आज प्रायजसो मानिसको हातमा स्मार्टफोन छ। त्यसमा पनि युवाको हातमा स्मार्टफोन छैन भने केही छैन भनेजस्तै संकथन निर्माण भएको छ।
स्मार्टफोन आफैंमा एक कम्बो मिडिया हो। यो मिडियाका विभिन्न प्रयोजन छन्। मानिसको अहिले दुई प्रयोजन सबैभन्दा चल्तीमा छन्। पहिलो तस्वीर या भिडियो खिच्ने, दोस्रो सामाजिक सञ्जाल चलाउने। यसल मानिसलाई एकातिर मिडिया पर्सोना बनाएको छ भने अर्कोतिर एक्टर। जोसँग छैन, उसमा केही नै छैन जस्तो बनाएको छ।
मिडिया–जंकी आमसञ्चार तथा पत्रकारितामा प्रयोग गरिने शव्द हो। यो दुई शव्द मिडिया र जंकी मिलेर बनेको संयुक्त शव्द हो। यसमा मिडियाको अर्थ कुनै पनि सञ्चार माध्यम हो भने जंकीको अर्थ त्यसमा लत बसेको लाग्गू व्यक्ति हो। अर्थात्, जसरी पनि मिडियामा आउन चाहने कुलतमा फसेको मान्छेलाई मिडिया जंकी भनिन्छ। यस्ता मान्छेहरू प्रचारका भोका हुन्छन् र आफूलाई प्रचारमा ल्याउन जे जस्ता हर्कत गर्न पनि तयार हुन्छन्। यस क्रममा सञ्चारकर्मीलाई विनिङ एण्ड डाइनिङ गराउने, प्रोक्सी इभेन्ट सिर्जना गरेर समाचार बनाउने जस्ता काम अत्याधिक मात्रामा हुने गरेका छन्।
मिडिया महागुरू म्याक्वेलले एक ठाउँमा भनेका छन् मिडिया जंकीहरू यतिसम्म साइको हुन्छन् कि उनीहरू मिडियामा आउँन पाएनन् भने आफैंलाई अण्डाले हान्न लगाउँछन् र अण्डा फुटेर फोहोर भएको आफ्नो फोटो खिचेर भए पनि प्रचारमा आउँछन्।
हरेक समुदायमा यस्ता मिडिया जंकीहरू हुन्छन्। कुनैमा थोरै हुन्छन् कुनैमा बढी, मात्राको मात्र फरक हो। मिडिया महागुरू म्याक्वेलका अनुसार पिछडिएको समुदायमा यस्ताको संख्या बढी हुन्छ भने विकसित समुदायमा यस्ताको संख्या कम हुन्छ। यसको मूलकारण पिछडिएको चेतना भएको समुदायमा सञ्चारकर्मी पनि सजिलै उपयोग हुने भएकाले मिडिया जंकीहरूका लागि आफ्नो हर्कत गर्न सजिलो हुन्छ।
मिडिया जंकीहरू यतिसम्म साइको हुन्छन् कि उनीहरू मिडिया आउन पाएनन् भने आफैंलाई अण्डाले हान्न लगाउँछन् र अण्डा फुटेर फोहोर भएको आफ्नो फोटो खिचेर भए पनि प्रचारमा आउँछन्।
घरदेशमा होस् या परदेशमा, हाम्रो नेपाली समुदायमा पनि यस्ता जंकीहरूको विगबिगी नै छ। मूलधारको मिडिया स्थापित नभइसकेकाले उनीहरूले सामाजिक सञ्जाल खासगरी फेसबुक र टिकटकलाई आफ्नो हर्कतको थलो बनाएका छन्। फेसबुकमा जे पनि लाइभ गर्ने, अनेक हर्कत गरेका फोटो पोष्ट गर्ने, आउट–अफ–बक्स स्टाटस पोष्ट गर्ने, अस्वभाविक लाग्ने खालका कमेन्ट गर्ने जस्ता गतिविधि मिडिया–जंकीका लक्षण हुन्।
मिडिया–जंकी एक किसिमको मनोबैज्ञानिक रोग हो। यो रोगको असर सम्बन्धित व्यक्तिलाई त पर्छ नै यसको असर उसको परिवारलाई पनि पर्छ। जस्तै: घरको मूली मिडिया–जंकी छ रे। उसलाई फेसबुकमा अरुको ध्यानाकर्षण गर्न अस्वभाविक किसिमको चुम्बन गरेको तस्वीर खिचेर राख्न मन पर्यो रे। यस्तो अवस्थामा त्यो मिडिया–जंकीले आफ्नी श्रीमतीको ईच्छा बिपरित नै भए पनि त्यस्तो फोटो खिचेर राख्न सक्छ। त्यसो भएमा त्यो मिडिया–जंकी मात्र हैन, उसकी श्रीमती पनि सामाजिक चर्चा परिचर्चाको विषय बन्न सक्छिन्।
यो मनोवैज्ञानिक रोग कसैलाई कुनै पनि बेला लाग्न सक्छ। तर, मान्छेको बानी के हुन्छ भने सामान्यत: उसले आफ्नो रोग सजिलै स्वीकार्दैन। कतै तपाईमा पनि यो रोगको लक्षण छ कि? छ भने बेलैमा सचेत हुनु राम्रो हो। यो रोग बढ्दै गयो र त्यस्तो व्यक्ति प्रचारमा आउन सकेन भने ऊ नराम्ररी डिप्रेसनको शिकार हुन सक्छ। त्यसैले तपाई हामी जो जो यो रोगका शिकार छौं, समयमै आ–आफ्नो अनुहार ऐनामा हेरेर सच्चिँदा नै राम्रो हुन्छ। भनाइ नै छ, जाने श्रीखण्ड नजाने खुर्पाको बीँड।
यो मिडिया टिप्सलाई श्रीखण्ड नै बनाऔं। यसो गरे कसो होला?