा भरेर बजारसम्म लगी त्यसलाइ बेचेर नगद पैसा पाउदथे तथा त्यस रकमबाट आवश्यक वस्तु खरिद गरि सोही दउरामा राखेर घरसम्म ल्याउदथे। यस्ता कामको लागि कपड़ाको झोला वा जूटको बोराको पनि प्रयोग हुन्थ्यो।
सामाजिक जीवनका विभिन्न अवसरमा आइपर्ने भोज–भतेरमा पाहुनाहरूलाई भोजन–पानी गराउनको लागि पनि पूर्ण प्राकृतिक पदार्थहरूको प्रयोग हुन्थ्यो। सानो भोजमा खाना ख्वाउने भाँड़ाको लागि केराको पात प्रयोग हुन्थ्यो भने ठूलो खाले भोजमा सो कामको लागि मोग्लान (भोर्ले)को पात प्रयोग हुन्थ्यो।
मोग्लानको दुईबटा पातलाई जोरेर भइमा ओछ्याएर पानी छर्की त्यसमै भात, दाल, तरकारी अचार आदि खाद्य पदार्थ राखेर खान दिइन्थ्यो। त्यसलाई भोजपुरी भाषामा ‘पत्तल’ तथा दुई–तीनवटा मोग्लानको पातलाइ बाँसको सिन्काले उनेर बनाएको पत्तललाई ‘पतरउल’ भन्दथे। पत्तलको रूपमा स्थानीय पोखरीहरूमा उम्रने पुरइनको पातको पनि प्रयोग हुन्थ्यो।
भोजपुरी भाषाको ‘पुरइन’ स्वेत कमलको नाम हो। पुरइनको पात वृताकार हुन्छ तथा यसमा पनि भोजमा पस्किेने खाद्य पदार्थ पवित्रतापूर्वक ग्रहण गर्न सकिन्छ। पानी प्यूनकोलागि स्थानीय कोहार जातिले बनाएको माटोको गिलास प्रयोग हुन्थ्यो जसलाई भोजपुरी भाषामा ‘रमगिलास’ भन्दथे। खाना खाइसकेपछि सो पत्तल तथा रमगिलासलाइ फालीदिइन्थ्यो। यस प्रकार फालिएका ती पत्तल र रमगिलास समयानुसार कुहिएर निख्रिन्थे।
प्रकृतिको वस्तु प्रकृतिमै विलिन हुन पुग्दथे। कुनै पनि पर्यावरणीय असर पर्दैन्थ्यो। जङ्गलबाट पात संकलन गर्ने कामको लागि मानिसहरूलाई रोजगारीको अवसर थियो। माटोको भाँड़ा बनाउने मानिसहरूकोलागि आजीविकाको पनि अवसर प्राप्त हुन्थ्यो।
हालका दिनमा प्लाष्टिक आतंकबाट त्रसित जनमानसले यसबाट त्राण पाउन तथा पर्यावरणको संरक्षण गर्नको लागि पुराना दिनहरूमा प्रयुक्त हुने ती प्राकृतिक वस्तुहरूलाई सम्झेर पुनः प्रयोग गर्नेतर्फ अग्रसर हुने हो कि ? प्रकृतिसित जोड़ी खोज्नु भन्दा प्रकृति मैत्री बन्न भद्र विचार हो कि जस्तो लाग्दछ।