सहनशील देवीकाे उपमाले कतै नारीलाई मानसिक राेगी बनाएकाे त छैन ?

मानसिकता तपाईं हाम्रो सोच वा बौद्धिक दृष्टिसँग सम्बन्धित कुरा हो। यसलाई आन्तरिक बाह्य दुबै कुराले नितान्त रुपमा फरक पार्दछ। आन्तरिक रुपमा कुरा गर्दा बुद्धि विवेक र सोच्न सक्ने क्षमता कति छ त्यसमा भर पर्छ। साथै कस्तो समाज, परिवेश, वातावरण त्यसले बाह्य रुपमा फरक पारिरहेको हुन्छ। 

यसै कारणले समाज, व्यक्ति पिच्छे नै धारणा, विचारहरु फरक–फरक हुन्छन्। सोच विचारको माध्यमले नै नयाँ आविष्कारलाई देख्न सकिन्छ। यही सोचकै उपचले ढुङ्गे युगमा जो थियौं, आज त्यो छैनौं र आज जो छौं भोलि पक्कै त्यो हुने छैनौं। केही न केही मानसिकतामा परिवर्तन पराकाष्ठ रुप देख्न सकिनेछ। यो हुनु पनि पर्छ।

हिजो जसरी समाजले नारी पुरुषबीच विभेद राख्यो। पुरुषको सोचाइ र नारीमा आउने सोचाइको दायरालाई नै फरक पारिदियो। 

नारी बीचमा रहेका विविध कुरिती (छाउपडी), प्रथा (सती, देवकी), परम्परा (घरमा सिमित पारिनु) ले नारीलाई यो सामाजिक दायराको जन्जिरबाट बाहिर आउन सयौं वर्ष लाग्यो।

यसैले त नारी र पुरुषको बौद्धिक स्तरमा नै असमान खाडलको सृजना गर्‍याे। मानसिकता परिवर्तनको निमित्त विविध समय काल खण्डमा क्रान्ति देख्न सकिन्छ। हिजो राणाहरुको दमनलाई चिर्न २००७ को क्रान्ति होस या त २०६२/०६३ को राजा हटाउन गरिएको क्रान्ती होस्। धेरैको मानसपटलमा परिवर्तनको मुस्लो देख्न सकिन्छ।

यस्तै क्रान्तिले नारीलाई संवैधानिक तबरबाटै ३३ प्रतिशत हक दिलाउन सक्यो। विभिन्न तहमा महिला वर्गको उपस्थिति रहन पुग्यो। यो एक सबल पक्षको रुपमा स्वीकार्न सकिन्छ। परिवर्तनका यी कुराले पितृसत्तात्मक धारका व्यक्तिलाई थोरै भए पनि आघात पुग्यो होला।

यसरी समाजमा ठूला–ठूला मानसिकतामा आएका परिवर्तनका कुरा गरिरहँदा सूक्ष्म देखिने साना छिद्रमा कतै ध्यान पो पुगेन कि ? महिला वर्ग परिवर्तनको अनुभूती गरिरहँदा कतै अझै बढी भारले थिचेको त छैन, मनन योग्य विषय हो।

हिजोको दिनको भन्दा अहिलेको सोचको दायरा फराकिलो बनिरहेको छ। यसमा दुई मत नै छैन। एउटा नारीलाई बाहिरी परिवेशमा गएर आफ्नो क्षमताले आयआर्जन गर्ने वातावरण बनेको छ। तर, यस सँगसँगै घरायसी जिम्मेवारीको भारी पनि एउटा नारीमा मात्र थुपारिएको अवस्था देखिन्छ। दुबै क्षेत्रमा खटिरहँदा जिम्मेवारीले झनै थिचेको भान हुन्छ। घर परिवारले आफ्नाे कुन्ठित सोचलाई थोरै परिवर्तन ल्याएमा नारीको भारिले थोरै विश्राम पक्कै पनि पाउने छ।

पुरुषलाई कडा स्वभावमा रहनुपर्छ अनि आफ्नो आँसु देखाएमा पनि ठूलै पाप लाग्छ भन्ने मानसिकता राखिन्छ। त्यसैले जुन सुकै परिस्थितिमा पनि कठोर रुपमा प्रस्तुत हुन्छन्।

आफ्ना अनुभूती, पीडा, दुःखलाई कसैसामु आउन पनि दिनन्। यसरी उसलाई कमजोर देखाउने परिवेशलाई समाजले आफ्नो मानसिकताको ओत दिएर बाहिर कहिले पनि आउन दिँदैन्। यसै समाजले पुरुषलाई कठोर हृर्दय अनि महिलालाई सहनशील देवीको उपमा दिँदा कहीँ कतै मानसिक रोगको शिकार त भएका छैनन् ?

यसरी निश्चित मानसिकता लिएर नारी पुरुषलाई हेरिँदा भोलिका दिनमा नकारात्मक असर नपार्ला भन्न सकिँदैन। त्यसैले एउटा पुरुषले दिल खोलेर रुन पनि पाउनपर्छ अनि एउटा नारीले कसैको हस्तक्षेप बिना स्वतन्त्र रुपमा आफ्ना सपना पनि पूरा गर्न पाउनुपर्छ।

सामाजिक संकुचित मानसिकताको जन्जिरमा सधै रुमलिरहेमा नयाँ सोच, विचारको उत्पत्ति हुन कठिन हुन्छ। त्यसैले सामाजिक परिवेश र आन्तरिक मुल्यांकनबाट आउने जुन संकुचित मानसिकता छन्, त्यसलाई केबल मानसिकता न हो भनेर नकार्न जरुरी छ। साथै नयाँ सोचाइ र बुझाई व्यक्तिगत र सामाजिक तवरमा ल्याउन उपयुक्त हुन्छ।

प्रकाशित मिति: : 2022-03-19 19:44:00

प्रतिकृया दिनुहोस्