पंक्तिकारको घरबाट उत्तरतर्फ र दक्षिणतर्फ लगभग उस्तै-उस्तै दुरीमा नेपाल प्रहरीका दुई भूतपूर्व प्रहरी महानिरीक्षक (आइजीपी) को घर छ।
उत्तरतर्फको घर रोमबहादुर थापाको हो भने दक्षिणतर्फको घर दिलबहादुर अर्थात् डिबि लामा को हो। थापाको नाम जति सम्मान पूर्वक लिने गरिन्छ, त्यसको विपरीत लामाको नाम नै बदनामीको पर्याय हो। यो बेग्लै बिषय हो कि २०४६ सालपछि उनी आफूले आर्जन गरेको कालो सम्पत्तिको भरमा नेपाली कांग्रेसको राजनीति गर्दै रसुवा जिल्लाबाट सांसद पनि भए र सायद वीपीको सपना साकार पनि पारे। त्यो बिषयमा पंक्तिकारलाई कुनै जानकारी छैन र हुनुपर्ने कारण छ जस्तो पनि लाग्दैन।
नेपाल प्रहरीका पहिलो आइजीपी तोरणशमशेर जबरादेखि हालका आइजीपी शैलेश थापा क्षेत्रीसम्म २८ जना आइजीपीले पद बहाली गरेका छन्। जसमध्ये खड्गजित बराल, रत्नशमशेर जबरालगायतलाई आजसम्म पनि सम्मानका साथ हेर्ने गरिन्छ भने धेरैलाई उनीहरुको नाम लिँदा पनि नाक खुम्च्याउनुपर्ने अवस्था छ। यसलाई बिडम्बना नै मान्नुपर्छ कि गैरकानुनी कार्य गर्नेहरुलाई पक्राउ गरेर अदालतमा बुझाउने सरकारको संस्थाका केही प्रमुखहरु नै अदालतले भष्ट्राचारी भएको निर्णय गरेको कारण आफैँ जेल जीवन बिताउन बाध्य भए। उनीहरुले समाजमा आफ्नो अनुहार कसरी देखाएर बसेका छन् वा लुकेका छन्, त्यो उनीहरुलाई नै थाहा होला तर सामान्य मान्छेले यो बिषयलाई सकारात्मक रुपले हेर्न सक्दैन।
डिबि लामा सुन तस्करीदेखि अनेक अभियोगमा पक्राउ पर्नुभन्दा पहिले दुर्लभकुमार थापाको नाम पनि त्यति राम्रो हिसाबले लिने गरिन्थेन, तर उनी त्यस्तो ठूलो अभियोगमा परेनन्। ‘पैसा भरिएको सुटकेस गृहमन्त्रीलाई नबुझाएसम्म कोही पनि आइजीपी बन्न सक्दैन’ भनेर पूर्व प्रहरी अधिकारी रमेश खरेलले आरोप लगाएका थिए। त्यो आरोपमा कति सत्यता छ, त्यो सुटकेस बुझाउने र बुझ्नेलाई नै थाहा होला तर सबै आइजीपीले पदासिन गृहमन्त्रीको तलुवा चाटेको अर्थात् चाकरी गरेको देख्दा त्यसमा आंशिक भए पनि सत्यता छ कि भनेर आंकलन गर्न सकिन्छ।
नेपाल प्रहरीमा आफू आइजीपी हुनको लागि अनेकौं तिकडम गरेर त्यसको लाइन बिगार्ने प्रमुख पात्र हुन्, मोतिलाल बोहरा। उनले तत्कालीन गृहमन्त्री र नेपाली राजनीतिका दुर्नाम पात्र शेरबहादुर देउवाको चाकरी गरेर सबै व्यवस्थालाई नै छिन्नभिन्न गरे। साथै आफूभन्दा पहिलेको आइजीपी रत्नशमशेर जबरालाई यति अपमान गरे कि, धेरै पूर्व प्रहरी अधिकारीहरु ती घटनालाई अहिले पनि दुखका साथ स्मरण गर्ने गर्छन्। देउवा र बोहराको कारण हालसम्म पनि आइजीपीको नियुक्ति हुनेबेला सधैँ कचकच हुने गर्छ।
यस्तै तत्कालीन गृहमन्त्री बामदेव गौतमलाई सुन तस्करीमा सहयोग गर्ने सर्तमा तत्कालीन आइजीपी अच्युत कृष्ण खरेललाई पदच्युत गर्न लगाएर ध्रुबबहादुर प्रधान आइजीपी नियुक्त भए। त्यो समयमा खरेल पक्षधरलाई पाखा लगाउने र प्रधान पक्षधरहरुको चुरीफुरी हेर्न लायक थियो।अदालतको फैसलाले पुन: खरेल पद बहाली भएपछि स्वयम् प्रधान नै उत्तानो परे भने उनको आडमा चुरीफुरी गर्ने टट्टुहरुको हालत के भयो होला ? धेरैले राजीनामा नै दिनुपर्यो भने केही मुख लुकाएर नोकरी गर्न थाले।
त्यसपछि अर्का पूर्व आइजीपी सर्वेन्द्र खनाल एक सांसदलाई अपहरण गरेको काण्डमा मुछिए। यद्यपी उनले एक टेलिभिजन अन्तर्वार्तामा आफूले कसैलाई अपहरण नगरेको र सँगै काठमाडौँ आएको बताएका छन्। तर, त्यो घटना के थियो हालसम्म पनि यो नै भएको हो भन्न सकिने अवस्था भने छैन। तर जे होस् उनी बदनाम भए।
प्रदीप शमशेर जबरा, श्यामभक्त थापा, ओमबिक्रम राणा, हेमबहादुर गुरुङ्ग, रमेशचन्द ठकुरी आदिलाई अख्तियारले भष्ट्राचार मुद्दा चलाउनु र केहीलाई अदालतले सजाय तोक्नु पुरै नेपाल प्रहरीको छविमाथि कालो दाग हो। यसका साथै तत्कालीन माओवादी विद्रोहीसँग आमनेसामने युद्द लडेको संस्थाको प्रमुख आफू पदबाट हटेपछि त्यही पार्टीको सांसद बन्नु पनि अच्चमकै कुरा हो। यसको उदाहरण पूर्व आइजीपी रबिन्द्र प्रताप शाह हुन्। यसलाई कसरी हेर्ने त्यो जिम्मा आदरणीय पाठक वर्गको जिम्मा छोडेको छु।
अन्तमा हालका बहालवाला आइजीपी शैलेश थापा क्षेत्रीलाई लिउँ। पद बहाली गर्दा नेताको पछि नलाग्ने र प्रहरी संगठनप्रति इमान्दार भनेर आशा गरिएका र नेपाल प्रहरीको अवस्थालाई कुनै उच्चस्तरमा पुर्याउन नसके पनि धुलोमा नपुर्याउने दाबी गरिएका यिनले आफ्नो कार्यकालमा पहिले केपी ओलीको र हाल शेरबहादुर देउवाको कठपुतली जस्तै हुन पुगे।
पदबाट अवकास पाएपछि कुनै अर्को पद पाउने आशा हो वा नेताको खुट्टामा टाउको राख्यो भने आफ्नो जागिर सुरक्षित हुन्छ भन्ने विश्वास त्यो उनैलाई थाहा होला। तर, उनको यो क्रियाकलापले उनलाई पद छुटेपछि कसैले राम्रो प्रसंगमा विश्वास गर्ने छैन। करिब दुई महिनामा अनिवार्य अवकासमा जाने यिनको हालको अवस्था गृहमन्त्री बालकृष्ण खाँडको घरेलु नोकर जस्तै छ भन्दा अत्युक्ति नहोला।
यसरी आफ्नो योग्यता र क्षमताले भन्दा पनि नेताको चाकरी गरेर पद हासिल गर्ने र कुन दिन पद जाने भनेर तनावमा रहनुपर्ने भएको कारण नेपाल प्रहरीका आइजीपीहरुले आफ्नो कार्य कसरी सम्पादन गर्दा हुन ? नेपाल प्रहरीले जनतालाई कसरी शान्ति सुरक्षा दिनसक्ला ? यो बौद्धिक बहसको बिषय होइन ?