तपाईंको सबैभन्दा सुखको क्षण कुन हो ?
सोध्यो भने के भन्नु होला।
भौतिक सुख ठूलो होला कि मनको सुख ?
प्रश्न सजिलो। तर, उत्तर कति अप्ठेरो छ है ?
०००
आउनुस्,
हामी तपाईंलाई प्रकृतितर्फ लैजान्छौं। एकछिन आँखा चिम्म गर्नुस्। हामी ब्याक टु नेचर अर्थात् प्रकृतिको चरम सुखसामु आईपुग्यौं।
अर्थशास्त्रले भन्छ, साधन सिमित छ। तर, चाहना असिमित।
त्यही असिमित चाहना पूरा गर्ने दौडमा छ, मान्छे। आज साइकल चढ्नेलाई जसै मोटरसाइकल चढ्नु छ। मोटरसाइकल चढ्ने कार चढ्नु छ। मान्छे लामो दौडमा छ। जिन्दगी नसकिउञ्जेल मान्छे त्यही दौडमा दौडी रहन्छ। उमेर हुञ्जेल अघि–अघि। सकिँदै जाँदा पछि पछि ...।
‘असिमित चाहना बढ्दै जाँदा तनाव जस्तो देखियो। अवे फ्रम तनाव भनेर डाँडाकाँडासँग मित लगाउँदा यहाँ आइयो,’ उनी डम्बर पुन हुन्। शनिबारको बसिबियाँलोका लागि डम्बर पुनसँग गर्न हामी पोखरा– २३ डाँडाखर्कमा अवस्थित ‘ब्याक टु नेचर’ पुगेका थियौँ। हँसिला डम्बर पुनको सामुन्ने के कारण थियो सहरको सफल व्यवसायीक जीवन छाडेर प्रकृतिमा फर्किनु पर्यो। आफू मात्रै फर्केर पुगेन यी दौडिरहेका मान्छेलाई पनि फर्काउनु पर्यो ? हामीलाई सुन्नु थियो।
यो ठाउँ जंगलको बिचमा छ। पामे हुँदै बिरिमबाट कम्तिमा पनि २५ देखि ३० मिनेट हिँड्नुपर्छ।
जग्गा भिरै थियो। डम्बरले किन्नुअघि खरबारी रहेछ। यसो हेर्यो, जग्गा त बाँदर पनि लड्ला जस्तो छ। ‘एड्ज्याक्ली भन्दा मैले यो ठाउँलाई भन्दा पनि भ्युलाई पैसा हालेको हो,’ डम्बर सुनिन्छन्।
उनकोे दिमागमा अझैं पनि ताजै छ। गाउँकाहरु भन्थे, ...
ओ डम्बर भाइ
हजुर दाइ
एक पाकेट चुरोटमा कति खिल्लि हुन्छ ?
२० खिल्लि दाइ
हामीले २० खिल्लिको पैसा हालिन्छ कि हालिन्न।
हो, दाइ किनिन्छ।
२० खिल्लि चुरोटको हामीले पैसा दिने हो। तपाईंको जग्गामा २० खिल्लि छ कि छैन ?
मान्छेहरु खिल्लि गर्थे।
कोही भन्थे, निकै पैसावाल रहेछ। सहरमा त्यत्रो व्यापार हुँदा हुँदै पुनले यस्तोमा आएर पैसा खन्यायो। ‘जग्गा हेर्दा मेरो एक जना पूरानो साथी हुनुहुन्छ, तारानाथ शर्मा। उहाँ अघि म बिचमा मेरो वाइफ (श्रीमती) पछि भएर हामी जग्गा हेर्न आएका थियौं। पामेबाट हिँन्दै आउँदा मेरो वाइफले कम्प्लेसन गर्न पनि सक्थ्यो,’ डम्बर अघि सुनाउँछन्,‘उसले केही भनेको भए यहाँ नआउन पनि सकिन्थ्यो। ऊ बुद्धझैं चुपचाप हिँडेको छ। पसिना निकाल्दै।’
तर, कसैले सोचेका पनि थिएनन्। एकदिन सहरको दौडधुप छोडेर प्रकृतिमै फर्किनुपर्छ।
हो, सहरको व्यस्त दैनिकीदेखि मन भरिएर एक दिन प्रकृतिमा फर्किनुपर्छ।
जग्गा भिरालो छ। जंगल, जंगलबाट आएको पानीको मुहान। यहाँबाट देखिने दृश्य फेवाताल, हिमाल सरानकोट, थ्रि सिक्सटी भ्यु प्रकृतिको अनुपम नमुना नै छ।
‘अनि मैले खैरेहरु(खैराे वर्ण भएका विदेशी नागरिक)लाई भन्छु। इन माइ प्लेस नो निड टु टर्न योर बडी। जस्ट टर्न योर नेक यु क्यान सि मेनि भ्यु भन्ने गर्छु,’ डम्बर रमाइलो सुनिन्छन्।
यताउति टहलिन्छन्। चिया, कफी, बियर, ड्रिंग्स के खान्छ खायो।
‘आइ टोल्ड यु बिफोर लाइक दिस्, एम आइ रङ, अर राइट?,’ अनि विदेशी आगन्तुकलाई सोध्छन्, डम्बर।
उनीहरुको उत्तर हुन्छ,‘नो–नो इट्स एप्सुलुट्लि राइट।’
हुन पनि, यो ठाउँबाट हिमाल, ताल, सहर प्रकृतिको कम्बो प्याकेज हेर्न पाइन्छ। प्रकृतिमा धेरै सम्भावना छ। सहरको मान्छेले देखेको छैन। डम्बरले देखाइ दिए।
‘नेचरले धेरै दिएको छ हामी आफैले दु:ख बेसाएका हौं। तिर्खा लागे पानी छ। भोक लाए कन्दमुल काँफल फ्रुट छ,’ हामी डम्बरलाई सुन्दै छौं,‘मान्छे जन्मिनुअघि नै भगवानले क्रियट गरेको रैछ।’
अहिले पहाड भत्काइदै छ। विकासको नाममा जथाभावी डोजर चलाएर मासिँदै छ, प्रकृतिको सुन्दरता। त्यसको सोझो असर हिमालमा काला पत्थर बढ्दै छ। खानेपानीको मुहान सुक्दै छ। मान्छे प्रकृतिले दिएको सुख बिर्सदो छ। मान्छे आफैं दुख किन्दै छ।
०००
अब हामी प्रकृतिमा फर्काउने डम्बर पुनको विगततर्फ जाऔं। काठमाडौंको ठमेलमा ‘बुद्ध बार एण्ड रेष्टुरेन्ट’ चलाइरहेका थिए, डम्बरका दाजुभाइले। सन्, २००० देखि ००३ सम्म भाइ एक्लैले जिम्मा लिए। ००३ देखि ८ सम्म डम्बरको जिम्मा। ‘मैले रन गर्दा सिटीको मान्छेको लाइफ स्टडी गर्ने मौका पाएँ। उनीहरुको लाइफ (जीवन) तनावमय, कम्पिटिसन (प्रतिस्पर्धा) छ,’ उनी सुनिन्छन्।
व्यस्त दैनिकीदेखि थाकेका मान्छेलाई के गरी प्रकृतिमा फर्काउन सकिएला ?
डम्बर मनमनै गम्थे। २०११ मा उनको योजनाले मुर्त रुप पायो।
प्रकृतिमा फर्केर रमाउने चाहनेहरु अहिले ब्याक टु नेचर खोज्दै पुग्छन्। पुलकित हुन्छन्। अर्गानिक खानाको स्वाद लिन्छन्। अनि फर्किन्छन्।
‘यहाँ हामीले पहिलेदेखि नै थिम राखेका छौं। ब्याक टु नेचर वलवेज गिभ यु न्यु एक्सपेरियन्स नट लक्जरियस,’ डम्बर सुनिन्छन्,‘लक्जरियसमा पोखरा काठमाडौं सहरदेखि धेरै टाढा पनि हैन। सहरदेखि ४०, ५० मिटरको दुरिमा सहरै छ। विलासिताको जीवन त्यहाँ बिताउन सकिन्छ, यहाँ हाम्रो नेचर एक्सपेरेरियन्स। अलिकति उकालो अलि स्वाँ स्वाँ फ्वाँ फ्वाँ .. त्यो गरि हामीले सुरु गरेका हौं।’
पारिपट्टी चापाकोट। मार्की, बिरिम, जंगलदेखि पारी पुम्दीभुम्दी गाउँ छ। वरिपरि सबै समुदायको बिचमा ब्याक टु नेचर जंगल छ।
ब्याक टु नेचरमा के छ ?
के छैन ब्याक टु नेचरमा...
रुद्राक्ष, सिल्टिमुर, अमला, रक्तचन्दन, दालचिनी त्यसको साइडमा मुनी हामीले टेन्ट फिक्स गरिएको छ। त्यो टेन्टको नामै रुद्राक्ष टेण्ड, काउलो टेण्ट... जुन प्लान्टेसन हो। उही नाम दिएर टेन्ट राखिएको छ।
मान्छेको जीवनमा विभिन्न तनाव हुन्छ। तनाव, स्वप्नदोष भय बढी भएकालाई रुद्राक्ष टेण्ड रेफर गछौं। रुद्राक्ष शिवजीको प्रतीक पनि मानिन्छ। साधुले रुद्राक्षको माला लगाउँछन्। त्यसले गर्दा टुरिष्टलाई कन्सेप्ट बताउँदा यो रुखकोमुनि बस्यो भने यसले रिट्रिट गर्छ भनेर कन्सेप्ट गरेका छौं। काउलो टेन्टमा काउलोको पातमा हनि दलेर ख्याउछौं। काउलो डाइजेसन प्रब्लम भएका पेट सम्बन्धि समस्या भएकाहरुलाई काउलोको पात हनिसँग दलेर खायो भयो भने ठिक हुन्छ।
डम्बर सुनाउँदै छन्, त्यो पहिला–पहिला बज्यैहरुले आमाहरुले रोटी हाल्दा काउलोको बोक्रा तासेर हाल्नु हुन्थ्यो त्यही कन्सेप्ट ल्यायो। काउलोको बोक्रा पातमा हाइ फाइबर हुने रैछ। त्यसले हाम्रो शरीरलाई असर पनि नगर्ने। एक किसिमको रोटीको स्टक्चर पनि राम्रो। कब्जियत भएको मान्छेलाई म ग्यारेन्टी गर्छु काउलोको पातले राम्रो गर्छ।
अमला टेण्डमा भिटामिन सी कमी भएकालाई राम्रो ओखती हो। दालचिनी वेट लसको काम गर्छ।
यी विभिन्न किसिमका रुखमुनि टेण्टहरु फिक्स छ।
सहरमा बिर्सि सकेको प्रकृतिका अत्कृष्ट नमुना छ, यहाँ।
छोराछोरीले खाना बनाउन सिकुन्, भन्ने चाहना राख्ने परिवारका लागि छुट्टै हाउस (घर) थपिएको छ। आवश्यक सामग्री सबै दिएर परिवारको लागि छुट्टै हाउस बन्दै छ।
प्रकृतिमा पाइने हरेक चिजको मज्जा दिन नचुकेको यहाँ गार्ई, भैसीको स्याहार गर्नेदेखि मोही पार्ने सबै अभ्यास गर्न चाहनेका लागि पनि ठाउँ दिइन्छ।
अर्को अचम्म, के छ भने
जुका थेरापी...
बर्खामा यो जंगलमा जुका लाग्छ। जुका नदेखकाहरु कोही डराउने पनि गर्छन्। भन्छन्,‘जुकालाई पनि समाधानको वे (बाटाे)मा लगेको। जुकासँग मान्छे डराउँछन्। यसको बेनिफिट (फाइदा) पनि दिन पर्यो। जुका आफैमा नराम्रो होइन। यसले नराम्रो रगत मात्र खाने हो।’
हाे, कसै कसैलाई स्किन (छाला)मा समस्या भएकालाई चिलाउन सक्छ घाउ हुन सक्छ। त्यसलाई तितेपाती लगाएर उपचार पनि हुन्छ। जुकाले खराब रगत खाने हुँदा हानि केही हुन्न।
भयबाट नडराउन जुका थेरापी गराउन जंगलमा लगिन्छ। युरोपमा प्यारालाइसिस भएकालाई जुका खेती गरेर नै थेरापी गराइन्छ।
स्प्रिङ खोला
ब्याक टु नेचरबाट झन्डै २० मिनेट पर छ। त्यहाँ नेचुरल स्प्रिङ वाटर उनले नामै दिएका छन्।
परम्परागत भाषामा कल्चन ढुंगा भन्छ। कल्चौडा आएर पानीमा डुबुल्की मार्ने एक अर्कालाई माया गर्ने गर्छन्। त्यो वाटर फलको नाम पनि कल्चन वाटर फल, ब्याक टु नेचर वाटर फल पनि राखिएको छ। ‘टुरिष्टलाई बताउँदा सिन्किङ स्प्रिङ सिम्बोल थेरापी भनेर भन्ने गर्छु,’ उनी सुनाउँछन्।
हिन्दू धर्म शास्त्रअनुसार बिहान उठेर गंगाजी नुहाउने प्रचलन छ। डम्बर अघि सुनाउँछन्, त्यहाँ डुबेर सूर्य नमस्कार गर्ने साइन्टीफिक रिजन के रैछ भन्दा गंगामा बसेर डुब्दा भित्रको फ्लो अफ वाटरले इनर्जि सप्लाई गर्दो रैछ। सूर्य नमस्कार गर्दा भिटामिन डी पनि प्राप्त हुने भयो। जुन मान्छेको शरीरलाई आवश्यक छ। त्यो आवश्यक चिजलाई मान्छेले धर्ममा कन्भर्ट गरेको भन्ने फिल भयो मलाई। हो, पनि फेरि, त्यसलाई नयाँ नाम दिँदा सिन्किङ स्प्रिङ वाटर सिंगिङ वाटर सिम्बोल थेरापी यति डुबाएर सिंगिङ गराइन्छ। झरनाको नाम अहिले थेरापीमा कन्भर्ट भएको छ।
डम्बरका बाजेको भेँडी गोठ थियो। भेँडी गोठमा महिनौं हराउनुपर्याे। प्रकृतिसँग महिनौं हराउने, प्रकृति पुजारी बाजेको किस्साले पनि उनलाई थोरबहुत् प्रकृतिमा हराउने प्रेरणा मिलेको हो।
त्यति मात्र कहाँ हो र,
ब्याक टु नेचरमा योगा पनि सिकाइन्छ। २००६ मा एउटा ग्रुपले योगाको डिमान्ड गरेपछि डम्बर आफैंं ठमेलमा मण्डला २, ३ वटा योगा इस्न्चियुट गएर सिके। बाँकी युट्युब हेरेरै जाने। ‘ब्याक टु नेचरको योगा अर्गानिक नेचर योगा भनेर छ।
यो के हो भन्दा अर्गानिक खाने, नेचरमा बसेर योगा गर्ने भनेर ब्याक टु नेचर इन योगा हो। म त्यस्तो गुरु केही होइन,’ डम्बर अघि सुनिन्छन्, ‘आइएम नथिङ मैले आफूले जानेको एक्सपेरियन्स सेयर गर्न त्यो गरिएको छ। प्रायस गोराले योगा सेसन सकिएपछि आर यु टिचर भन्छ। म आइएम नथिङ आइ वुड लाइक टु सेयर माइ एक्सपेरियन्स भन्छु।’
०००
अवसर पाउन, स्कुलिङ राम्रो पाउन सहर झर्नुपर्छ। विदेश पस्नुपर्छ। तर, गर्ने आफ्नै ठाउँमा हो। सहर झर्नेहरु पहाडबाटै झरेका छन्। गाउँमा हिमाल हाम्रै नजिक छ। पानी पँधेरो यही छ। सुनको खोजीमा लाग्दा हिरा खेर फालेको ठान्छन्, डम्बर।
‘अपर्चुनिटी गेन गर्न जानुपर्ने आफ्नो ठाउँमा राम्रो हो। तर, त्यही डुब्नु अलि खतरा देखें, मैले सहरमा एक किसिममो कम्पिटिसन छ,’ भन्छन्, ‘कम्पिटिसनबाट मान्छे तनाव पनि छ। प्रेसर हाइ पनि भइराछ। रोगी पनि दिनदिनै भइरहेको छ। त्यो तनाव कम गर्न अहिलेको योङ जेनेरेसनले गर्ने हो।’
गाउँमा वेस्ट भइरहहेको छ।
नेपाल कृषि प्रधान देश। तर, बाहिरबाट नल्याई खाने केही पनि हुन्न। यो चिजलाई अहिलेको योङ जेनेरेसनले केही गर्नपर्छ भन्ने हेतुले ब्याक टु नेचर नाम राखेर ब्याक टु नेचरले एउटा फ्युजन मात्रै गरेका छन्, डम्बरले।
कतिले त गरेका पनि छन्। ‘युवाहरु यहाँ आउँछ। मैले फार्म गरेको छु दाइ बाख्रा कुखुरा। मेले खेती गरेको छु। जति मैले सोचेको थिएँ पाएन भन्छन्,’ उनी खुसी सुनिन्छन्। राज्यले पनि हौसला दिए युवाहरुको जोश अझ बढ्ने ठान्छन्, डम्बर।
एभोकाँडो, ड्रागन फूड, लहरे आँप, विभिन्न जातका फलफूल हुर्किदै छन्, यहाँ। मेवा अरु फलभन्दा अझैं राम्रो हुने रहेछ।
डम्बरको सपना थियो, ब्याक टु नेचर जाँदा आफ्नै हातले टिपेर फलफूल खाने, तरकारी, साग सब्जी अर्गानि उत्पादन गर्ने। दूधको लागि गाई भैँसी पालेका छन्। लोकल कुखुरा हुर्किदै छ।
चामल पनि आफ्नै उत्पादन। तल धान खेतबाट भित्र्याइसके। झिनुवा चामलको भात पस्किइन्छ, तपाईंका लागि।
‘हामीले खास त नून मात्रै ल्याउने भन्ने प्लान हो। फलफूलको बुटा लगाउँदै छौं। कति भइसक्यो। रिसर्चकै काम भइरहेको छ,’ डम्बर सुनिए।
बाह्य पर्यटकको बढी आउँथे। अहिले नेपालीको पनि चासो बढेको छ।
डम्बरको एउटै उद्देश्य छ, युवाहरु सहर झरेर केही सिकुन्। सिकेर गाउँमै फर्कियुन। प्रकृतिकै सुख भोग गरुन्। व्यवसायसँगै यो ठाउँमा प्रकृतिप्रेम जगाउन पनि लागि परेका छन्, डम्बर।
लकडाउनमा प्रदेश सरकारसँग सहकार्यमा वल्ड पिस बायो डाइर्भसिटी पार्कको संयोजक बनेर काम गर्दै छन्। रक गार्डेन, वाटरफल लगायतका संरचना बन्दै छन्। बाराही मन्दिरभित्र पूजाआजा गर्न सकिन्छ। क्यानपी वाकहरुको मज्जा पनि लिन सकिन्छ। हालै अर्को उपलब्धि पनि मिलेको छ, डम्बरलाई।
सात वे मा नामक जापनी अर्गनाइजेसनमा आबद्ध भएका छन्। जुन विशुद्ध प्रकृतिसँग जोडिएर काम गर्नेहरुको विश्वव्यापी संस्था हो। ‘यसले वल्डमा नेचरसँग रिलेटेड नेचरसँग काम गरेकालाई मेम्बर बनाउँदो रैछ। त्यसै होइन। एप्लिकेसन गरेपछि स्टडी कमिटीले छानबिन गर्छ। अनि सब मेम्बर बनाउछ,’ उनले अघि सुनाए,‘फुल मेम्बर बनाउन ६ महिनाको समय लगाएर केस स्टडी लेख भनेर भन्छ। मलाई सजिलो के भयो भने वल्ड पिस बायो डाइभर्सिटी पाकको संयोजक भएकाले सजिलो भयो।’
वल्ड पिस बायो डाइभर्सिटी पार्क इकोटुरिजम विथ पञ्चासे फरेस्ट कन्जर्भेसनबारे डम्बरले अध्ययन गरेर सामग्री तयार पारेका छन्। त्यसैले उनलाई फुल मेम्बरसिप दिलायो। यो सामग्री चाडै प्रकाशन हुँदैछ।
अहिले ब्याक टु नेचरलाई काठमाडौंसँग जोड्न। बुद्ध बारको आडैमा द ब्याक यार्ड बाई ब्याक टु नेचर पनि सुरु गरेका छन्। यहाँको उत्पादन त्यहाँ एक्स्प्लोर गर्ने उनको योजना। अहिले काठमाडौंको व्यवसाय उनको छोराले हेर्छन्। उनी प्रकृतिमै भुलेका छन्।
इलेक्ट्रिकल पढेका डम्बर पोखरा इन्जिनिर कलेजमा इन्स्ट्रक्टर भएर पनि काम गरे। ७ वर्ष यसैमा काम गरे। पाेखराकाे लेकसाइडमा धेरै होटल रेष्टुरेन्टको वायरिङको काम पनि गरेका छन्, उनले। ‘लाहुरे हुन गएँ। तर, सबै कुरामा फिट भए पनि दातको कारण फेल भएँ। यता हुनु लेखेको रैछ,’ उनले सुनाए।
लेकसाइडबाट सेदी, खपौदी, भकुण्डे, चंखुपुरबाट पामे। ठूलाखेत हुँदै पञ्चासे जाने वे हो पामेबाट लेफ्ट टर्न गरेपछि दुई पक्की पुल आउँछ। त्यहाँबाट अघि बढेपछि बिरिम आउँछ। तपाईंको सवारी बिरिममा पार्क गर्नुपर्छ। त्यहाँबाट हाइकिङ गर्नुपर्छ २० देखि ३० मिनेटसम्म।
तब मात्रै तपाईं पुग्न सक्नुहुन्छ ब्याक टु नेचर ...।